बनिष, मुम्बईदेखि नेपालसम्म



रश्मी थापा,

नेपाली फिल्मदेखि म्युजिक भिडियोसम्मको कुशल र स्थापित फिल्म सम्पादक हुन् बनिश शाह। अभिनेता पिता स्व. रवी शाहको सल्लाहअनुसार प्राविधिक क्षेत्रमा होमिएका उनी हाल नेपाली फिल्म क्षेत्रका व्यस्त सम्पादकमा गनिन्छन्। २०३२ सालमा काठमाडौंमा जन्मिएका शाहले २०४८ सालमा बनेको चोखो माया नामक फिल्ममा सहायक सम्पादकको काम गरेर सम्पादनको क्षेत्रमा प्रवेश गरेका थिए भने त्यसपछि फिल्म दाईजो पनि सह–सम्पादकै रूपमा काम गरेपछि सम्पादन सिक्न मुम्बई गएका थिए।

३ वर्ष मुम्बई बसेर सम्पादन सिक्दै र काम गर्दै जाँदा उनले दावा, ईन्साफ, सर उठाके जिओ, दण्ड नायक, दिलवालेलगायतका बलिउड फिल्ममा सहायक सम्पादकको रूपमा काम गरे। त्यस क्रममा त्यहाँका दयाल निहलानी, सुनिल अग्निहोत्री, पप्पु शर्मा, नन्दुकुमार श्रीस्वास्तव, अशोक श्रीवास्तवजस्ता फिल्म सम्पादक तथा निर्देशकसँग काम गरेर अनुभव बटुलेका थिए।
नेपाल फर्किएपछि उनले सुभास गजुरेल निर्देशित फिल्म मजदूर सम्पादन गरी आफूलाई सम्पादन कलामा दरीलोरूपमा उभ्याए। सम्पादनको हिसाबले मजदूर पहिलो फिल्म भए पनि नाता रगतको नामक फिल्म रिलिजको हिसाबमा उनको पहिलो फिल्म साबित भयो। ‘बुबा अभिनयतिर हुनु भएकाले मेरो रहर पनि अभिनय नै थियो। अभिनय भनेको लामो समय चल्दैन त्यसैले प्राविधिक काम नै गर्नुपर्छ भन्ने बुबाको सल्लाह थियो। त्यसैले म अभिनयतिर लागिन। प्राविधिक क्षेत्रमै लाग्ने निर्णय गरँे।
पछिल्लो समय भने आकाश अधिकारी निर्देशित फिल्म काठमाडांैमा खलनायकको भूमिकामा देखिएका बनिषले अर्का फिल्म निर्माता तथा निर्देशक शिशिर राणा निर्देशित तिमीसँग नामक फिल्ममा पनि खेलेका छन्। ‘एक्टिङमा पहिलेदेखि नै रहर पनि थियो तर टेक्निकल लाइनमा लागेपछि एक्टिङतिर सोच्ने समय नै भएन।आकाश दाइ र शिशिर भान्जाले छोटो रोल छ काम गर्नुपर्र्यो भन्नुभएपछि समय मिलाएर अभिनय पनि गरेँ। ‘अलि धेरै समय दिनुपर्ने रोल भयो भने चाहिँ रहर भएर पनि काम गर्न समय निकाल्न गार्हो छ।’ –उनी भन्छन्। एनालग प्रविधिबाटै शुरू भएको उनको करिअर एभिटदेखि डिजिटलसम्म आइपुगेको छ। काम गर्न सजिलो त डिजिटल प्रविधिमै हो। तर डिजिटलमा अप्सन धेरै हुने भएकाले समयचाहिँ बढी लाग्छ। एनालगमा काम गर्दा यो नै लास्ट अप्सन हो। योभन्दा बढी हँुदैन भनेर छोड्नुपथ्र्यो। त्यसैले रिलिज डेटभन्दा १ महिनाअघि नै सम्पादनको काम सकिन्थ्यो, बनिषको अनुभव छ। यसरी फ्यासिलिटीको हिसाबले हेर्ने हो भने डिजिटल प्रविधि सजिलो हो। तर कामको प्रेसरको हिसाबले भने पहिलेकै प्रविधि राम्रो हो।

