सागलाई डोपिङ मुक्त बनाउने



नेपाल समाचारपत्र
काठमाडौ
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आगामी वर्ष नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकुद (साग)लाई डोपिङ मुक्त बनाउने लक्ष्य लिनुभएको छ ।
हालै जुन १८ र १९ मा श्रीलंकाको राजधानी कोलम्बोमा भएको १५ औं एशिया ओसियाना क्षेत्रीय अन्तरसरकारी मन्त्रीस्तरीय वैठकमा मन्त्री विश्वकर्माले सहभागिता जनाउँदै फर्केपछि उक्त लय लिनुभएको हो ।

शक्ति वद्र्धक औषधि सेवन विरुद्धको महासन्धिको पक्ष राष्ट्र भएका हिसावले नेपालले यस क्षेत्रमा प्रथामिकताका साथ काम गरिरहेको वैठकमा जानकारी गराउँदै उहाँले कतिपय नीतिगत समस्या, डोपिंग परीक्षणका लागि आवश्यक प्रयोगशालाको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता चुनौतिको सामना गरिरहेको बताउनु भयो । नेपाल एन्टि डोपिंग एजेन्सी (नाडा) स्थापना गर्ने तयारीमा रहेको जानकारी दिदैं मन्त्री विश्वकर्माले डोपिंग मुक्त स्वच्छ र निष्पक्ष खेलका लागि आवश्यक तालिम र पर्याप्त स्रोत साधनको आवश्यकता औल्याउनुभयो ।

वैठकमा एशिया ओसियाना क्षेत्रका २९ देशका मन्त्री, सचिव, र डोपिंग विज्ञहरुको सहभागिता रहेको थियो । गत वर्ष चीनमा भएको १४औ वैठक यता विभिन्न देशहरुले एन्टी डोपिंग अभियान मार्फत स्वच्छ र निष्पक्ष खेलका लागि गरेका गतिविधिहरुको वैठकले समीक्षा गरेको छ । यसमै आधारित भएर एशिया ओसियाना क्षेत्रमा आयोजना हुने ठूला प्रतियाेिगताहरु डोपिंग मुक्त वनाउने प्रतिवद्धतासहित ८ वुँदे घोषणापत्र पनि जारी गरिएको छ ।

घोषणापत्रमा एन्टि डोपिंग विरुद्धको महासन्धिमा हस्ताक्षर नगरेका देशहरुलाई हस्ताक्षर गर्न आह्वान गर्दै सो महासन्धिका पक्ष राष्ट्रहरुलाई महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि लाग्ने, विश्व एन्टी डोपिंग एजेन्सी (वाडा) ले तयार गरेको आचासंहितालाई परिमार्जन गर्ने, एशिया ओसियाना क्षेत्रका संस्थाहरुलाई वाडाले सहयोग गर्ने र ज्ञान, सीपको आदानप्रदान गरी क्षमता अभिवृद्धि गर्ने, विश्व एन्टी डोपिंग एजेन्सी (वाडा) का लागि सरकारले गर्ने कन्ट्रिव्यूसनमा ८ प्रतिशतले वृद्धि गर्ने र यस वर्ष इन्डोनेसियामा हुने १८औं एशियन गेम, अर्जेन्टिनामा हुने तेस्रो युवा ओलम्पिक गेम, इन्डोनेसियामा हुने तेस्रो पारा एशियन गेम जस्ता ठूला प्रतियोगिताहरुलाई डोपिंग मुक्त बनाउन प्रभावकारी रुपमा लाग्ने जस्ता वुँदाहरु समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्