आजदेखि शुरु हुँदै विश्वकप फुटबलको महासंग्राम



काठमाडौँ ।  विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि रुसमा सुरु हुँदैछ । ३२ राष्ट्रबीच हुने भिडन्त एक महिना चल्नेछ ।

यसपटकको विश्वकपमा सुरक्षा चुनौती सबैभन्दा बढी रहेको छ । विश्वकपको उद्घाटन राति ८ः१५ देखि सुरु हुने र उद्घाटन खेल रुस र साउदी अरेबियाबीच मस्कोस्थित लुजनिगी रंगशालामा हुनेछ ।

३२ टिमबीच भिडन्त

अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ। विश्वकपमा ६४ खेल हुनेछन् । ३२ दिनसम्म चल्नेछ । जर्मनी साविक विजेता हो ।

विश्वकपसँग जुधिएका कुराहरु

रुसमा हुने विश्वकप २१ औं संस्करणको प्रतियोगिता हो । ३२ राष्ट्रले विश्वकप ट्रफी जित्न जुन १४ देखि जुलाई १४ सम्म प्रतिस्पर्धा गर्नेछ । यसै सन्दर्भमा यो विश्वकपसँग जुधेका केही तथ्यहरु प्रस्तुत गरिएको छ ।

—पहिलो क्वालिफायर खेल १२ मार्च २०१५ मा पूर्वी टिमोर र मंगोलियाबीच खेलिएको थियो । पूर्वी टिमोरले ५–१ ले खेल जित्यो तर पछि पता लाग्यो कि यो टोलीले अयोग्य खेलाडीलाई खेल्न दिएको थियो । टिमोर जितेर पनि हा¥यो र मंगोलियालाई विजेता घोषित गरियो । यो निर्णय आउन धेरै ढिला भइसकेको थियो । निर्णय आउँदासम्म टिमोर धेरै अगाडि पुगिसकेको थियो । यस्तोमा मंगोलियाको पक्षमा निर्णय भएपनि केही काम लागेन ।

—यस पटक विश्वकपमा कूल ३२ टोली छन् । तर आगामी २०२६ विश्वकपदेखि ४८ टोली प्रतियोगितामा सहभागिता हुनेछन् ।

—आइसल्यान्ड र पानामा विश्वकपमा पहिलो पटक खेल्न गइरहेका छन् । पानामाले विश्वकपमा छनोट भएपछि त्यही दिन ११ अक्टोबरमा देसमा राष्ट्रिय विदा दिइएको थियो ।

—ब्राजिल छैटो उपाधि जित्नतिर लागेको छ भने जर्मनी लगातार दुई विश्वकपमा विजेता बन्ने अभियानमा छ । यदि जितेमा ब्राजिल (१९५८ र १९६२) तथा इटाली (१९३४ र १९३८) सँगै जर्मनी दुई लगातार विश्वकप जित्ने तेस्रो टोली बन्नेछ ।

—जर्मनी पछिल्ला तीन विश्वकपमा सबैभन्दा बढी धेरै गोल गर्ने देश हो । जर्मनीले २००६ मा १४ गोल, २०१० मा १६ गोल र २०१४ मा १८ गोल गरेको थियो ।

—रुसका ओलेग सोलेन्को विश्वकपमा एकै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले १९९४ विश्वकपमा क्यामरुनविरुद्ध पाँच गोल गरेका थिए ।
—पछिल्लो विश्वकप २०१४ (ब्राजिलमा भएको) मा ३.२ अर्ब जनाले हेरेका थिए । यो विश्वको जनसंख्याको आधी संख्या हो ।

—जति पनि देशले विश्वकप जिते उनका प्रशिक्षक त्यहीका देशका हुन् ।

—सोभियत संघ विघटनपछि रुस विश्वकपमा कहिल्यै दोस्रो चरणमा पुगेको छैन । यस पटक घरेलु भुमि र सजिलो समूहमा परेकोले दोस्रो चरण पुग्ने अनुमान गरिएको छ ।

—एशियाबाट दक्षिण कोरियाले १० औं पटक विश्वकप खेल्न गइरहेको छ । एसियाली राष्ट्रका कुनै पनि फुटबल टोलीले यतिका संख्यामा विश्वकपमा छनोट भएको छैन ।

—आईसल्यान्ड विश्वकपमा छनोट गर्ने सबैभन्दा कम जनघनत्व भएको सानो देश हो । यहाँको कूल जनसंख्या ३ लाख ३४ हजार मात्रै छ । जनसंख्याको आकारले केही मायना राख्दैन भनेर आईसल्यान्डले सावित गरेको छ । यो नेपालको लागि चुनौती पनि हो ।

—१९५८ पछि पहिलो पटक इटालीले विश्वकपमा खेल्न पाएन । इटाली चार पटकको विश्व विजेता टोली हो । त्यस्तै १९८६ पछि अमेरिकाले पनि विश्वकपमा छनोट हुन पाएन ।

—यो विश्वकप मध्य युरोपमा भएकोले खेलहरु युरोप र एसिया दुबै महादेसमा आयोजना हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्