भारतमै काम गरीरहेको बेला पिता रवी शाहले आर्मी नामक फिल्ममा काम गर्न नेपाल बोलाएकाले नेपाल आएका बनिष त्यसपछि भने नेपालमै रहेर काम गर्न थालेका रहेछन्। ‘त्यो बेला हलिउडमा चलिरहेको एभिड प्रविधि मुम्बईमा चाहिँ फ्लप भयोे। त्यसपछि मद्रास र नेपालमा ल्याइयो। नेपालमा आएपछि सम्पादक करुण थापासँग एभिडको अप्रेसन सिकेर नेपालमा यसलाई स्ट्याबलिस गरियो। यो प्रविधि फेरि मुम्बईमा भित्रियो।’ –उनले भने। भारतमा अवसरको सम्भावना हुँदाहुँदै पनि नेपालमै आएर सम्पादनमा लागेको बनिषले कारण खुलाए ‘इन्डिया बसेर सम्पादनमा एसिस्टेन्ट गरिरहँदा साउथ इन्डियन फिल्मका बर्दन नामका डाइरेक्टरसँग असिस्टेन्स डाइरेक्सन र एडिटिङ गर्ने कुरा भएको थियो। तर म नेपाल आउँदा उहाँको हार्टअट्याक भएर निधन भयो भन्ने खबर सुनेपछि फेरि इन्डिया फर्केर जान मन लागेन। पछि पनि काम गर्न बोलाइएको थियो। उता राम्रो चान्स पाइने सम्भावना थियो। तर पनि यतै काम भइरहेको र उताको त्यो घटनाले मलाई उता फर्केर जान मन लागेन।’

विदेशी फिल्म र नेपाली फिल्ममा एउटै प्रविधि प्रयोग गरिए पनि विदेशमा बजेट र पर्याप्त समय हुने भएकाले चाहेअनुसार स्तरीय काम देखाउन पाइने बनिष बताउँछन्। ‘कुनै पनि फिल्म राम्रो बनाउन सम्पादकको पनि महत्वपूर्ण हात हुन्छ। सम्पादन राम्रो हुनलाई समय पनि पर्याप्त हुनुपर्छ। तर कतिपय अवस्थामा प्रविधि राम्रो भइकन पनि हाम्रो हात सफा भइनसकेको कारण चुकिरहेका हुन्छौं’, उनी भन्छन्– ‘अर्कोतिर सम्पादन हतारमा गराइन्छ। पर्याप्त समय दिए सम्पादनले फिल्मको रूप नै फेरिदिन्छ। विदेशमा फिल्म सुटिङ गरिसकेको १ देखि २ वर्षपछि मात्र रिलिज डेट राखिएको हुन्छ। तर नेपालमा भने सुटिङ नै शुरू नभई रिलिज डेट तोकिएको हुन्छ। यहाँ प्राविधिक पनि कम भएकाले काममा बढी प्रेसर परिरहेको हुन्छ। कामको प्रेसर भए पनि बजेटचाहिँ कम हुन्छ।’

