विश्वकपको महासंग्राम शुरू,पहिलो खेलमा रसियाको सानदार जित



फिरोज राजोपाध्याय, काठमाडौं

टबलको महाकुम्भ मानिएको फिफा विश्वकपले ढोका घचघच्याइसकेको छ। बिहीबार रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा भव्य उद्घाटनसँगै विश्वकपको २१औं संस्करण शुभारम्भ भएको हो। विश्वकप ट्रफी स्पेनका गोलकिपर इकेर कासिलासले सार्वजनिक गर्नुभएको थियो।

ब्राजिलका लिजेन्ड रोनाल्डोसमेत उपस्थित उद्घाटन समारोहमा फुटबलको आकारमा सजिएको मैदानमा ब्रिटिस पप गायक रोबी विलियम्स र आयोजक राष्ट्रकी गायिका एइडा गारिफुलिनाले गीत प्रस्तुत गरेका थिए। उद्घाटन खेलमा आयोजक रुसको सामना साउदी अरेबियासँग भएको थियो।उक्त खेलमा रसियाले साउदी अरेबियालाई ५–० ले पराजित गरेको थियो।

पहिलोपटक मध्य युरोपमा भएको विश्वकप फुटबलमा ३२ राष्ट्रका ७ सय ३६ जना खेलाडीले आफ्नो राष्ट्रलाई विजयी बनाउन तँछाडमछाड गर्नेछन्। रुसमा एक महिनासम्म चल्ने विश्वकपमा ६४ खेल सञ्चालन हुनेछ। यसपटक जर्मनीले उपाधि रक्षा गर्न कोशिस गर्नेछ भने स्पेनले सन् २०१० को विश्वकपपछि पुनः उपाधि हात पार्ने प्रयासमा हुनेछ।

ब्राजिल र अर्जेन्टिनाले भने युरोपबाट दक्षिण अमेरिकामा उपाधि लैजाने लक्ष्य राख्नेछन्। २००२ विश्वकप ब्राजिलले जितेपछि लगातार तीन संस्करण युरोपियन राष्ट्रले उपाधि जितेका छन्। २००६ विश्वकपमा इटाली विजेता बनेको थियो। यसपटक भने इटाली छनोट हुन सकेन।
विश्वकपमा पहिलोपटक सहभागी टोलीमा पानामा र आइसल्यान्ड रहेका छन्। यी नवोदित टोलीले विश्वकपमा कस्तो प्रभाव पार्नेछन् त्यो खेलपछि नै थाहा हुनेछ। तर, आइसल्यान्डलाई भने अन्डर डग टोलीका रूपमा हेरिएको छ।

यसको खास कारण २ वर्षअघि फ्रान्समा भएको युरोकपमा आइसल्यान्डले १९६६ विश्वकपको विजेता इंग्ल्यान्डलाई हराएर इतिहास रचेको थियो।

आइसल्यान्ड मात्र ३ लाख ३० हजार जनसंख्या रहेको सानो देश हो। यति जनघनत्व भएको देशले अहिले सारा संसारलाई चकित बनाइरहेको छ। यदि विश्वकपमा एउटा मात्रै स्तब्ध नतिजा निकाल्न सकेमा आइसल्यान्डले विश्वकप जितेसरह हुने पनि बताइएको छ।

यो विश्वकपमा राजधानी मस्कोसहित ११ शहरका १२ स्टेडियममा खेलहरू सञ्चालन हुनेछन्। मस्कोमा लुजनिकी र अकृति एरेना गरी दुई स्टेडियम छन् भने अन्यमा एक–एक स्टेडियम रहेका छन्। लुजनिकी स्टेडियममा उद्घाटन खेलसहित फाइनल खेल पनि हुनेछ।

यस विश्वकपमा भीएआर प्रविधि प्रयोग गर्न लागिएको छ। भीएआर अर्थात् भिडियो एसिस्टेन्ड रेफ्री। भीएआरको प्रयोगले विश्वकपमा कुनै पनि टोलीले निराश बन्नु नपर्ने र खेल फेयर हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वास गरेका छन्। यसअघि क्लब वल्र्ड कप (२०१६) र कन्फेडेरसन कप (२०१७) मा भीएआर प्रविधि प्रयोग भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्