ओलीको चीन भ्रमण र अपेक्षा



-विनोद नेपाल
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन गएका छन् । आषाढ ५ गते प्रारम्भ भएको यो भ्रमण १० गते सम्पन्न हुनेछ । प्रधानमन्त्री भएपछिको उनको यो दोस्रो विदेश भ्रमण हो । यसअघि उनले परम्पराअनुसार नै पहिलो विदेश भ्रमण भारतको गरेका थिए भने उनको भ्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेका थिए ।

चीन भ्रमणमा जानुअघि संघीय संसद्का दुवै सदनका बैठकमा आफ्नो भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सहयोग, सहकार्य र संयुक्त लगानीको तीन ढाँचामा द्विपक्षीय हित प्रवद्र्धनबारे छलफल हुने बताएका थिए । उनले यसअघि सन् २०१६ मार्चमा सम्पन्न चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिने बताउनुका साथै पुराना सम्झौता कार्यान्वयनसँगै केही थप नयाँ विषयमा पनि छलफल हुने बताएका थिए ।

सम्बोधनका क्रममा उनले हाम्रो दृष्टिकोण जानकारी गराउने, राष्ट्रिय प्राथमिकतामा रहेका विकासका कार्यसूचीमा छलफल गर्ने, विकासका सम्बन्धमा सहयोग र सहकार्यबारे पनि छलफल हुने बताएका थिए ।

प्रधानमन्त्री ओली यसअघि भएका सम्झौता कार्यान्वयन तथा सहयोग, सहकार्य र संयुक्त लगानीका विषयमा छलफल गर्ने, भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालनसहित थप नाका शुरुवातका लागि समझदारी गर्ने, व्यापार घाटा न्यूनीकरण, बीआरआई, रेल र सडक सम्पर्क, जलविद्युत् तथा प्रसारण लाइन, निर्माणाधीन आयोजनामा चिनियाँ सहयोग र सहकार्य एवम् पुनर्निर्माणसमेतका विषयमा द्विपक्षीय समझदारीमा हस्ताक्षर गर्नेसमेतका लक्ष्यका साथ चीन भ्रमणमा गएका हुन् ।

यो भ्रमणको मुख्य प्राथमिकतामा पहिलो प्रधानमन्त्रीय कार्यकालमा २०७२ चैतमा सम्पन्न भ्रमणमा दुई मुलुकबीच भएको १० बुंदे सहमति कार्यान्वयन रहेको छ । उक्त भ्रमणका क्रममा दुई मुलुकबीच भएका पारवहन तथा यातायातसम्बन्धी सम्झौता, पेट्रोलियम पदार्थ आपूर्ति र भण्डारणलगायत विषयमा छलफल हुने र यसको कार्यान्वयनमा जोड दिने नेपाली पक्षको तयारी छ । यस अतिरिक्त केही नयाँ विषयमा पनि सहमति हुनेछ ।

यसपटकको भ्रमणमा रेलमार्ग, विद्युत् प्रसारण लाइन र चिनियाँ लगानीजस्ता विषयमा पनि छलफल हुनेछ । नेपालले चिनियाँ पक्षसँग तेस्रो मुलुकसँग व्यापारका लागि चिनियाँ बन्दरगाह प्रयोगका लागि गरेको प्रस्तावको मस्यौदा आदानप्रदान भएको छ ।

अघिल्लो भ्रमणमा पारवहन तथा यातायात, स्वतन्त्र व्यापार सम्झौता, चीनबाट कुल मागको ३० प्रतिशतसम्म इन्धन ल्याउने विषयमा सहमति भएको थियो । यी सबै विषयमा यस भ्रमणमा टुंगो लाग्ने र कामकाजले गति लिने अपेक्षा गरिएको छ । सीमा जोड्ने सडक तथा सीमा नाकामा बन्दरगाह आदिका विषय पनि छलफलमा पर्नेछन् ।

प्रधानमन्त्री ओलीले चीन पुगेकै साँझ ‘हिमालवरिपरिको कनेक्टिभिटीलाई बलियो बनाएर दुई पक्षीय सहकार्य अघि बढाउने’ बताए । यात्राको पहिलो दिन असार ५ गते साँझ बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

चिनियाँ भाषामा पहिलो वाक्य वाचन गरेर सम्बोधन प्रारम्भ गरेका ओलीले हिमालले छुट्याएका दुई मुलुकबीच वारी र पारीको यातायात सञ्जाल बलियो बनाएर दुईपक्षीय सहकार्य अघि बढाउने उद्घोष गरे । चीनलाई ‘भरपर्दो छिमेकी तथा मित्रराष्ट्र’ भन्दै उनले दुई वर्षअघि आफूले पहिलोपटक प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गरेर नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ गरेको बताए ।

नयाँ युगमा नेपाल–चीन सम्बन्धको नयाँ दृष्टिकोणसहित दुई देशबीचको गहिरो विश्वास र समझदारीको विशाल भण्डार लिएर फेरि चीन आएको बताए । स्मरणीय छ, चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनपछि राष्ट्रपति सी जीनपिङले चीन नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले चीनको तीव्र विकासबाट लाभ लिन चाहेको बताए । उनले नेपाल ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ अर्थात् ‘बीआरआई’मा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टिभिटीमा जोड दिनुपर्ने पनि बताए ।

११९ जनाको जम्बो टोलीका साथ चीन भ्रमणमा गएका उनले आफ्नो अघिल्लो भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन र थप नयाँ सम्झौतामा भ्रमण केन्द्रित रहने जानकारी दिए । नयाँ सन्धि र सम्झौताहरु मुलुक र जनताको हितमा हुने उनको भनाइ थियो ।

