वन फडानी रोक्न प्रदेश साँसदको निर्देशन



सोम दियाली, सर्लाही ।
जिल्ला वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा व्यापक वन फडानी गरेको गुनासो आएपछि जनप्रतिनिधी र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरुले सो वन क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

वैज्ञानिक वन व्यवस्थापनको नाउँमा वन कार्यालयले जानकीनगर साझेदारी वन क्षेत्रमा साल, हाडे, बाजी, हर्रो लगायतका लोपोन्मुख जातका रुख समेत मेलै सित काटेको स्थानीयले गुनासो गरेपछि सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिपुर नगरपालिकाका मेयर जमरुद्धीन मंसुर, हरिवनका गणेश प्रसाई, बरहथवाका देवानन्द महतो, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय महासचिव भारती पाठक, सचिव वृष वहादुर शाही, सचिवालय सदस्य भरत घले, ठाकुर भण्डारी, स्थानीय समाजसेवीहरु चुडामणि वाग्ले, विदुर प्याकुरेल, पत्रकार लगायतको टोलीले वन क्षेत्रको स्थलगत अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा वन कार्यालयले वैज्ञानिक वन व्यवस्थापनको नाममा जथाभावी आफुखुशि वन फडानी गर्न नमिल्ने भन्दै तुरुन्त कटान रोक्न प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीले निर्देशन दिए । प्रदेश साँसद उप्रेतीले –“ अहिले सिंह दरवारको अधिकार गाउँ गाउँ सम्म आई सकेको छ, प्रदेश सरकार छ, स्थानीय सरकार छन् । वन कार्यलयले उनीहरुसँग समन्वय गर्नु पर्दैन ?” । प्रश्न गर्दै भनरे, “ उपभोक्ताले जोगाएका वन उनीहरुले नकाट भन्दा भन्दै पनि वन कार्यालयले जवरजस्ती आह्रा लगाउने ? यो गलत छ यसलाई तुरुन्त बन्द गर्नु पछ” ।

त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले आफुहरुले पटक पटक आग्रह गर्दा पनि वन कार्यालयले आफुखुशि कटान सुरु गरेको बताए । उनले वैज्ञानिक वन व्यवस्थापनको निति ठीक भए पनि जिल्ला वनको नियत ठिक नभएकोले रुख कटान तुरुन्त रोकिनु पर्ने बताए । त्यस्तै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले उपभोक्ताको चाहाना विपरीत वन कार्यालय कहिल्यै जान नमिल्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ(फेकोपन)का केन्द्रीय सचिवालय सदस्य ठाकुर भण्डारीले विकसित राष्ट्रमा समेत असफल भएको वैज्ञानिक वन व्यवस्थपन नेपालमा सफल हुन नसक्ने बताए । उनले बुढो पुरानो रुख काट्ने योजना भए पनि वन कार्यालयहरुले राम्रा रुख छानी छानी काट्ने गरेकै कारण वैज्ञानिक वन व्यवस्थापन फेल भएको बताए ।

जिल्ला वन कार्यालय सर्लाहीका वन अधिकृत नरेश ठाकुरका अनुसार जानकीनगर साझेदारी वन, फुलजोर वावा साझेदारी वन सहित जिल्लाका अन्य सामुदायिक वनहरुमा समेत वैज्ञानिक वन व्यवस्थापनका लागि बुढा पुराना रुख काटिने योजना छ । उनका अनुसार नेपालमा वैज्ञानिक वन व्यवस्थापन गर्न सकिए वर्षेनी १२ करोट क्यूफिट काठ उत्पादन गर्न सकिने दावी छ । उनले अहिले नेपालमा वैज्ञानिक वन व्यवस्थापन नभएकै कारण वर्षेनी ३५ लाख क्यूफिट काठ मलेसिया लगाएको देशबाट भित्रिने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्