“तथाकथित”का सस्ता बिल्ला



मोहन दुवाल
थाकथित’ हुँ म उनीहरूको आँखामा, त्यस्तै मेरो आँखामा उनीहरू ‘तथाकथित’ हुन्। केही गर्नेहरूले केही नगर्नेहरूलाई ‘तथाकथित’ देख्छन्। केही नगर्नेहरूले केही गर्नेहरूलाई पनि ‘तथाकथित’ भन्दा रहेछन्। पार्टीका कार्यकर्ताहरूदेखि पार्टीमा संलग्न नभएका स्वतन्त्रहरूसम्म एक–अर्कालाई ‘तथाकथित’का बिल्लाहरू लगाइदिँदा रहेछन्। ‘तथाकथित’का यी यावत् शब्द–विम्बहरू हेरेर म आफैंमा दङ्ग परिरहेछु।
रामका लागि रावण ‘तथाकथित’। रावणका लागि रामलगायत उनका अनुयायीहरू सबै ‘तथाकथित’। राजा ज्ञानेन्द्रका लागि दलका नेताहरू ‘तथाकथित’। नेताहरू भनिरहेछन्– ज्ञानेन्द्र पो ‘तथाकथित’। आफूलाई मन नपर्नेहरू त हुन्– ‘तथाकथित’हरू। म सानैदेखि अलिक प्रगति रुचाउने विद्रोही स्वभावको केटा। त्यसताका समाजका ठूलाबडा भनाउँदाहरूका लागि म फुच्चे ‘तथाकथित’। त्यस्तै मेरो दृष्टि र विचारमा ती ठूलाबडा भनाउँदाहरू मेरा मनभित्रका घिनलाग्दा ‘तथाकथित’।

कसैका लागि कोही भइदिने हो, कसैका लागि केही गरिदिने हो, त्यस्तै गरी आफू सक्दो केही गर्दै जाने हो। मान्छे बन्न र भनाउनका लागि यस्तै खालका थुपै्र कार्यहरू गरिजानुपर्छ। नत्र मान्छेकै लागि मान्छेहरू ‘तथाकथित’। मान्छेकै उत्पत्तिकालदेखि मान्छेको अहिलेको विज्ञानको उत्कर्ष कालसम्म थुपै्रका आँखाहरूभित्र थुपै्र खालका ‘तथाकथित’हरू जन्मे। यी ‘तथाकथित’हरू नै त हुन् इतिहासका जीजिविषाहरू।
मैले जीवनमा धेरै खालका थुपै्र अनुभूतिहरू बटुल्न पाएको छु। कार्यक्षेत्रमा खटिँदा, काममा लाग्दा, परिवर्तनका लागि सोच्दा समाजका थुपै्र खालका ‘तथाकथित’हरूबाट आँखाको कसिङ्गर बन्नुपर्दाका घटनाहरू बिर्सिनसक्नु खालका छन्। पुस्तकालय वाचनालय खोल्न खोज्दा यी कार्यहरूलाई बकम्फुसे कार्य सम्झिनेहरूले मलाई ‘तथाकथित’ भन्दै लखेटिरहे। तर पनि म कहिल्यै पनि ती ‘तथाकथित’हरूबाट भागेर सामाजिक कार्यबाट पलायन भइनँ। मैले जानेर कविता पढें, कविता खोजें र कविता लेखें। मेरा कविताहरू समाजका ठूलाबडाहरूका लागि ‘तथाकथित’ भइदिए र ‘तथाकथित’हरूका आँखामा पोल्ने काँडाजस्तै देखिए। मैले लेखिरहें कविताहरू। मैले देखिरहें कविताहरू। मैले खोजिरहें कविताहरू। मेरो कवित्वलाई कसैले ‘तथाकथित’ भनिदिए त कसैले ‘तथाकथित’ सम्झेर तिरस्कार गरिरहे। तर पनि मैले कविता लेखिरहें। आजपर्यन्तसम्म पनि लेखिरहें।

बनेपामा क्याम्पस खोल्ने सोच बोकेर केही साथीहरूसँग लागियो। करिब ३८ वर्षअगाडि काभ्रे क्याम्पस स्थापना गर्नका लागि ठाउँ–ठाउँमा सोर्स खोज्दै कँदिरह्यौं। पञ्चहरूका लागि हामी क्याम्पस खोल्न चाहने युवाहरू ‘तथाकथित’। प्रधानपञ्चका लागि हामी राता ‘तथाकथित’। थुपै्र ठाउँमा, थुपै्र नाउँहरूले हाम्रा विरुद्ध लगाइदिए बिल्ला र भनिदिए ‘तथाकथित’। पूर्वमा नै क्याम्पस नहुँदा पूर्वको व्यापारिक नगर बनेपामा क्याम्पस संस्थापन गर्ने हाम्रो अभियानमा हामीलाई मन नपराउने ‘तथाकथित’हरूले भनिदिए– ‘कम्युनिस्ट तथाकथित’। तर पनि हामी लागिरह्यौं सुन्दर बाटो कल्पेर क्याम्पस बनाउने कुरोमा। ‘तथाकथित’ भन्नेहरू कता–कता बिलाए, थाहा भएन, हाम्रा नजरमा उनीहरू भइरहे ‘तथाकिथत’।

