प्रमको चीन भ्रमण: अवसर कि चुनौती ?



डा. डीआर उपाध्याय
राजनीतिक इतिहासकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणलाई विशेष अर्थपूर्ण ढंगले हेर्न थालिएको छ ।

चीनमा पनि विगत ७० वर्षयताका सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जीन पिङ सत्तासीन हुनुहुन्छ । त्यसैले गर्दा पनि हाम्रा प्रधानमन्त्रीको चीन भ्रमण सद्भावना भ्रमणमा मात्र सीमित नभई दुई देशबीचको सम्बन्ध विस्तार र विकास, समृद्धिका लागि सहयात्रा गर्ने कुरामा केन्द्रित हुनुपर्छ । चीन भ्रमणका मुख्य एजेन्डा पनि सार्वजनिक भइसकेका छन् ।

प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण अघिल्ला प्रधानमन्त्रीहरुको भन्दा धेरै महत्वपूर्ण छ । किनभने मुलुकमा झन्डै दुई तिहाइ बहुमतसहित कम्युनिस्टको सरकार छ । सरकारको नेतृत्व केपी शर्मा ओलीले नै गर्नुभएको छ । त्यसकारण पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणले विशेष महत्व राखेको छ ।

भारतले नेपालमा नाकाबन्दी लगाएको बेलामा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यस बेला पनि ओलीको चीन भ्रमण भएको थियो । अघिल्लो चीन भ्रमणमा गरेका सम्झौता र सहमति अझैसम्म कार्यान्वयनमा आएका छैनन् । ती सहमति र सम्झौता यसपालिको चीन भ्रमणबाट कार्यान्वयनमा ल्याउनुपर्छ । अहिले हाम्रो देशमा स्थानयि तह, प्रदेशसभा र केन्द्रमा गरी तीनै तहमा कम्युनिस्टको सरकार छ । अहिले हाम्रा प्रधानमन्त्री इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । त्यसकारण पनि चीन सरकारले हाम्रा प्रधानमन्त्रीको कुरा सुन्नुपर्छ ।

दुई ठूला कम्युनिस्ट पार्टी मिलेर इतिहासकै ठूलो कम्युनिस्ट पार्टी बनेको छ । त्यो पार्टीको नेतृत्व ओलीले नै गर्नुभएको छ । त्यस अर्थमा पनि ओलीको चीन भ्रमण सार्थक र सफल हुने धेरैले अपेक्षा गरेका छन् । अहिले हाम्रो मुलुकमा सरकार पनि स्थिर छ ।

विकास र समृद्धिको खाका कोरेर नेपाल अघि बढ्ने अभियानमा छ । नेपालले चीन र भारत दुबै देशहरुसँग सुमधुर र सन्तुलित सम्बन्ध राखेर देशको विकास र समृद्धिका लागि सहयोग र साझेदारीको नीति लिएर अघि बढेको छ । चीन सरकारसँग पनि यी विषयमा अपेक्षा राख्नु स्वाभाविक हो । भारतसँगको सम्बन्धलाई पनि हामीले अझै ठोस रुप दिँदै कार्यान्वयन प्रक्रियामा जानुपर्ने आवश्यकता देखिएको छ । हाम्रो लागि भारत र चीन बराबरी छिमेकी मित्र राष्ट्र हुन् । हामीले यी दुई देशलाई सन्तुलित कूटनीतिक डिल गरेर राख्नुपर्छ ।

एउटा खुशीको कुरा के हो भने, भारत र चीनबीचको सम्बन्धमा पनि धेरै राम्रो सुधार हुँदै गएको छ । यसलाई नेपाल सरकारले सक्रारात्मकरुपमा लिनुपर्छ । हाम्रो देशको परराष्ट्र नीति दुवै देशसँग सहकार्य गरेर अघि बढ्ने खालको हुनुपर्छ । त्यसो भयो भने हामी परराष्ट्र नीतिमा सफल हुन्छौं । जुन देशको परराष्ट्र नीति राम्रो हुँदैन, त्यो देशले प्रगति गर्न सक्दैन । हाम्रो देश अब प्रगतिको बाटोतर्फ अघि बढ्ने हो भने परराष्ट्र नीतिमा स्पस्ट हुनुपर्छ । प्रधानमन्त्री ओलीको अघिल्लो पटक भएको भ्रमणमा चीनसँग पारवहन सुविधासहितका १० वटा महत्वपूर्ण सम्झौता भएका थिए । अब ती सम्झौताले मूर्त रुप लिनुपर्छ ।

अब हामीले चीनको बाटो हुँदै अरु देशहरुसँग पारवहन सुविधा पाउनुपर्छ । चीनको बन्दरगाह उपयोग गर्दै तेस्रो देशसँग व्यापारिक सम्झौता विस्तार गर्ने विषय भ्रमणको मुद्दा बन्नुपर्छ । किनभने यी सबैका लागि यातायात सञ्जालको विस्तार अनिवार्य छ । काठमाडौं–केरुङ–लुम्बिनी रेलवे सेवा विस्तारको काम थालनी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा किमाथांका, तातोपानी र हिल्सा नाका खोल्ने विषयमा चीन सरकारसँग स्पस्ट कुरा राखेर सहमत गराउनुपर्छ । यी नाका अनिवार्यरुपमा खोल्नुपर्छ । रेलवे सेवा विस्तार र नाका खोल्ने कुरा अघि बढ्दा मात्र नेपालले प्राप्त गरेको पारवहन सुविधाको महत्व हुनेछ ।

