नारायणको सपना अधुरो रह्यो



काठमाडौं, (नेस)
श्रीलंकाको कोदामामा रम्बल इन जंगल २०१८ मा प्रतिस्पर्धा गर्न गएका नेपालका साइक्लिस्ट नारायण गोपाल महर्जनको सोही प्रतियोगिता दौरान दुर्घटनामा पराी निधन भएको थियो । गत जेठ ३० गते नदीमा खसेर उनको निधन भएको थियो । उनको पार्थिव शरीरलाई श्रीलंकाबाट ड्रायगन एयरमा बुधबार (असार ६) नेपाल ल्याइएको थियो ।

उनको पार्थिव शरीरलाई बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको हातामा श्रद्धान्जलीको लागि राखिएको थियो । जसमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, एनओसीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल साइक्लिङ संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले स्वर्गीय महर्जनको पार्थिव शरीरमा फुल माला र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

डल्लुमा डेरामा बसेका ३३ वर्षिय अविवाहित स्व. नारायणसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ पनि श्रीलंका गएका थिए । अजय र बुद्धि पनि स्वदेश फर्किसकेका छन् । उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगित गरेको नेपाल साइक्लिङ संघले जनाएको छ ।

इन्डोनेसियामा भदौमा हुने एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका स्व. महर्जनले दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्ने आशा गरेका थिए । उनले नेपाल समाचारपत्रलाई करिब ५ महिना बताएका थिए—सागका लागि तयारी राम्रो भएको छ । मैले स्वर्ण जित्ने आशा गरेको छु ।

तर स्वं महर्जनको यो सपना अधुरो नै रह्यो । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेका थिए । स्व. नारायण २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न भएका थिए । साथै गत पुसमा राखेप च्याम्पियनसिपअन्तर्गत साइक्लिङमा उनले स्वर्ण जितेका थिए ।

राखेपका सदस्य–सचिव विष्टले खेलकुदले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउदा आफूलगायत सिंगो खेल क्षेत्र निकै मर्माहत भएको बताए । नारायणको पार्थिव शरीरलाई बिहीबारै पशुपति आर्याघाटमा अन्त्येश्ती गरिएको छ । स्व. नारायणका बुवा, आमा र दुई दिदी छन् ।

प्रतिक्रिया दिनुहोस्