किम–ट्रम्प भेटपछिको विश्व राजनीति



-विजय ज्ञवाली
एघार नोभेम्बर २०१६ का दिन विश्व शक्तिमान राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएलगत्तै यस पंक्तिकारले ‘ट्रम्प युगको उदय ः सजिलो छैन ट्रम्पको आगामी कार्यकाल’ शीर्षकमा एउटा लेख लेखेको थियो । राष्ट्रपतिमा निर्वाचित भएको एक महिना बित्न नपाउँदै ट्रम्पले उत्तर कोरियामाथि आक्रमण हुनसक्ने चेतावनी दिएका थिए ।

ट्रम्पको चेतावनीपश्चात् उत्तेजित उत्तर कोरियाले जवाफस्वरुप अमेरिकाको जुनसुकै क्षेत्रमा कुनै पनि बेला मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएको थियो । यसै सन्दर्भलाई लिएर अमेरिका र उत्तर कोरियाबीच चर्को वाकयुद्ध मात्र भएन अवस्था यहाँसम्म आइपुग्यो कि जुनसुकै बेला पनि यी दुई देशबीच युद्ध हुनसक्ने त्रासमा बाँकी विश्व बेचैन रहिरह्यो । यसबीचमा उत्तर कोरियाले दर्जनौंपटक १,००० किलोमिटरभन्दा टाढाको दूरीसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइलहरुको परीक्षण मात्र गरेन, सयुंक्त राष्ट्रसंघको आकस्मिक बैठकद्वारा समेत उत्तर कोरियाकै कारण तेस्रो विश्वयुद्धको समय नजिकिँदै आइरहेको भन्नेसम्मको निष्कर्षमा पुग्न बाध्य बनायो ।

यसै सन्दर्भलाई जोडेर पंक्तिकारले ‘उत्तर कोरियाको परमाणु विवादसँगै विश्व समुदायमा देखा परेको अनिश्चयको प्रश्न’ शीर्षकमा अर्को लेख पनि लेखेको थियो । माथिका यी दुई शीर्षक यो लेखसँग जोड्नुको अर्थ हो– विश्व कूटनीतिमा कच्चा खेलाडी मात्र नभएर सन्काहा प्रवृत्तिका ट्रम्पले कुनै पनि बेला लिन सक्ने अप्रिय निर्णय र उत्तर कोरियाको निरन्तरको आणविक हतियार मोहले गर्दा कतै बाँकी विश्वलाई समेत तहसनहस पार्ने त होइन भन्ने जुन सन्त्रास थियो, त्यस्तो सन्त्रास भने अहिलेलाई टरेको छ ।

केही हप्तापहिला अमेरिकाका राष्ट्रपति ट्रम्पले ट्विटरमा आफू र उत्तर कोरियाका राष्ट्रपति किम जोङबीच हुने शिखर वार्ताको सम्पूर्ण तयारीका लागि अमेरिकी अधिकारीहरु सिंगापुर पुगिसकेको कुरा उल्लेख गरेका थिए । ट्रम्पको उक्त ट्विटसँगै आमविश्वले पनि शिखरवार्ता निष्कर्षमा पुगोस् भन्ने चाहना मात्र गरेन, बाँकी विश्व शान्तिको यात्रा पनि यसै शिखर वार्तासँगै अगाडि बढोस् भन्ने कामना गरेको देखिन्छ ।

अन्ततः गत जुन १२ मा सिंगापुरको अति विलासी होटल सेन्टोसा आइल्यान्डमा यी दुई शीर्ष नेताबीच भेटघाट कार्यक्रम अत्यन्तै उत्साहप्रदरुपमा सम्पन्न भएरै छोड्यो । त्यस्तै ट्रम्पले अर्को एक ट्विट गर्दै भनेका थिए– ‘उत्तर कोरियामा अत्यधिक क्षमता छ, एकदिन उक्त देश पनि उत्कृष्ट आर्थिक अनि वित्तीय राष्ट्र बन्नेछ ।’ सरसर्ती ट्रम्पका लगातारका ट्विटहरु नियाल्ने हो भने के निष्कर्षमा पुग्न सकिन्छ भने, अमेरिका पनि अब उत्तर कोरियासँग वार्ताकै माध्यम समस्या समाधान गर्न चाहन्छ । युद्धले उत्तर कोरिया र अमेरिका मात्र होइन, बाँकी विश्व पनि प्रत्यक्ष प्रभावित हुने हुनाले ट्रम्पको यो सुझबुझपूर्ण निर्णय अत्यन्तै स्वागतयोग्य हो भने यता उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको आफ्नो देशलाई आणविक हतियारमुक्त बनाउने उद्घोष समग्र विश्वका लागि साँच्चिकै उल्लासमय बनेको छ ।

