लगानीकर्ता आन्दोलित भएको साता नेप्सेमा १६ अंकको गिरावट



काठमाडौं, (नेस)
हकप्रद र बोनस शेयरमा अग्रिम कर लगाउने विषयका कारण लगानीकर्ताले आन्दोलन गरेको साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशलमव ८८ अंकले घटेर अन्तिम दिन १ हजार २ सय ५७ दशमलव ७ अंक कायम भएको छ। यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीको कारोबार भएको छ। जसअनुसार २० हजार ६ सय ६२ कारोबारबाट १ अर्ब ६८ करोड ४५ लाख ६ हजार रुपियाँ बराबरका ४० लाख २६ हजार आठ सय १० कित्ता शेयर खरिद बिक्री भएका छन्।

कारोबार रकम गत साताको भन्दा १९ दशमलव ३० प्रतिशत कम हो। गत साता १ सय ८३ कम्पनीको कारोबार भएको थियो। जसअनुसार २३ हजार ५ सय ४८ कारोबारबाट २ अर्ब ८ करोड ७३ लाख ५१ हजार रुपियाँबराबरका ४७ लाख ४४ हजार ८ सय १० कित्ता शेयर खरिद बिक्री भएका थिए। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशलमव ७३ अंकले घटेर २ सय ६४ दशलमव ४६ अंक कायम भएको छ।

यस साता कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबार संख्याका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ। मेगा बैंकको ४ लाख ७ हजार कित्ता शेयर १ हजार ३ सय ९२ पटक खरिद बिक्री हँुदा ७ करोड २७ लाख ८० हजार रुपियाँ बराबरको कारोबार भएको छ। त्यसैगरी कारोबार रहमका आधारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड संस्थापक दोस्रो स्थानमा देखिएको छ। बीमा कम्पनीको ६ करोड ७३ लाख रुपियाँ बराबरको कारोबार भएको छ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो भने यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन। शेयर सूचीकरणतर्फ नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको ६० कित्ता साधारण शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्