थुपै्र बाटाहरू हिँडें, थुपै्र उद्देश्यहरू चुमें तर समाज, देश र जनमनकै उत्थान र प्रगतिका लागि कुदिरह्यौं। तर बाटाहरूमा हिँड्दाहिँड्दै मलाई भर नदेख्नेहरू, मलाई मन नपराउनेहरूले भनिरहे– ‘तथाकथित’। थुपै्र उद्देश्यहरू मनमा साँचेर हिडिरह्यौं। मेरो मन र उद्देश्य नबुझ्नेहरूले भनिरहे मलाई– ‘तथाकथित’। मलाई विश्वास नगर्नेहरू, मलाई देखिनसहनेहरू, मेरो उद्देश्य र यात्रा थाहा नपाउनेहरूले मलाई ‘तथाकथित’ भनिदिँदा कहिल्यै मेरो चित्त दुखेन। तर मलाई बुझ्नेहरू र मलाई मेरै जस्तो लाग्ने मित्र र हितैषीहरूले ‘तथाकथित’ भनिरहँदा पो चोट पर्दोरहेछ मनमा। कहिलेकाहीँ नसोचेको पनि हुँदो रहेछ, त्यस्तै मलाई म सम्झिनेहरूले र मैले मेरा भनी ठानिएकाहरूले ‘तथाकथित’ सम्झिदिँदा पो चित्त दुख्दो रहेछ। मुखले चिप्लो लगाएर अगाडि खूब तारिफ गर्ने तर मुखपछाडि यस्तो–त्यस्तो ‘तथाकथित’ भनिदिनेहरूसँग म विछट्टै डराउँछु।

‘सो कल्ड’ ‘तथाकथित’का शब्द–अंशहरू जसरी नामाङ्कन भएको भए तापनि ती शब्दहरू प्रयोगमा मान्छेले धेरै मन लगाएका छन्। ‘तथाकथित’ भनेर अरूलाई ‘तथाकथित’को बिल्ला भिराउन रुचाउने उनीहरू कसैको लागि आफू पनि त ‘तथाकथित’ हो भन्ने कुराहरू बिर्सिदिन्छन्। कम्युनिस्टहरूका लागि अरू राजनीतिक सोच बोक्नेहरू ‘तथाकथित’। अरू विचार बोक्ने कांग्रेसलगायत अरू दलका लागि कम्युनिस्टहरू ‘तथाकथित’। चीनका लागि भारत ‘तथाकथित’। भारतका लागि चीन ‘तथाकथित’। उत्तरकोरियाका लागि अमेरिका ‘तथाकथित’। अमेरिका लागि उत्तरकोरिया ‘फुच्चे तथाकथित’। ‘तथाकथित’का यी शब्द–युद्धहरूमा धेरैले हारे। त्यसै गरी धेरैले जिते पनि। तर पनि ‘तथाकथित’ शब्द प्रयोग भइरहेछ मान्छेको मुख–मुखमा र दिमाग–दिमागमा।