यी दुई हस्तीबीच भेटवार्ता हुनुपूर्वका गतिविधि नियाल्ने हो भने उत्तर कोरियाका अधिकारीहरुले पनि आफ्ना अमेरिकी समकक्षीसमक्ष परमाणु निशस्त्रीकरणको मुद्दाका बारेमा निरन्तर जानकारी दिइराखेका छन् भने स्वयं किम जोङ उन नै अमेरिकासँग हुन गइरहेको शिखर वार्तामा परमाणु निशस्त्रीकरणको बारेमा वार्ता गर्न तयार रहिसकेको जनाउ दिइसकेका थिए । किमको यस प्रकारको तयारीले शिखरवार्तालाई अझ मार्गप्रशस्त ग¥यो । अझ रोचक कुरा त के छ भने, उत्तर कोरिया र अमेरिकाबीच प्रत्यक्ष संवाद हुन छोडेको धेरै लामो समय भैसकेको थियो ।

तर, दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहाकार चुंग यी योंगद्वारा उत्तर कोरिया अमेरिकासँग वार्ता गर्न तयार रहेको सन्देश अमेरिका पठाउनासाथ निरन्तर अमेरिका र उत्तर कोरियाबीच प्रत्यक्ष संवाद चल्दै चल्दै गयो । यी दुई कट्टर देशबीच यस प्रकारको सामीप्यताले दुई देशबीच झनै हार्दिकता मात्र बढाएन, नजिकिँदै गइराखेको शिखर वार्तासमेत निष्कर्षमा पुग्न सक्ने बलियो आधार बनेर गएको थियो ।
किम ट्रम्प मिलनविन्दु
विष वमनका कैयौं दशकहरु छिचोल्दै अन्ततः दुई कोरियाली राष्ट्रबीचको मिलन साँच्चिकै एउटा रुपान्तरित वैश्विक सपना थियो । कोरियाली प्रायद्विपमा सन् १९५३ पछि कुनै एउटा जादु भएको छ त उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको उच्चतम समझदारीमा कायम भएको छ । आर्थिक समृद्धिसँगै लोकतान्त्रिक मार्ग अवलम्बन गरेको दक्षिण कोरिया र रासायनिक हतियारसँगै सैन्य आडमा नै देशको भलो खोजिरहेको उत्तर कोरियाबीचको टकराव केवल कोरियन प्रायद्विपमा मात्र सीमित थिएन, अपितु उत्तर कोरियाको आणविक कार्यक्रम र निरन्तरका क्षेप्यास्त्रको विषयलाई लिएर समग्र विश्व चिन्तित थियो । यता सिरिया युद्धको टकराव, चीनसँगको व्यापारिक युद्धको उद्घोष, अनि उत्तर कोरियाको निरन्तरको परमाणु परीक्षणसँगै अमेरिकाको लागि धम्की, यी तीन विषय नै अमेरिकाको लागि टाउको दुखाइका विषय थिए ।


अबको विश्वराजनीति सिरिया संकट र अमेरिकाको रणनीतिमाथि नै टिकेको हुँदा अमेरिकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । कोरियाली प्रायद्विपबाट शुरु भएको विश्वशान्तिको यात्रा सिरियामा पुगेर अन्त्य नहोस्, नायक बन्ने या खलनायक के बन्ने, आगे ट्रम्पकै जो मर्जी ।


दुई कोरियाको मिलनसँगै उत्साहित ट्रम्पले किमसँग भेट्ने तीव्र इच्छा व्यक्त गरेका थिए भने यता कोरियाली मिलनसँगै किमले पनि ट्रम्पसँग भेट्ने इच्छा जाहेर गरेका थिए । मे महिनामा नै यी दुई हस्तीबीच वार्ता हुने तय भए तापनि विशेष कारणवश स्थगन हुन पुगेको उक्त भेटको चाँजोपाँजो भने १२ जुनका दिन सिंगापुरको सेन्टाजो आइसल्यान्ड होटेलमा जुरेको थियो । परमाणु हतियारले यी दुवै देश यसभन्दा अघि एकले अर्कोलाई सिध्याइछाड्ने रणनीतिमा थिए । तर, उत्तर कोरिया र दक्षिण कोरियाबीचको आकस्मिक तथा आश्चर्यजनक मिलनसँगै समग्र वैश्विक राजनीतिले पनि एकाएक १८० डिग्रीको फन्को मार्दै गयो । दुई कोरियाली मिलनपश्चात् चीन भ्रमणमा निस्किएका उत्तर कोरियाली सर्वोच्च नेतासँग भेटवार्ता गर्न ट्रम्प अधीर थिए । यता उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले पनि अमेरिकी प्रस्तावलाई सहजै स्वीकार गरेसँगै अन्य विश्वजगत् पनि सुखद आश्चर्यमय बन्न पुग्यो ।

