आउँदै छ उपहार



उपहार खालखालका हुन्छन्। कसैले कसैलाई उपहार दिन चाहन्छ भने उपहार दिनेको छनोटमा भर पर्छ। दिने व्यक्ति सकभर उपहार लिनेको मन जित्न चाहन्छ। मंगलबार काठमाडौंबासीले महानगरपालिकालाई केही फरक उपहार दिएको देखियो।

काठमाडौंबासीले महानगर पदाधिकारीलाई ‘घाँस’ उपहार दिएका छन्। महानगरले टन्नै गाई, भैंसी, बाख्रा वा अन्य चौपाया पालेर घाँस पुर्याउन स्थानीय पुगेका भने होइनन् रे। ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरी झाडीमय भएको विरोधमा घाँस बुझाइएको भन्ने बुझियो।

घाँस बुझ्ने प्रमुख रहिछिन्, महानगरकी उपमेयर खड्गी। मेयर शाक्य प्रधानमन्त्रीसँगै चीन भ्रमणमा पुगेपछि खड्गीको टेबलमै घाँस पुगेछ। कार्यालय परिसरमै घाँस उपहार पुगेसी अन्य पदाधिकारीको मनमा ठूलै ढ्याङ्ग्रो ठोकिएको छ रे, कुन दिन आफूले पनि यस्तो उपहार थाप्नुपर्ने भनेर। उपहार बुझाउन जाने मध्येका केहीलाई धरहराले अन्य पनि उपहारका प्याकेज केही छन् कि भनेर सोध्यो।

अगुवाझैं देखिने एकले भने– ‘यो त कास्टिङ मात्रै हो, फिल्म केही दिनमा शुरू हुन्छ।’ उनका अनुसार २/४ हप्तापछि नगरको फोहोर, सडकको हिलो, धुलो र अन्य धेरै थरी प्याकेज विशेष उपहारका रूपमा प्रतिनिधिका टेबुलटेबुलमा पुर्याउने रे। यस्तो कुरा सुन्दा धरहरालाई लाग्यो अन्य नगरका प्रतिनिधिले पनि यस्ता उपहार सजाउने कक्ष तयार गरे हुन्छ।

प्रतिक्रिया दिनुहोस्