ओलीले नेपाल र चीनबीच यातायात सञ्जाल, पर्यटन र संस्कृति, व्यापार र लगानी, कृषिमा आधुनिकीकरण, उद्योग र प्रविधि हस्तान्तरण, जनशक्ति र प्राकृतिक स्रोत–साधन तथा वातावरणका क्षेत्रमा सहकार्य हुन सक्ने र मिलेर काम गर्नुपर्ने बताए । नेपालमा अब राजनीतिक अस्थिरताको अन्त्य भएको तथा विकास र समृद्धिको अभियानमा छिमेकको साथ चाहिएको धारणा पनि उनको थियो ।

सडक र रेल सञ्जालले नयाँ युगको सहकार्य झल्किने उनको भनाइ थियो । चिनियाँ रेल नेपाल भित्र्याउने कार्य पूरा भए नेपालका साथै चीनको पनि हित हुने भन्दै उनले यसमा हुने सहकार्यले भविष्य थप उज्यालो बनाउने धारणा व्यक्त गरे । परम्परागत ‘सिल्क रोड’ले नेपाल र चीनलाई जोडेको बताउँदै चीन र दक्षिण एसियाबीच नेपालले महत्वपूर्ण पुलको काम गर्न सक्ने बताए । दुबै राष्ट्रले सिल्क रोडलाई पुनर्जागरण गर्ने भन्दै आर्थिक समृद्धिमा सहकार्य गरी अगाडि बढ्न नेपाल र चीन तयार रहेको प्रधानमन्त्रीको धारणा थियो ।

चीनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा उनले नेपालमा लगानी गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमणको दोस्रो दिन उनको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसमेतका विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी र सम्झौता भयो । उच्चस्तरीय भेटघाट र वार्तासहितका कार्यक्रम रहेकाले भ्रमणका क्रममा दर्जनभन्दा बढी सहमति र सम्झौतामा हस्ताक्षर हुनेछ ।

नेपाल विश्वकै सर्वाधिक जनसंख्या भएका दुई मुलुक भारत र चीनको बीचमा अवस्थित छ । त्यसको लाभ नेपालले पर्यटनबाट लिन सक्छ । नेपालमा प्रशस्त लगानी आवश्यक भएकाले छिमेकका लगानीकर्ताहरुलाई आकर्षित गर्ने नीति लिनु आवश्यक छ, जसका लागि सुरक्षाको प्रत्याभूति तथा स्पष्ट नीतिगत व्यवस्था अपरिहार्य छ । पर्यटनको हकमा दुबै छिमेकी मुलुकका पर्यटक सानो संख्यामै पनि नेपाल आए भने नेपालको लागि पर्याप्त हुन सक्छ । खुला सिमाना तथा सहज भौगोलिक अवस्था भएकाले भारततर्फको आवतजावत सहज भए पनि चीनतर्फको भूबनोट तथा सीमा र आवागमनसमेत सहज छैन ।

यसले चिनियाँहरुको नेपाल प्रवेशका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यस सन्दर्भमा भ्रमणका क्रममा चिनियाँ नागरिकहरुलाई सामान्य प्रक्रिया पूरा गरी सहजताका साथ नेपाल भित्रिन सक्ने व्यवस्था गर्नेतर्फ सोच्न सकिए त्यहाँका पर्यटक तथा व्यवसायीहरुलाई थप आकर्षित गर्न सकिनेछ । व्यापारको हकमा पनि सहजीकरण गर्न सकिएमा व्यापार घाटा कम गर्न सकिने भएकाले सो सम्बन्धमा पनि भ्रमणका क्रममा छलफल हुनु उचित हुनेछ ।

वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अगाडि सारेको छ । समृद्धिका लागि छिमेकी मुलुकहरुका साथै दातृराष्ट्र र संस्थाहरुसँग सहकार्यको आवश्यकता छ । यस सन्दर्भमा छिमेक तथा सहयोगी मित्र राष्ट्रहरुसँगको सम्बन्ध सुदृढ र सुमधुर बनाउँदै विश्वका बाँकी मुलुकहरुसँग सम्बन्ध स्थापना गर्ने र सहयोग आदानप्रदान गर्नेतर्फ आवश्यक प्रयास प्रारम्भ गरिहाल्नु जरुरी छ । यस क्रममा सर्वप्रथम दुई छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई मजबुत बनाउँदा अन्य मुलुकहरुसँग निकटता बढाउनुपर्छ ।
यसै गरी हामीले बुझ्नुपर्ने कुरा छिमेक भ्रमण दोहरो हुनुपर्छ, एकतर्फी मात्र होइन । दूईतर्फी भ्रमणले सम्बन्धलाई सुमधुर र निकट बनाउँछ, समानताको सम्बन्ध स्थापित हुन्छ । ठूलो र सानो मुलुकको विभेद हट्छ, स्वतन्त्र सार्वभौम मित्रराष्ट्रको हैसियतमा सम्बन्ध बन्छ ।

भारतको हकमा हाम्रा प्रधानन्त्री शपथ खान नभ्याउँदै दिल्ली दौडने, उताका वर्षौंदेखि नआएका र लामो समयदेखि त्यस्तो भ्रमण नभएकोमा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चारबर्से कार्यकालमा तीनपटक नेपालको भ्रमण गरिसकेका छन् भने चिनियाँ नेताहरुको भ्रमण अपेक्षित छ । प्रधानमन्त्री ओलीको यो चाीन भ्रमणले त्यसका लागि वातावरण बनाउन सक्यो भने त्यो पनि भ्रमणको सफलता नै ठहरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्