स्पेन र पोर्चुगलबीच कडा प्रतिस्पर्धा हुने



यस विश्वकपमा समूह चरणको सबैभन्दा ठुलो खेल स्पेन र पोर्चुगलको हुने भएको छ। जुन १५ मा हुने यो खेलमा रोनाल्डोलाई रोक्ने चुनौती उनकै रियल मेड्रिडका डिफेन्डर सर्जियो रामोस र बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको हुनेछ।

पोर्चुगलमा रोनाल्डोका अलावा रिकार्डो क्वारिस्मा, बेर्नान्डो सिल्भा, जोआओ मारिओ, पेपे, राफेलजस्ता स्टार खेलाडी रहेका छन्। त्यस्तै स्पेनमा पनि इस्को, आन्दे इनेस्टा, डिएगो कास्टा, डेभिड सिल्भा, रामोस र पिकेजस्ता स्टार खेलाडीले भरिपूर्ण रहेको छ।

यसअघि सन् २०१० को विश्वकपमा यी दुई आमनेसामने भएका थिए। जहाँ डेभिड भियाको एक मात्र गोलमार्फत स्पेनले १–० को जित दर्ता गर्यो। तथ्यांकअनुसार यी दुईले अहिलेसम्म ३६ म्याच एक अर्का विरुद्ध खेलेका छन्। जसमध्ये स्पेनले १७ खेल र पोर्चुगलले ६ खेलमा जित हासिल गरेका छन् भन १३ खेल बराबरीमा टुङ्गिएको छ।

पोर्चुगल

विश्वकप यात्रा
वर्तमान युरोकप विजेता पोर्चुगल युरोपियन क्षेत्रको समूह बी मा रहँदै सहज रूपमा रसिया विश्वकपमा छनोट भएको थियो। क्याप्टेन रोनाल्डोले छनोट चरणका खेलमा १५ गोल गरेका थिए। पोर्चुगलले छनोट चरणमा स्विट्जरल्यान्डसँग मात्रै पराजय बेहोरेको थियो। तर पुनः स्विट्जरल्यान्डसँग दोस्रो खेलमा भने जित निकाल्दै पोर्चुगल समूह विजेताका रूपमा रसिया विश्वकपमा छनोट भएको हो।

मेनेजर सान्टोस

फर्नान्डो सान्टोस पछिल्लो वर्ष पोर्चुगलका सफल प्रशिक्षक हुन्। उनको रक्षात्मक शैलीको आलोचनासमेत हुने गरेको छ। तर पनि उनले २०१६ मा पोर्चुगललाई युरोकप दिलाए। उनको नेतृत्वमा पोर्चुगलले कन्फडेरेसन कपमा पनि राम्रो प्रर्दशन गर्यो र तेस्रो भयो।

महत्वपूर्ण खेलाडी

पोर्चुगलका कप्तान रोनाल्डो अवश्य रूपमा विश्वकपका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनले रियल मेड्रिडमा यो सिजन उत्कृष्ट प्रर्दशन गर्दै च्याम्पियन्स लिगको उपाधि जितेका छन्। युरोकप जितेका उनी विश्वकप जितेर आफ्नो नाम महान् खेलाडीको सूचीमा समावेश गर्न चाहन्छन्।

उत्कृष्ट प्रर्दशनः
तेस्रो, विश्वकप १९६६ (इंग्ल्यान्ड)
मेनेजरः फर्नान्डो सान्टोस
कप्तानः क्रिस्टियानो रोनाल्डो
फिफा वरियता ः ४
सम्भावित फर्मेसनः ४–३–३

स्पेन

विश्वकप यात्रा
युरोपियन क्षेत्रको छनोट चरणमा स्पेनले उत्कृष्ट प्रर्दशन गरेको थियो। समूह जी को विजेता भएको स्पेनले १० खेलमा एउटा पनि हार बेहोरेन। स्पेनले छनोट चरणका खेलमा ३६ गोल गरेको थियो। स्पेनले चार पटकको विश्व विजेता इटालीलाई पाखा लगाउँदै रसिया यात्रा पक्का गरेको थियो।

मेनेजर हिइरो
स्पेनिस फुटबल फेडरेसनले प्रशिक्षक युलेन लोपेलुइगीलाई बर्खास्त गरेको केही घन्टाभित्रै नयाँ प्रशिक्षक नियुक्त गर्यो। नयाँ प्रशिक्षकमा स्पेनले फर्नान्डो हिइरोलाई नियुक्त गरेको हो। स्पेनी फेडरेसनले विश्वकप शुरू हुन एक दिनअघि प्रशिक्षक बर्खास्त गरेको थियो। समूह चरणमा पोर्चुगलविरुद्ध खेल्नुअघि नै प्रशिक्षक युलेन बर्खास्तीमा परेका हुन्। ५० वर्षीय हिइरो स्पेनका पूर्वरष्ट्रिय खेलाडी हुन्।

