युद्धग्रस्त कंगोको दुर्दशा



शरद श्रेष्ठ
सरकारी सेवामा आफ्नो छवि र खुबी देखाउँदै संसारका विभिन्न भूभाग घुम्न पाएका र त्यहाँको अनुभूति टिप्दै पुस्तक प्रकाशन गर्न भ्याएका भाग्यमानी लेखकका रूपमा रामप्रसाद पन्त परिचित छन्। हालै मात्र पनि यिनले रक्षा मन्त्रालयअन्तर्गत भएर शान्ति सेनासँग अफ्रिकाका केही भूभाग घुम्न पाउँदाका यात्रा–संस्मरण ‘रातको जून’ मा समेटिएका छन्। हिन्द महासागरको आकाशबाट ४२५ सेनाको अगुवाइ गरेर यिनी कङ्गोको युद्ध मोर्चा पुग्दाका क्षणहरूको स्मरण गरेको देखिन्छ ‘रातको जून’ नियात्रामा।

अफ्रिकाको कङ्गोमा यिनले भयानक जातीय युद्ध देखे। युद्धबाट क्षतविक्षत भएकै कारणले अथाह धनी देश हुन सकिने सम्भावना भएको राष्ट्र कंगोको दुर्दशाको चित्रण यस पुस्तकमा केही नलुकाईकन आफूले जे देखे त्यही लेखेका छन्। जातीय द्वन्द्व कति भयानक हुँदो रहेछ, उनी द्वन्द्वग्रस्त क्षेत्रको रूपरङ्ग देखेर आफ्नो देशमा पनि जातीय द्वन्द्व होला कि भनी शङ्का गर्दै लेख्छन्– ‘जातीयताको कुरा उठ्दा मलाई डर लाग्दै छ, हाम्रो देशमा पनि त्यसकै सूत्रपात हुन लागेको त होइन ?’ कङ्गो र युगान्डाका केही प्रसङ्गहरू समेटिएको यस ‘रातको जून’ मा नियात्राकार रामप्रसाद पन्तले ‘पेनिस्कस’ मानिससँग मिल्दो जनावरको चर्चा गर्दै लेख्छन्– ‘यसका ९८ प्रतिशत डीएएन मानिसँग मिल्दा रहेछन्। त्यसले मानिसले दिएका परिकारहरूलाई मिलाएर थालमा मुछ्थ्यो र खान्थ्यो। दुई हातले भाँडो समातेर पानी पिउँथ्यो। सलाई कोरेर चुरोट सल्काउँथ्यो र खान्थ्यो। हामी हाँस्दा दाँत देखाएर हाँस्थ्यो। नमस्कार गर्दा दुई हात जोडेर नमस्कार फर्काउँथ्यो।’

कङ्गो–भूमिको चर्चा गर्दै यिनी लेख्छन्– ‘आकारमा भारतकै समता राख्ने कङ्गो नेपालभन्दा २३ गुना ठूला रहेछ।’ विगतका कथाहरू सुन्दै यिनी लेख्छन्– ‘हेर्नोस् त भित्तामा प्वालहरू। तीन महिनाअघि सरकारी सेना मिलिसियाबीच फायरिङ हुँदा लागेका गोलीका प्वालहरू।’ त्यस बेला हजारौं जनता शरणार्थीको रूपमा हाम्रो क्पाम्पभित्र छिरे। हामीले झन्डै १७ सय जनालाई राख्यौं। बिस्कुट, पाउरोटी खान दियौं। स्थिति साम्य हुँदै गएपछि क्रमशः उनीहरू बाहिरिँदै गए।

जातीय युद्धको मारमा परेको कङ्गोमा आफ्नो खालका युद्धका नियमहरू रहेको चर्चा यसरी गरेका छन्– ‘तिनीहरूले झुक्याएर कसैलाई पनि मार्दैनन् र रातिमा पनि युद्ध गर्दैनन्। उज्यालो भएपछि युद्धको उद्घोष हुन्छ बन्दुकको नालबाट। टाढैबाट दुवै पक्षबीच फायरिङ हुन्छ। फौज अघि बढ्दै जान्छ। तर जब एउटा फौज पछि हट्छ र बन्दुकको आवाज रोकिन्छ, युद्ध सकिन्छ। लखेटी–लखेटी मरिँदैन कसैलाई। युद्ध लामो चल्यो भने अँध्यारो भएपछि युद्ध स्वतः समाप्त हुन्छ।’ भूमि अनौठो। मानिसको चालढाल बेग्लै खालको। गर्भगृहमा अथाह खनिज पदार्थहरू सुन, चाँदी, हीरा, मोति, डायमन्ड, युरेनियम, चमकदार पत्थर, तेल पाइने धनी देश हुने सम्भावना भएको देश भए पनि युद्धले आक्रान्त कङ्गोको माया लाग्दो अनुहार छाम्न पाइन्छ यस पुस्तकमा।

अनौठा–अनौठा लाग्दा चालचलनहरू। मोटरसाइकल र साइकल पनि ट्याक्सीका रूपमा सञ्चालन हुने रहेछ त्यस ठाउँमा। उनीहरू फट्याङ्ग्रा र मुसा सबैभन्दा मीठो खाना सम्झेर खाँदा रहेछन्। यस्तै खालका थुप्रै आश्चर्य लाग्दा चलनहरूको यस पुस्तकमा चर्चा भएको छ। संसारबाट अलग्गै जस्तो देखिँदो अफ्रिकाको केही भूभागको र त्यहाँको स्थिति, जनताका मनोदशाहरू छर्लङ्ग बुझ्न पाइने सानो खालको परिचयको पुस्तकजस्तो छ यो पुस्तक। अफ्रिकाको साधारण परिचय दिन सफल पुस्तकका लागि लेखकलाई धन्यवाद छ।

प्रतिक्रिया दिनुहोस्