नेपालको हाइड्रोपावरको विकासमा पनि नेपाल सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । ठूला–ठूला हाइड्रोपावर आयोजनामा चिनियाँ लगानी भित्र्याउनुपर्ने आवश्यकता देखिएको छ । यस विषयमा चीन सरकारसँग नेपाल सरकारले भ्रमणको बेला कुरा राख्दा धेरै राम्रो हुनेछ । र, चीन भ्रमणबाट नेपाल के कसरी आत्मनिर्भर हुने भन्ने कुरा पनि चीनबाट सिक्नुपर्ने आवश्यकता देखिएको छ । चीन आत्मनिर्भर देश हो ।

यो देशबाट हामीले धेरै कुरा सिक्नुपर्ने आवश्यकता रहेको छ । सधैँभरि आर्थिक सहायता र सहयोग मागेर मात्र हाम्रो देश विकास हुन सक्दैन । छिमेकी देशबाट सिकेर त्यहाँको सीप नेपाल भित्र्याउने कुरामा विशेष ध्यान दिनुपर्छ । अरु मुलुकका भरमा मात्र विकास गर्न खोज्ने आशे पवृत्तिले देश कहिल्यै माथि उठ्न सकेन ।

यो यथार्थ कुरा हो । अहिले चीन भ्रमणको टोलीमा विभिन्न क्षेत्रबाट खारिएका प्रबुद्ध व्यक्ति समूहको सहभागिताबाट यो महत्वपूर्ण भ्रमणलाई सफल बनाउनुपर्छ । केवल घुमफिरको भ्रमण मात्र नहोस् । चीनको विकास र समृद्धिको मोडेल हेर्ने र सिक्ने यो ठूलो अवसर पनि हो । मौकाको फाइदा उठाउने काममा नेपाल सरकार लाग्नुपर्छ । कृषि, उद्योग, पर्यटन, वातावरण शिक्षा, स्वास्थ्य, ग्रामीण विकास आदि चीनले कसरी गरेको छ, त्यो सिक्नुपर्ने आवश्यकता छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा करिब एक दर्जन नयाँ सहमति र सम्झौता हुँदै छन् । नेपाल र नेपाली जनताको पक्षमा सहमति र सम्झौता हुनुपर्ने जरुरी छ । प्रधानमन्त्री ओलीका लागि अहिले धेरै अनुकूलता छ । ओलीले नेपालको विकास र समृद्धिका लागि चीन सरकारसँग सहकार्यको बाटो अवलम्बन गर्न सहज वातावरण बनेको छ । उता भारत र चीनबीच पनि सम्बन्ध राम्रो हुने संकेत देखिएको छ । भारतमा तिब्बती शरणार्थीका गतिविधिमा कडाइदेखि केही समयअघि सम्पन्न अनौपचारिक उडान समिट र सांग्रिला डायलगको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको लचकताले चिनियाँहरु उत्साहित देखिएका छन् ।

छिमेकका दुई विशाल देशबीचको राम्रो सम्बन्धलाई प्रधानमन्त्री ओलीले उपयोग गर्न सक्नुपर्छ । प्रधानमन्त्री ओलीले चीन, नेपाल र भारतको सीएनआई त्रिदेशीय साझेदारीलाई अघि बढाउन यो भ्रमणको उपयोग गर्नुपर्छ । यसमा बढी चिनियाँहरु उत्साहित देखिन्छन् । चीनले त्रिदेशीय साझेदारीमा थप अग्रसरता लिने बताउँदै पनि आइरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संयुक्त पत्रकार सम्मेलनमा पनि चीनले यो कुरालाई महत्व दिएर उठाएको थियो । त्रिदेशीय साझेदारीलाई अघि बढाउन भारतलाई मनाउने कुरामा चीन अघि बढे नेपालले स्वतः लाभ हासिल गर्नेछ । महत्वपूर्ण कुरा यो हो ।

त्रिदेशीय विकासको बाटोमा फड्को मार्ने बेला आएको छ । यसको लागि हाम्रा प्रधानमन्त्री ओलीले राजनीतिक तथा कूटनीतिक चातुर्यता देखाउन सक्ने क्षमता प्रस्तुत गर्नुपर्छ । प्रधानमन्त्री ओलीको दील्ली भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुबै देशबीच राम्रो सम्बन्ध विस्तार हुँदै गएको सन्देश दिइरहेको छ । अब शंका गर्ने अवस्था देखिँदैन । अब विकास र समृद्धिका लागि नेपाल अघि बढ्ने अवसर पनि हो यो ।

नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने चिनियाँ प्रस्ताव मन्त्रिपरिषद्बाटै पारित भएको छ । यो निर्णयले रसुवागढी, केरुङ नाका भएर आउने रेलमार्गलाई ध्यान दिएर ठूला मितेरी पुल निर्माणका लागि सहज भएको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द तातोपानी नाका खोल्ने विषयलाई महत्वका साथ हेरिनुपर्छ ।

राष्ट्रिय सुरक्षाका विषयमा पनि जोडदारका साथ कुरा उठाउनुपर्ने आवश्यकता छ । नेपाल अझै पनि असुरक्षित छ । यसको चौतर्फी सुरक्षाका लागि गर्नुपर्ने काम धेरै छन् । यस विषयमा नेपाल सरकारले विवेकसम्मत निर्णय गर्न सक्नुपर्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा अवसर र चुनौती दुवै छन् ।

किनकि नेपाल र चीनबीच सहमति र सम्झौता भई अघि बढेका कतिपय परियोजना अझै अलमलमा परेका छन् । ती परियोजनाहरु पूरा नभएसम्म अहिलेका प्रतिबद्धताको कुनै अर्थ छैन । त्यसैले पनि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल र सार्थक बनोस् । हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्