एसईईको नतिजा सार्वजनिक, ग्रेडवृद्घि परीक्षा साउन २३ बाट



पुष्कर बुढाथोकी, भक्तपुर
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको छ ।

कार्यालयले गत चैत ८ देखि २० गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले ढिलो गरी पौनै आठ बजे सार्वजनिक गरेको हो ।
कार्यालयले सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दै परीक्षामा नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ परीक्षार्थी सहभागी भएको बताउनुभयो ।

उहाँले उनीहरूमध्ये नियमिततर्फ १४ हजार २ सय ३४ विद्यार्थीले जीपीए ३.६५ देखि ४ ‘ए प्लस’, ४६ हजार १ सय ३० विद्यार्थीले जीपीए ३.२५ देखि ३.६० ‘ए’, ४९ हजार ३७ जना विद्यार्थीले जीपीए २.८५ देखि ३.२० ‘बी प्लस’, ७० हजार ५ सय १२ विद्यार्थीले जीपीए २.४५ देखि २.८० ‘बी’, ६१ हजार ८ सय ७० विद्यार्थीले जीपीए २.०५ देखि २.४० ‘सी प्लस’, १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० ‘सी’ ल्याउन सफल भएको बताउनुभयो ।

यसै गरी ३५ हजार ५ सय ८४ विद्यार्थीले १.२५ देखि १.६० ‘डी प्लस’, ५८ हजार ६ सय ८८ विद्यार्थीले ०.८५ देखि १.२० ‘डी’ ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । यस वर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।


आगामी वर्षदेखि एसईई परीक्षा प्रदेश स्तरमा सञ्चालन हुने
कुनै विषयको नतिजा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने
‘ई’ ग्रेड कसैले पनि ल्याएनन्
केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिमपटक


आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने २ विद्यार्थीले मात्रै जीपीए ३.२५ देखि ३.६० ‘ए’ ग्रेड ल्याएका छन् । आशिंकतर्फ १९ विद्यार्थीले जीपीए २.८५ देखि ३.२० ‘बी प्लस’, १ सय ७७ विद्यार्थीले जीपीए २.४५ देखि २.८० ‘बी’, ७ सय २ विद्यार्थीले जीपीए २.०५ देखि २.४० ‘सी प्लस’, ५ हजार ८ सय ९५ विद्यार्थीले जीपीए १.६५ देखि २.०० ‘सी’, ६ हजार ५ सय २७ विद्यार्थीले जीपीए १.२५ देखि १.६० ‘डी प्लस’, ३ हजार १ सय ८ विद्यार्थीले जीपीए ०.८५ देखि १.२० ‘डी’ ग्रेड ल्याएका छन् ।

यता प्राविधिक धारको नियमिततर्फ ५ सय ३८ विद्यार्थीले ‘ए प्लस’, १ हजार ७ सय ६६ विद्यार्थीले ‘ए’, २ हजार ६ सय ५३ विद्यार्थीले ‘बी प्लस’, २ हजार ५ सय ८० विद्यार्थीले ‘बी’, ६ सय २९ विद्यार्थीले ‘सी प्लस’, १ सय १२ विद्यार्थीले ‘सी’, ५ विद्यार्थीले ‘डी प्लस’, ४ सय ७९ विद्यार्थीले ‘डी’ ग्रेड ल्याउन सफल भएका छन् । प्राविधिक धारको आंशिकतर्फ ३ जना विद्यार्थीले ‘बी प्लस’ र १ विद्यार्थी ‘डी’ ग्रेड ल्याउन सफल भएका छन् ।

परीक्षा नियन्त्रक रेग्मीका अनुसार साधारण र प्राबिधिकतर्फ ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परीक्षामा आवेदन दिए पनि परीक्षामा २१ हजार ८ सय ९७ परीक्षार्थी अनुपस्थित रहेको र ४ लाख ६३ हजार ६ सय ८९ परीक्षार्थीले परीक्षा दिएका थिए ।

परीक्षामा मर्यादाविपरीत कार्य गर्ने ९ जना परीक्षार्थीको सबै विषय रद्घ र ११ जनाको एक विषय रद्घ गरी कुल २० जना परीक्षार्थीको परीक्षा रद्घ गरिएको कार्यालयले जनाएको छ । प्राविधिक गडबढीका कारण दिउँसै नतिजा सार्वजनिक गर्ने भनिए पनि नतिजा प्रकाशनमा ढिलाइ भएको छ । दिउँसो ३ बजे बोर्ड बैठक राखेर नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी थियो । तर, तथ्याङ्कमा गढबढी भएपछि नतिजामा ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

बिद्यार्थीले आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने र त्यसका लागि प्रति विषय ५सय रुपियाँ र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय वा शिक्षा विकास तथा समन्वय एकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सैद्घान्तिक विषयतर्फ ‘सी’, ‘डी प्लस’ र ‘ई’ ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा ‘सी’ ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको ६ त्यस्ता विषयमध्ये चाहेका विषयमा र मूल परीक्षामा २ विषयसम्म ग्रेड नखुलेका विषयमा परीक्षार्थीले पूरक (ग्रेडवृद्घि) परीक्षा दिन पाउने परीक्षा नियन्त्रक रेग्मीले बताउनुभयो । पूरक (ग्रेडवृद्घि) परीक्षा आगामी साउन २३ गते बुधबार बिहान ८ बजेबाट दैनिक सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

नतिजा प्राप्त गर्नका लागि टेलिफोन, एसएमएस र वेभसाइडको व्यवस्था गरिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिने व्यवस्था गरेको जनाएको छ ।

शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षालाई कक्षा १२ सम्म हुने व्यवस्था गरे पनि राष्ट्रिय परीक्षा बोर्डको अक्षमताका कारण परीक्षाको व्यवस्थापन साविककै परीक्षा नियन्त्रण कार्यालयमार्फत् भएको हो । सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेकाले केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिमपटक भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्