उनी रियल मेड्रिडमा कप्तानसमेत रहेका थिए। हिइरो स्पेनिस फेडेरेसन स्पेनका निर्देशकसमेत हुन्। हाल उनी रसियामै रहेका छन्।
युलेनले स्पेनिस क्लब रियल मड्रिडमा अबद्ध हुने घोषणा गरेसँगै उनलाई बर्खास्त गरिएको थियो। उनी दुई वर्षअघि स्पनेको प्रशिक्षकमा नियुक्त भएका थिए। उनको नेतृत्वमा स्पेनले कुल २० खेल खेलेको थियो। जसमा १४ जित र ६ बराबरीको नतिजा निकालेको थियो।

महत्वपूर्ण खेलाडी
यसअघिका प्रशिक्षक पोपेटे गुइले स्पेनको मिडफिल्डमा फोकस गरेका थिए। यसै आधारमा स्पेनको मिडफिल्डलाई सन्तुलित बनाएका छन्। स्पेनको मिडफिल्ड निकै बलियो पनि छ। इस्कोले प्रभावशाली प्रर्दशन गर्दै आएका छन्। उनले विश्वकप छनोट चरणमा पाँच गोल गरेका थिए। केही समयअघि भएको अर्जेन्टिना विरुद्धको मैत्रीपूर्ण खेलमा उनले ≈याट्रिक गरेका थिए। विश्वपकमा पनि उनले उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ।

उत्कृष्ट प्रर्दशनः

विश्व विजेता,
विश्वकप २०१० (दक्षिण अफ्रिका)
क्याप्टेनः सजिर्यो रामोस
फिफा वरियता ः १०
सम्भावित फर्मेसन ः ४–३–३

इजिप्ट उरुग्वे पन्छाउने दाउमा

इजिप्ट अफ्रिकी महादेशबाट रुसमा पुगेको टोली हो। इजिप्टका स्टार खेलाडी मोहम्मद सालाहकै भरमा टोली रुसमा छनोट समेत भएको हो। इजिप्ट करिब तीन दशकपछि फेरि विश्वकप खेल्दै छ। टोलीको सबैभन्दा बलियो पक्ष भनेको लिभरपुलका स्ट्राइकर सालाह हुन्। दुर्भाग्यवश च्याम्पियन्स लिग फाइनल खेल दौरान काँधमा चोट बोकेपछि सालाहको खेल्ने वा नखेल्ने द्विविधा भइरहेको छ।

सालाहमाथि धेरै भर परेको हुँदा इजिप्टका लागि उरुग्वेलाई पन्छाउने दाउ सफल हुन सक्दैन। यदि सालाह खेले पनि उरुग्वेको खेलअगाडि इजिप्ट टिक्न नसक्ने पनि भनिएको छ। उरुग्वेका लागि एडिसन काभानी र लुइस सुआरेजले स्ट्राइकको जिम्मा हुनेछ। सुआरेज गोल गर्न जहिले तत्पर हुन्छन्। उनी हातैले समेत गोल गर्न तम्सन्छन्। विश्वकप २०१० मा घानाविरुद्ध उनले यस्तै अप्रिय कार्य गरेका थिए। ता पनि उनी सानदार खेलाडी हुन् र उनको उपस्थितिमा उरुग्वे बलियो नै हुनेछ।

मोरोक्कोसँग इरानको भिडन्त

स्पेन र पोर्चुगलबीच हुने खेलभन्दा अगाडि समूह बी को पहिलो खेलमा मोरोक्को र इरान भिँड्दै छन्। एसियाली टोली इरान र अफ्रिकी टोली मोरोक्कोका लागि यो खेल जितेर तीन अंक जोड्नु अतिआवश्यक छ। किनभने यसपछि यी दुबै टोलीले स्पेन र पोर्चुगलसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यसैले मोरोक्को र इरानले यो खेलमा आफ्नो क्षमताले भ्याएसम्म जितकै लागि खेल्ने तय छ।

इरानको आशा २३ वर्षीय स्ट्राइकर सरदार अजमौनमाथि छ। उनले इरानका लागि ३३ खेलमा २३ गोल गरेका छन्। त्यस्तै २५ वर्षीय मिडफिल्डर हकिम जीएच पनि टोलीका लागि भरपर्दा खेलाडी हुन्।

इरानको सबैभन्दा राम्रो नतिजा भनेको २० वर्षअघिको विश्वकपमा थियो। इरानले अमेरिकाविरुद्ध २–१ को मीठो जित निकालेको थियो। यसपछि विश्वकपमा खासै प्रभाव छोड्न नसकेको इरानले यसपटक केही राम्रो गर्ने आशा लिएको छ।

उता मोरोक्कोले रुससम्म यात्रा गर्न छनोट खेलमा गोल नै बेहोरेको थिएन। अघिल्ला १८ खेलमा हार भनेको नै देखेको छैन। यही आत्मविश्वासले पक्का छ कि आज हुने खेलमा मोरोक्कोले जित निकाल्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्