पोर्चुगल र मोरोक्कोलाई जित आवश्यक



समूह ‘बी’ अन्तर्गत दोस्रो चरणको खेलमा बुधबार पोर्चुगलले मोरोक्कोको सामना गर्दैछ। समूह चरण पार गर्न दुवै टोलीलाई जितकै आवश्यक छ। पोर्चुगलका लागि भने मोरोक्कोसँग मेक्सिको १९८६ विश्वकपको समूह चरणमा ३–१ ले हारेको बदला लिने अवसर मिलेको छ।

जारी विश्वकपमा समूहको पहिलो खेलमा पोर्चुगलले बलियो स्पेनलाई अन्तिम क्षणतिर बराबरीमा रोक्दै आफू बलियो रहेको प्रमाणित गरेको थियो।

पहिलो खेलमा १ अंक जोडेको पोर्चुगललाई अन्तिम १६ मा स्थान बनाउन मोरोक्कोविरुद्धको खेल महत्वपूर्ण बनेको छ। समूहको शीर्षमा रहन पोर्चुगल ३ अंकका साथसाथै बढीभन्दा बढी गोल गर्नेतिर केन्द्रित हुनेछ। पछिल्ला ३ विश्वकपमा भन्दा यसपटक पहिलो खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो लयमा देखिएका छन्।

यता मोरोक्को भने पहिलो खेलमा असोचनीय आत्मघाती गोलका कारण पराजित भएपछि इरानलाई ३ अंक दिन बाध्य बन्यो। तर समूहको दोस्रो खेल भने मोरोक्कोका लागि ‘गर या मर’ को स्थितिमा रहेको छ। जारी विश्वकपमा रहिरहन मोरोक्कोलाई पोर्चुगलविरुद्ध कम्तिमा पनि बराबरीको नतिजा आवश्यक छ। यदि पोर्चुगलसँग पराजित भएमा मोरोक्को २०१८ को फिफा विश्वकपबाट बाहिरिने पहिलो टोली बन्नेछ।

तर पोर्चुगलविरुद्धको खेलमा भने नाबिल डिरारसहित ४ रक्षकको बलमा रोनाल्डोको आक्रमणलाई निस्तेज पार्नेतर्फ मोराक्को लाग्नेछ। यस्तै इरानविरुद्धको खेलमा गोलका लागि निकै संघर्ष गरेका फरवार्ड आयूब एल काबीको स्थानमा खालिद बूटेबले स्थान पाउने प्रबल सम्भावना छ।

मोरोक्कोका सम्भावित खेलाडीहरू ः
मोनीर एल काजुई, असरफ हकिमी, घनेम साईस, मेहदी बेनाटिया, हम्जा मेन्डील, करीम एल अहमदी, हकीम जियाच, एम्बार्क बौसूफा, योनेस बेल्हन्दा, नूरद्दीन अम्ब्राबाट, खालिद बोटैब।

सम्भावित फर्मेसन ः ४–४–२

पोर्चुगलका सम्भावित खेलाडीहरू ः

रुई पेट्रिसिया, सेड्रिच, पेपे, जोसे फोन्टे, रफाएल गुरेरो, विलियम, जाओ मौटिन्हो, बरनार्डो सिल्भा, जाओ मारियो, आन्द्रे सिल्भा, क्रिस्टियानो रोनाल्डो।

सम्भावित फर्मेसन ः ४–३–३

प्रतिक्रिया दिनुहोस्