निरन्तरका मिसाइल परीक्षण, दक्षिण कोरियाप्रति आक्रामक रणनीति अंगालेको उत्तर कोरियाले समग्र विश्वलाई त्रासमय मात्र बनाएको थिएन अपितु मानवअधिकार उल्लंघनको सवालमा पनि अत्यधिक आलोचना खेप्नुपरेको उक्त देशले १ जनवरीका दिन भने समग्र विश्वलाई तरंगित पारिदियो । उक्त दिन उत्तर कोरियाली सर्वोच्च नेता किमले अचानक दक्षिण कोरियासँग सहकार्य गर्ने उद्घोष मात्र गरेनन्, अपितु दक्षिण कोरियामा जारी हुन गइरहेको विन्टर ओलम्पिक्समा आइस स्केटर्ससहित आफ्नो टोली पनि सहभागी गराउने उद्घोष नै गरिदिए । उत्तरको यस्तो चाहनालाई दक्षिणका अधिकारीहरुले अमेरिकासम्म पु¥याइदिएका थिए । अमेरिकाको ग्रीन सिग्नलपश्चात् नै उत्तर–दक्षिण कोरियाबीच मात्र मिलन भएन कि, एक–अर्कालाई घोर दुश्मनको उद्घोष गरेका अमेरिका–उत्तर कोरिया पनि अन्ततः मित्रताको सूचीमा अनुबन्ध भएरै छोडे ।
अबको विश्वराजनीति
सम्पूर्ण परमाणु कार्यक्रमहरुलाई स्थगित गर्दै परमाणुरहित देश बन्ने उत्तर कोरियाको अभियानपश्चात् अबको बाँकी विश्वराजनीति कसरी अगाडि बढ्नेछ भन्ने सबैको चासो रहेको पाइन्छ । उत्तर कोरियाले साँच्चिकै परमाणु हतियार तथा परीक्षण मोह त्यागेकै हो भने अबका दिनहरुमा कोरियाली प्रायद्विपमा मात्र होइन, समग्र विश्वराजनीतिले पनि सहकार्यको मार्ग प्रशस्त गर्नेछ । सिरिया युद्धमा होमिएको अमेरिकालाई युद्ध छोडेर वार्ताकै माध्यम सिरिया संकट समाधान गर्न नैतिक दबाब त परेको नै छ, साथमा सिरिया मुद्दालाई लिएर मध्यपूर्व र अमेरिकाबीचमा पनि केही सहजताको अनुभव हुन्छ कि भन्ने धेरैको आँकलन छ ।

यद्यपि, उत्तर कोरियालाई परमाणु निःशस्त्रीकरण र मानवअधिकारको रक्षाको लागि दबाब दिएर फर्किएका ट्रम्पले सिरियामाथि परमाणु हमला गरी निर्दोष मानिसको एकै चिहान बनाउनु कत्ति पनि मनासिव हुँदैन, नैतिकताले दिँदैन । तर, सिरिया मुद्दामा जुँगाको दाउ लगाइसकेको अमेरिकाले नैतिकता र मानवअधिकारको प्रत्याभूतिलाई लत्याउँदै निरन्तर सिरियामाथि मिसाइल आक्रमण नरोक्ने हो भने ट्रम्प केवल एक खलपात्रमा मात्र चित्रित हुनेछन् । उत्तर कोरियासँग सहकार्य गरेर आफ्नो उचाइलाई चुचुरोमा पु¥याएका ट्रम्पले उक्त उचाइलाई कायम राखिराख्ने हो भने तत्काल सिरिया युद्ध अन्त्य गर्नै पर्दछ र वार्ताकै माध्यम सिरिया संकट हल गर्न सक्नुपर्दछ । ट्रम्पले यदि यसो गर्न सके भने विश्व इतिहासले ट्रम्पलाई एक महान् हस्तीको रुपमा सम्झिरहनेछ ।

यदि सिरिया युद्ध बन्द नगरेर सिरियामा निरन्तर नरसंहार गर्दै जाने हो भने ट्रम्पको चुलिएको उचाइ भासिँदै जानेछ । उत्तर कोरियाले सहकार्यको हात अघि बढाएर बेचैन विश्वराजनीतिलाई चैनमा परिणत त गरिदिएको छ, तर अझै पनि सिरिया संकटले गर्दा विश्वराजनीति उद्वेलित छ । सिरिया संकट वार्ताकै माध्यम समाधान हुनुपर्दछ भन्नेमा अधिकांश विश्वसमुदाय एकमत मात्र छैनन्, बाँकी वैश्विक राजनीति पनि सिरिया संकटसँगै तय हुनेछ । विश्वराजनीतिलाई सहिष्णु बनाउने या खलबल्याउने, यो सबै जिम्मा अमेरिकाकै हातमा छ । आईएसलाई उचालेर सिरिया संकटलाई जटिल बनाउँदै गएको अमेरिकाले सिरिया संकट समाधानमा पहलकदमी नलिने हो भने यसले वैश्विकरुपमै गम्भीर असर पर्न सक्छ । तसर्थ अबको विश्वराजनीति सिरिया संकट र अमेरिकाको रणनीतिमाथि नै टिकेको हुँदा अमेरिकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । कोरियाली प्रायद्विपबाट शुरु भएको विश्वशान्तिको यात्रा सिरियामा पुगेर अन्त्य नहोस्, नायक बन्ने या खलनायक के बन्ने, आगे ट्रम्पकै जो मर्जी ।

प्रतिक्रिया दिनुहोस्