रक्तदान अभियानमा सबै पक्षबीच हातेमालो जरुरी



राजेश बोगटी
रगतको समूह पत्ता लगाएर नोवेल पुरस्कार प्राप्त गर्नु भएका डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिनको उपलक्ष्यमा सन् २००४ देखि हरेक बर्ष अंग्रेजी महिनाको जुन १४मा विश्व रक्तदाता दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा रक्तदातालाई सम्मान र अन्य विविध कार्यक्रम गर्ने गरिन्छ । नेपालमा पनि रक्तदान अभियानसँग सरोकार राख्ने विभिन्न निकायले दिवसमा विविध कार्यक्रम आयोजना गर्दै आएका छन् । रक्तदान गर्ने संस्थाको छाता संगठनको रुपमा रहेको ‘ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान)’ ले हरेक बर्ष यसै दिन रक्तदाताहरुलाई ‘डोनर पीन’ बाट सम्मान गर्दै आएको छ ।

१ सय पटक रक्तदान गर्ने दातालाई डायमण्ड पीन, महिला २५ पटक, नेगेटिभ समूह (महिला पुरुष दुवै) २५ पटक र पोजेटिभ रक्त समूहका पुरुष रक्तदाताले ५० पटक रक्तदान गरेपश्चात गोल्डन पीनबाट सम्मानित गरिन्छ । त्यसैगरी महिला १० पटक, नेगेटिभ समूह (महिला पुरुष दुवै) १० पटक र पोजेटिभ रक्त समूहको पुरुष रक्तदाताले २५ पटक रक्तदान गरेबापत सिल्भर पीनले सम्मान गर्ने गरिन्छ । यससँगै रक्तदान गर्ने संघसंस्थाहरुलाई भने विभिन्न विधामा रनिङ्ग शिल्ड प्रदान गरि सम्मान गर्दै आइरहेको छ । यस्तै सम्मानका कारण आम सर्वसाधारण र अन्य संघ÷संस्थालाई रक्तदानको नियमित अभियानमा जुट्न उत्प्रेरित गरेको छ ।

नेपालको रक्तदानको इतिहासलाई हेर्ने हो भने समाजसेवी दयावीर कंसकारले पहिलो पटक वि.सं. २००० सालमा रक्तदान गर्नु भएको स्मरण गरिन्छ । त्यसैगरी नेपालमा पहिलोपटक वि.सं. २०२३ श्रावण १२ गते नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवाको स्थापना गरेपछि रक्त संचार सेवा प्रारम्भ भएको थियो । प्रारम्भमा काठमाडौंमा मात्र सञ्चालित उक्त रक्त सेवाले एक वर्षको अवधिमा जम्मा १ सय ५७ यूनिट मात्र रगत संकलन गरेको थियो । अहिले नेपाल रक्तसञ्चारको सेवा ७३ जिल्लामा विस्तार भएको छ । जसमा केन्द्रिय रक्त संचार सेवा लगायत ५ क्षेत्रीय रक्त संचार केन्द्र, २२ जिल्ला रक्त संचार केन्द्र, ४२ आकस्मिक रक्त संचार केन्द्र र ३६ अस्पताल इकाइ सञ्चालनमा छन् ।

नेपाल रेडक्रस सोसाइटीले आ.ब. २०७३÷०७४ मा २ लाख ३६ हजार ७ सय ९९ युनिट रगत संकलन गरीे रगतको विभिन्न कम्पोनेन्टहरु समेत गरि ३ लाख ३७ हजार ३ सय २१ युनिट रगत वितरण गरेको छ । केन्द्रीय रक्त संचार सेवाको तथ्याकं अनुसार सबैभन्दा बढि रगत संकलन र खपत हुने काठमाडौंमा केन्द्रीय रक्त संचार सेवाले २०५५÷५६ मा ९५ प्रतिशत सम्म स्वयसेवीबाट रगत संकलन गर्न सफल भएको थियो । यद्यपी २०६७÷०६८ मा आइपुग्दा स्वयसेवी रक्तदाताबाट ८९ प्रतिशत रगत स्वयसेवी रक्तदाताहरुबाट रगत संकलन भएको देखिन्छ । काठमाडांैं उपत्यकामा आ.ब. २०७३÷०७४ मा ६५,४६० युनिट रगत संकलन भएकोमा २१ प्रतिशत रगत शोधभर्नाबाट संकलन भएको छ । यहा सोचनीय प्रश्न के छ भने नेपालमा रगत किनबेचमा प्रतिवन्ध लाग्नु अघि वि.सं.२०३८ सम्ममा मजदुर भरिया लगायतले पैसा लिएर आफ्नो शरिरको रगत दिने गरेका थिए । सो परिस्थितिलाई चिर्दै अहिले ९५ प्रतिशत सम्म स्वंयसेवीबाट रक्तदान हुदै आएको छ ।