नेपालमा फिल्मको सुटिङ सकिनेबित्तिकै अब सबै काम पूरा भयो भन्ने सोच भएकाले पर्दा पछाडिका सबै प्राविधिक काममा दबाब पर्ने बनिष बताउँछन्। ‘सबैभन्दा बढी प्रेसर त साउन्डमा पर्छ। एडिटिङ नसकिएसम्म डबिङ गर्न मिल्दैन, मिक्सिङ त झन् परको कुरा भइहाल्यो। त्यसैले पोस्ट प्रोडक्सनमा काम गर्नेहरूको लागि समय पर्याप्त नहुँदा काम गर्न एकदमै समस्या छ। एउटा फिल्म बढीमा १ महिनामै सकाउनुपर्छ। कुनै कुनै त १० दिनमै सकाएका पनि छौं। मेरो हिसाबमा प्राविधिक काम फाइनल भएपछि मात्र रिलिज डेट तोक्नुपर्छ। जसको लागि ३ महिनाको समय आवश्यक हुन्छ। एडिटिङपछि डेढ दुई महिना साउन्ड र मिक्सिङमा दिएपछि १ महिना पब्लिसिटीमा मजाले दौडिन पाइन्छ। तर नेपालमा भने विदा हेरेर रिलिज डेट तोक्ने चलन छ। अनि सबैलाई प्रेसर शुरू हुन्छ’ –उनको गुनासो छ।

नेपालमा प्राविधिक क्षेत्र अझै व्यवसायिक हुन नसकेको र पर्दा पछाडि काम गर्नेको कमाइ पर्दामा देखिने चलेका कलाकारको दाँजोमा आउन नसकेको बनिषको अनुभव छ। ‘पर्दामा देखिने कलाकारमा पनि चलेका कलाकारको मात्र पारिश्रमिक राम्रो छ। तर पर्दा पछाडि काम गर्नेहरू त चलेकै भए पनि उनीहरूको दाँजोमा पुगेका छैनन्। त्यही कारण हामीले वर्षमा धेरै फिल्म लिनुपर्ने हुन्छ’ –बनिष भन्छन्। आफूसँग टिम भएकाले वर्षमा ६ देखि कुनै समय १० वटासम्म फिल्म सम्पादन गरेको बनिश बताउँछन्। ‘मुम्बईमा काम गर्दा त्यहाँको काम प्रोफसनल थियो। उता काम गर्न थालेपछि कामबाहेक अरू कुरा मतलब हुन्न। आर्थिक होस् या सामाजिक होस्, नेपाली फिल्म इन्डस्ट्री भने अझै प्रोफेसनल भइसकेको छैन। मैले नै काम गरेको २ दशक भइसक्यो। आफू उता हँुदा कस्तो थिएँ र अहिले कस्तो छु भनेर तुलना गर्छ। यता चेन्ज गर्छु भनेर आएको म तर आफैं चेन्ज भइसके’ –उनले भने।

शुरूमा केही म्युजिक भिडियो सम्पादन गरे पनि त्यसपछि फिल्मकै काममा व्यस्त भएका बनिषले करिअरको सुरुआतमा महेन्द्रभक्त श्रेष्ठको साथमा पल्लो घरको झ्याल नामक टेलिसिरियलमा सह निर्देशन गरेका थिए। मजदूर, मुस्कान, शिवशक्ति, हामी तीन भाइ, मनले मनलाई छुन्छ, वरमाला तथा पछिल्लो समयका ड्रिम्स, ए मेरो हजुर–२, प्रेमगीत–२, कान्छीजस्ता नेपालीका साथमा कव हाई मिलन हमार, सजनवा अनाडी, सजनीया खेलाडी, कर्जा, त्रीनेत्रजस्ता भोजपुरी गरी २ सयभन्दा बढी फिल्म सम्पादन गरेका छन्।

उनले उत्कृष्ट सम्पादनका लागि २०६२ सालमा बन्धकी, २०६४ सालमा जनयुद्ध र २०६९ सालमा नोटबुक नामक फिल्मबाट राष्ट्रिय चलचित्र पुरस्कार, २०६६ सालमा म तिमीबिना मरिहाल्छु र २०६८ सालमा शासनबाट नेफ्टा तथा २०७१ सालमा फिल्म ताण्डवबाट क्रिटिक्स अवार्ड जितेका थिए भने २०६६ सालमै लुनकरणदास गंगादेवी साहित्यकला मन्दीरद्वारा नेपाल नव प्रतिभा पुरस्कारबाट सम्मानित भएका थिए।

प्रतिक्रिया दिनुहोस्