ईरानको पोर्चुगलसँग बदला लिने अवसर



जारी विश्वकपको समूह बी अन्तर्गत तेस्रो चरणको खेलमा वर्तमान यूरो च्याम्पियन पोर्चुगल र एसियाली राष्ट्र ईरानका लागि महत्वपूर्ण खेल बनेको छ । सन् २००६ को विश्वकपमा पोर्चुगलसँग २–० ले हारेको बदला लिने अवसर ईरानलाई अहिले मिलेको छ ।

जारी विश्वकपको पछिल्ला दुई खेलबाट ४ अंक बटुलेको पोर्चुगललाई अन्तिम १६ मा पुग्न ईरानविरुद्धको खेलमा बराबरी अथवा जितको नतिजा पर्याप्त हुनेछ । तर पछिल्ला दुई खेलबाट ३ अंक मात्र जोडेको ईरानका लागि भने अन्तिम १६ मा पुग्न जितको विकल्प नभएको अवस्था छ । यदि ईरानले बराबरीको नतिजा मात्र निकाले पनि पोर्चुगलले ५ अंक जोड्दै नकआउट चरणमा पुग्नेछ ।

सम्भवतः ईरानविरुद्धको खेलमा पोर्चुगलले ४–४–२ को रणनीति लिन सक्नेछ । उक्त खेलमा ईरानलाई गोलको आवश्यकता भएकोले बढी जोड काउन्टर अट्याकलाई दिन सक्नेछ । विशेषगरी पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ईरानको सम्भावित ४–५–१ को रणनीतिको विशेष निगरानीमा रहनेछ । जारी विश्वकपमा ४ गोल गरिसकेका रोनाल्डोले गोल्डन बुटमा आफ्नो दावेदारीलाई मजबूत पार्न ईरानविरुद्ध आक्रामक हुन सक्नेछ ।

यसका लागि बरनार्डो सिल्भा, मौटिन्हो, कार्भाल्हो र ब्रुनो फर्नान्डेजको मिडफील्डिंगमा स्ट्राइकर रोनाल्डोले ईरानको रमीन, मजिद, मोर्तेजा र एहसानसहितको रक्षापंक्तिलाई तोड्ने प्रयास गर्नेछ । यता ईरानका स्ट्राइकर सरदार अजमोन र मिडफील्डरहरु जहानबक्श, मसूद, इब्राहिमी, अमीरी र करीमको समन्वयको काउन्टर अट्याकमा सेड्रिक, पेपे, जोसे फोन्टे र गुरेरोसहितको पोर्चुगीज डिफेन्डरहरुलाई बेला बेलामा हैरान पार्न सक्नेछ ।
हेड टू हेड 
यी दुईले एकअर्का विरुद्ध २ पटक खेलेका छन् । जसमा दुवै पटक पोर्चुगल बिजयी बनेको छ । पोर्चुगलले सन् १९७२ को इन्डिपेन्डेन्स कपमा र सन् २००६ को विश्वकपमा ईरानलाई पराजित गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्