रक्तदानको विकसित अवस्था प्रतिकुल बन्दै रक्तदानमा शोधभर्नाको प्रतिशत हरेक बर्ष बढ्दै जाने हो भने शोधभर्नाको नाममा रगतको पुनः पुरानै किसिमले किनबेचको अवस्थामा नफर्किएला भन्न सकिन्न । अझ थप विचरणीय के छ भने उल्लिखित तथ्यांकले केबल काठमामाडौं उपत्यकाको मात्र प्रतिनिधित्व गर्दछ । जबकी मोफसलका केहि सुगम जिल्लालाई छाडेर हेर्दा प्रायः सबै जिल्लाहरुमा अत्यधिक मात्रामा शोधभर्नाबाट रगतको माग पूर्ति हुदै आएको छ । यसले के संकेत गर्छ भने स्वयसेवी रक्तदान अभियानमा शोधभर्नाको बृद्धि चुनौतीपुर्ण रुपमा अघि आएको छ भने नेपालको स्वयसेवी रक्तदानको अभियान अझैपनि खतरा क्षेत्रबाट गुज्रिरहेको छ ।

 

नेपालको राष्ट्रिय रक्त कार्यक्रम सरकार, रक्तसञ्चार केन्द्र र रक्तदाताहरुबीचको त्रिकोणात्मक सम्बन्ध र सहकार्यमा अगाडि बढेको छ । तर एकातर्फ रक्तदातासंग सम्बन्धीत उत्प्रेरणात्मक गतिविधी र रक्तदान गर्ने संस्थालाई रक्तदान कार्यक्रम आयोजनामा हुनुपर्ने सहयोगमा भने कसैको चासो र चिन्ता नदेखिनु दुर्भाग्पुर्ण रहेको छ ।

 

अर्कोतर्फ सम्बन्धीत निकायहरुले संकलित रगतको सहि ब्यवस्थापन नगर्दा समेत राष्ट्रिय रक्त कार्यक्रमलाई उधोदिशा तर्फ लग्न सहयोग पु¥याइरहेको छ । यद्यपी गत बर्ष काठमाडौं उपत्यकामा १ हजार १ सय २५ र देशभर ३ हजार ७ सय ५३ वटा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको तथ्यांक छ ।

तथ्यांकले यस्तो देखाइरहदा रक्तदान गर्ने संस्थाहरुको तथा रक्तदाताहरुको निःस्वार्थ योगदान अतिनै प्रशसनिय र सम्मानजनक रहेको छ । त्यसैगरि सरकारको उपस्थिति अपेक्षित भन्दा न्युन हुनुले पनि राष्ट्रिय रक्त कार्यक्रमको विकासलाई प्रतिकुल असर परिरहेको छ भन्दा अन्यथा नहोला ।

हाल अस्पतालको संख्यामा भएको बृद्धि र प्रविधिमा भएको विकाससँगै सरकारले राष्ट्रिय रक्त कार्यक्रम सम्बन्धी ठोस निति बनाई तथा सोको सहि कार्यान्वयनमा आफुलाई शसक्त रुपमा उभ्याउनु ढिलो भइसकेको छ ।

सरकारले रगतको व्यवस्थापनमा संलग्न निकायमाथि आवश्यकता बमोजिम हस्तक्षेपकारी र नियमनकारी भूमिकामा समेत प्रस्तुत हुनु अपरिहार्य भएको छ । सरकारले वि.स. २०५० सालमा राष्ट्रिय रक्त सञ्चार निति तथा सोको संसोधन २०६३ लागु गरि कार्यान्वयन गरकोमा हाल राष्ट्रिय रक्त सञ्चार निति २०७१ कार्यान्वयनमा छ । सोही नितिले निदिृष्ट गरेबमोजिम राष्ट्रिय निर्देशक समिति, राष्ट्रिय प्राविधिक सल्लाहकार समिति, रक्त सञ्चार व्यूरो निकायहरु गठन भई कार्य गरिरहेको छ । तर उक्त निकायहरुबाट अपेक्षित रुपमा काम भने हुन सकिरहेको छैन ।

परिणाम स्वरुप एकातिर रगतका आवश्यक विरामीले सरल ढंगबाट रगत प्राप्त गर्न नसकिरहेको अवस्था रहेको छ भने अर्कोतिर रक्तदाताहरुमा रक्तदानको भावनामा उत्प्रेरणाको कमी देखिन थालेको छ । त्यसैगरीे रगतको ब्यवस्थापनको जिम्मा लिएका निकायहरुले पनि सहि ढंगले जिम्मेवरी पुरा गरेको जस्तो देखिदैन । फलतः हरेक बर्ष रक्तदानमा शोधभर्नाको प्रतिशत बढ्दो अवस्थामा रहेको छ, जुन रक्तदानसंग सरोकार पक्षहरुको लागि चिन्ताको बिषय बनेको छ ।

यसको बावजुद पछिल्लो समयमा राष्ट्रिय रक्त कार्यक्रममा सरकारको चासो केहि बढेको देखिनु र रक्त सञ्चार सम्बन्धी छुट्टै कानून ल्याउने कार्यमा अग्रसरता देखिनु प्रशंसनिय नै रहेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वमै सम्पुर्ण रगत स्वेच्छिक अवैतनिक रक्तदान मार्फत संकलन गरि आपुर्ति सुनिश्चित गर्ने लक्ष्य लिएको छ । सोहि अनुरुप नेपालले पनि शत् प्रतिशन विना शोधभर्ना सुरक्षित रगत संकलन र आपुर्तिको लागि राष्ट्रिय रक्त कार्यक्रमका विभिन्न पक्षहरुबीच हातेमालो गरी अगाडी बढ्नुपर्ने अपरिहार्य रहेको छ ।

(लेखक ब्लोदानका केन्द्रिय सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्