सुन्दर सोच्नेहरूका दिमागमा असुन्दर गर्नेहरू ‘तथाकथित’। त्यसै गरी असुन्दर मन पराउनेहरूका लागि सुन्दर ‘तथाकथित’। धर्ममा रम्नेहरू विभिन्न नामका धार्मिक समूहमा रमेर एउटै सत् धर्मलाई विभाजित तुल्याउँदै मठाधीश बन्दै गरेकाहरूले अरू धर्मावलम्बीहरूलाई भन्दै छन्– ‘तथाकथित’। सानो मन बनाएर क्षुद्र सोच्नेहरूले उदार मन बोकेर सुन्दर सोच्नेहरूलाई भन्न रुचाउँछन् ‘तथाकथित’। धर्ममा जस्तै राजनीतिमा, व्यापार व्यवसायमा र अन्य क्षेत्र र प्रसङ्गहरूमा पनि यस्तै–यस्तै सोचेर आफू–आफूमा विभाजित भएर भन्न रुचाइरहेछन् एक–अर्कामा ‘तथाकथित’।
राजनीतिमा भयानक ढङ्गले ‘तथाकथित’ शब्द शक्तिशाली हुँदै गएको कारणले अरू क्षेत्रमा पनि एक–अर्कामा ‘तथाकथित’ भन्न रुचाइरहेछन्। सत्तामा चढ्नका लागि, आफ्नो उन्माद पूरा गर्नका लागि, आफ्नो स्वार्थ मजबुत बनाउनका लागि नेताहरूका कार्यकर्ताहरू आ–आफ्नो झन्डाहरूले मुख छोपेर आफूलाई मन नपर्नेहरू सबैलाई भनिरहेछन्– ‘तथाकथित’। अरूलाई ‘तथाकथित’ सम्झिनेहरूले आफ्नो बर्कत र क्षमता नदेखेकै कारणले आफूलाई कहिल्यै देख्दैनन् ‘तथाकथित’। तर उनीहरू आफैंले सिर्जना गरिरहेछन्– ‘तथाकथित’का शब्द–विम्बहरू। यात्रामा रमाइरहेछन् एक–अर्काबीचका ‘तथाकथित’हरू भएर। प्रचण्डका लागि शेरबहादुर ‘तथाकथित’, शेरबहादुरका लागि दाहाल ‘तथाकथित’। झलनाथका लागि खड्गप्रसाद ‘तथाकथित’, ओलीका लागि खनाल ‘तथाकथित’। यी भए राजनीतिक ‘तथाकथित’हरू।

‘तथाकथित’ शब्द मलाई लाग्छ– मान्छेको जन्मसँगै मान्छेको दिमागमा चढेर आएको शब्द–विम्ब हुनुपर्छ। मान्छेले अरूलाई देख्छन् र आफूजस्तो होस् भनी कल्पना गर्छन् तर मान्छेहरू कोही पनि उनले चाहेअनुसारको आकारमा नहुँदा ‘तथाकथित’ भनेर लाञ्छना लगाइदिन्छन्। मान्छेको दिमागमा अरू पशुहरूको भन्दा उच्च रहेकै कारणले मान्छेले देखिरहे अरूलाई ‘तथाकथितहरू’। आ–आफ्नो दृष्टि–विम्बबाट हेर्दै मान्छेहरूले के मात्र कल्पना गरेनन् ? के मात्र बनाएनन् र के मात्र भोगेनन् ? तर पनि उनीहरू खोज र अनुसन्धानमा मस्त छन्। तर पनि आफ्नो सोचअनुसारका कार्यहरू नहुँदा मान्छेहरू अन्त्यसन्त बरालिन खोज्छन्। मगजभरि जीवनका अनेकौं परिकल्पनाहरू साँचेर भए–नभएका कल्पना गर्छन्। यही भोग्नुकै प्रतिमूर्तिहरू हुन् मान्छेहरू। यस्तै अनुभवका यात्रीहरू हुन् मानवहरू। यसरी ज्ञान सञ्चय गर्दै प्रयोगशील मर्महरू हुन जानेका मर्मशीलहरू हुन् मानिसहरू।
मान्छेकै मर्मबाट, मान्छेले गर्दै आएको कर्मबाट र मानिसको विचारबाट बनेका हुन् ‘तथाकथितहरू’। मलाई लाग्छ, यी ‘तथाकथित’ शब्द–विम्बकै अर्को रूपहरू हुन् मान्छेहरू। मान्छेहरू अरूलाई ‘तथाकथित’ सोचेर, भोगेर र भनेर आफू प्रगतिको शिखर चुम्न खोज्छन्। यस्तै यात्रा त हुन् हामी सबै बीचमा मडारिँदै रहेका ‘तथाकथितहरू’। अहिले एउटा प्रश्न उठेको छ– सुन्दर सोचेर र गरेर ‘तथाकथित’ हुने कि असुन्दर गरेर ‘तथाकथित’ भई बाँच्ने ? यही सन्दर्भ र चर्चाबाट द्वन्द्व उठिरहेको आजको सन्दर्भमा हामी ‘तथाकथित’ भइदिऊँ सुन्दर सिर्जना गरेर, प्रगति गरेर, धेरैलाई हुने कार्य गरेर, असुन्दर मान्छेहरूका आँखाका ‘तथाकथितहरू’।
रामका लागि रावण ‘तथाकथित’। रावणका लागि रामलगायत उनका अनुयायीहरू सबै ‘तथाकथित’। राजा ज्ञानेन्द्रका लागि दलका नेताहरू ‘तथाकथित’। नेताहरू भनिरहेछन्– ज्ञानेन्द्र पो ‘तथाकथित’। आफूलाई मन नपर्नेहरू त हुन्– ‘तथाकथित’हरू।

 

प्रतिक्रिया दिनुहोस्