जय भोलेलाई वसन्तको नयाँ फ्लेबर



निर्माता, निर्देशक, अभिनेता तथा प्रदर्शक अशोक शर्माद्वारा निर्मित तथा निर्देशित फिल्म जय भोलेको उम्लियो भने पोखिन्छ बोलको गीतकोअडियो भिडियो सार्वजनिक भएको छ।
बिहीबार राजधानीको कुमारी हलमा आयोजित कार्यक्रममा फिल्मकर्मीको बाक्लो सहभागीताका बीच गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा नायक सलोन बस्नेत तथा स्वस्तीमा खड्काले उत्कृष्ट नृत्य प्रतिभा प्रस्तुत गरेका छन् भने खगेन्द्र लामिछाने र सौगात मल्ललाई पनि नचाइएको छ। भिडियोमा बुद्धी तामाङ, शुरवीर पण्डित, जयनन्द लामा, शारदा गिरी, रामचन्द्र अधिकारीलगायतका कलाकार पनि देखिएका छन्। जसमा प्रायः कलाकारको भूमिका खुलेको छ भने सौगातको भूमिका लुकेको छ। राजनराज शिवाकोटी र मेलीना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि राजनकै रहेको छ। १ मात्र गीत रहेको फिल्मको भिडियोमा नृत्य निर्देशक वसन्त श्रेष्ठको कोरियोग्राफीमा नयाँ फ्लेबर पाइन्छ।

लामो समयपछि पुनः फिल्म निर्माण र निर्देशन क्षेत्रमा फर्किएका निर्देशक अशोक शर्माले फिल्मको गीत रिलिजमा बाक्लो सहभागिता देख्दा खुसी लागेको बताए। फिल्म व्यवसायी भाष्कर ढुंगानाले सबै पुस्ताका व्यक्तिलाई छुने कथा तथा मनोरञ्जन हुनु नै जय भोलेको विशेषता भएको चर्चा गरे। अभिनेता खगेन्द्र लामिछानेले आफू प्रायः फिल्ममा दुःखी पात्रका रूपमा खेलेको र यस फिल्ममा आफूलाई नौलो पात्रका रूपमा भेटिने खुलाए। ‘यो गीतले नै मलाई नौलो अनुभव दिइसकेको छ। अझ फिल्म रिलिजपछि झन् नौलो अनुभव दिने नै छ। यसमा काम गर्दागर्दै कहिलेकाहीं कमर्सियल फिल्म पनि गर्नुपर्ने रहेछ भन्ने लागेको छ’ –उनले भने।

नायिका स्वस्तीमा खड्काले फिल्मको गीतमा नायक खगेन्द्रलाई नचाउनका लागि आफूले षड्यन्त्र गरेको र सफल भएको बताइन्। ‘मैले खगेन्द्र दाइलाई नचाएरै छोडें, यो गीत स्पेसल छु’ –उनले भनिन्। अभिनेता तथा गायक जयनन्द लामाले आफू गायकका रूपमा आए पनि अभिनयमा समेत मन पराइदिएकोमा आभार प्रकट गरे भने हास्य अभिनेता राजाराम पौडेलले वल्र्डकप जसरी यो गीतलाई विश्वभरबाट हेरिने दाबी गरे। अभिनेतृ वसुन्धरा भुसालले आफू सानो भूमिकामा भएकाले पारिश्रमिक नलिने भने पनि खाममा राखरे पठाइएको बताइन्। ‘मैले छोटो भूमिका भएकाले पारिश्रमिक लिन्न भनेकी थिएँ, तर खाममा राखेर पठाइएको रहेछ’ –उनले भनिन्। राजनराज शिवाकोटीले गाउँघरमा हुने घटना परिघटना र शब्दावलीमा परिवर्तन गर्दै उम्लिएपछि पोखिने दूधको उदाहारण प्रस्तुत गरेर गीतमार्फत सकारात्मक सन्देश दिन खोजेको बताए।

दशैंमा अल नेपाल रिलिज हुने फिल्मको लेखन खगेन्द्र लामिछाने तथा निर्माण किरण शर्मा, कृति शर्मा र अंकित शर्माको रहेको छ। इलाम र झापामा छायांकन गरिएको फिल्मका अन्य कलाकारमा किशोर भण्डारी, अशोक शर्मालगायत छन्। १ करोड ६० लाख रुपियाँ निर्माण लागत रहेको फिल्ममा द्वन्द्व रोशनविक्रम भट्टराई, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन राजु ढुंगानाको रहेको छ।

प्रतिक्रिया दिनुहोस्