मदनकृष्ण श्रेष्ठको दर्शन नेपालको सडकजस्तै छ जीवन



नरेन्द्र केसी, घोराही, दाङ

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ जति दर्शकलाई हसाउँछन्, जीवन दर्शनका कुरा गर्दा त्यति भावुक र गम्भीर पनि बनाइदिन्छन्। दाङको तुलसीपुर साहित्य उत्सवमा श्रेष्ठले जीवन दर्शनका कुरा गरेर सबैलाई भावुक बनाइदिए। आफ्ना रचना र अभिनयका आधारभूमि प्रष्ट्याउने प्रयास पनि उनले गरे।

‘धेरैलाई लाग्छ रंगमञ्च र वास्तविक जीवन फरक हो’, उपन्यासकार अमर न्यौपानेसँग गफिँदै श्रेष्ठले भने– ‘तर मेरो बुझाइमा रंगमञ्च र वास्तविक जीवनमा धेरै मेल खान्छ। सुख, दुःख, अँध्यारो, उज्यालो, उकाली, ओराली यस्तै–यस्तै हो जीवन।’ मानव जीवनलाई नेपालको सडकको बिम्बका रूपमा प्रयोग गर्दै उनले भने– ‘साँच्चै भन्नुहुन्छ भने मान्छेको जीवन नेपालको सडकजस्तै छ। कतै सीधा, चिल्लो, कालोपत्रे अनि कतै उकालो, ओरालो र खाल्डाखुल्डी।’

हरेक प्रगतिमा मानिसलाई सन्तुष्टि हुने भए पनि त्यो क्षणिक हुने श्रेष्ठले चर्चा गरे। ‘नत्र त बाँकी प्रगति त्यसैमा हराउँछ’ –उनले मुस्कुराउँदै भने। कसैसँग रिसाउनु आफैंलाई सजाय दिनु हो भन्ने मान्यता राख्ने कलाकार श्रेष्ठले प्रश्न गर्दै थिए– ‘एक त हामीलाई अरूले दिने सजायले पिरोलिरहेको हुन्छ, त्यसमा तपाईं आफैंलाई सजाय दिएर किन थप पिरोलिनुहुन्छ?’ कसैले साँचो कुरा छोप्न खोजे पनि नछोपिने र गलत ढाक्न खोजे पनि नढाकिने भएकाले अनावश्यक रिसाएर छोटो जीवनमा लामो तनाब बेहोर्नु आवश्यक नहुने उनको मान्यता छ।

तुलसीपुरमा शनिबारदेखि शुरू भएको बृहत् साहित्य उत्सव आइतबार सकिएको छ। समावेशी विकास, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि साहित्य भन्ने मूल नाराका साथ उत्सव सञ्चालन भएको हो।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विकास भौतिक पूर्वाधार मात्र नभई कला संस्कृति पनि विकासको पाटो भएकाले यो कार्यक्रम गरिएको बताए। श्रम र सम्पदामा आधारित समृद्धिको ढोका खोल्न यो कार्यक्रम गरिएको भन्दै उनले तुलसीपुरलाई बहुसांस्कृतिक केन्द्र बनाउन आफूहरू योजनाबद्ध विकासमा लाग्ने बताए। उत्सवमा विभिन्न विषयमा अन्तरसंवाद गरिएको छ। ‘अक्षरमा दुःख’ विषयमा मदनकृष्ण श्रेष्ठसँग उपन्यासकार अमर न्यौपानेले संवाद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्