वित्तीय साक्षरताको सारथी



कमल ढकाल,
भनाइ छ। अवसर चियामा चोपेको बिस्कुटजस्तै हो, अलिकति ढिला हुनेबित्तिकै कि भुईंमा कि चियामै खस्छ। मुखमा आइपुग्दैन। आफूलाई अवसर भन्ने लाग्नेबित्तिकै त्यो टिपिहाल्नुपर्छ त्यसमा ढिला गर्नु हुँदैन।

जीवनमा ‘थ्री ई’ एक्सपोजर, एक्सपेरियन्स र एजुकेसनले अक्सर अवसर आइरहेको हुन्छ। अवसर हो भन्ने थाहा पाउनेले त्यो बाटो समातिहाल्छ। नपाउनेले रुल्ल टुल्ल र वाल्ल ट्वाल्ल पर्छ।
यहाँ यस्तै घटना छ। इन्दिरा पन्तले नेपालमा नयाँ अभियान चलाइरहेकी छिन्। केही वर्ष अघिदेखि उनले नेपालमै पहिलोपल्ट चलाएको यो अभियान अब सरकारले नै चलाउनपर्ने लिस्टमा राखेर काम गरिरहेको उनी बताउँछिन्।

उनले चलाएको अभियानको नाम हो ‘वित्तीय साक्षरता।’ मान्छे आर्थिकरूपमा इमान्दार नहुँदा यो व्यापारिक युगमा सबै कुरामा इमान्दार हुन नसक्ने उनको बुझाइ छ। त्यसैले उनले चलाएको वित्तीय साक्षरतामा वचत एक नम्बरमै पर्छ। त्यसको सूत्र नै डेभलप गरेकी छिन् इन्दिराले। आम्दानी माइनस वचत इक्वेल टु खर्च।

हरेक नयाँ मोडको एक प्रारम्भ विन्दु हुन्छ। वित्तीय साक्षरताको उनको प्रारम्भ विन्दु जापान हो। जापानले उनलाई थ्री ई दियो। जापानमा तरकारी ल्याएर किसानले बजारमा राखे। उपभोक्ताले पैसा राखेर त्यो तरकारी किनेर हिँडे। सानो दृश्यले उनलाई ठूलो हलचल ल्यायो। सँगै बसेको भारतीय साथीलाई सोधिन्– के यो तपाईंको देशमा सम्भव छ। उनले भने– ‘कहाँ हुनु हाम्रोमा त बिना पैसा टोकरी नै उडाइदिन्छन्।’ त्यो दृश्यमा उनले आफ्नो थ्री ई मिसाइन्।

इन्दिरालाई त्यो दृश्य देख्दा सिद्धार्थ गौतमले पहिलो पल्ट बिरामी मान्छे , बूढो मान्छे र मरेको मान्छे देखेझंै लाग्यो। जसरी राजकुमार सिद्धार्थलाई ३ मान्छे देख्दा खोज गर्न मन लाग्यो उनलाई पनि त्यस्तै भयो। सिद्धार्थले खोज गर्दै जाँदा गौतम बुद्ध बने। इन्दिराले खोज गर्दै जाँदा नेपालमा वित्तीय साक्षरता चलाउने पहिलो मान्छे बनिन्।

 

इन्दिरालाई त्यो दृश्य देख्दा सिद्धार्थ गौतमले पहिलो पल्ट बिरामी मान्छे, बूढो मान्छे र मरेको मान्छे देखेझैं लाग्यो। जसरी राजकुमार सिद्धार्थलाई ३ मान्छे देख्दा खोज गर्न मन लाग्यो उनलाई पनि त्यस्तै भयो। सिद्धार्थले खोज गर्दै जाँदा गौतम बुद्ध बने। इन्दिराले खोज गर्दै जाँदा नेपालमा वित्तीय साक्षरता चलाउने पहिलो मान्छे बनिन्।

मान्छेलाई आर्थिकरूपमा अनुशासित बनाउनै पर्ने रहेछ। यो बुझेपछि चियामा चोपेको बिस्कुट खान ढिलाइ नगरेझैं तुरुन्तै नेपाल आएर काम शुरू गरिन् उनले। लगानी भविष्यको लागि हो भन्ने बुझेकी थिइन। त्यसैले विगत होइन आगतलाई स्वागत गरौं भन्दै बच्चामा त्यो शिक्षा लगिन्। उनी एक्लै थिइन्। उनलाई लाग्थ्यो मैले यो अभियान चलाइरहेछु। सरकारले सपोर्ट गर्यो। आज देशभरका जिल्लामा वित्तीय साक्षरता अभियान पुगेको छ। स्कुल–स्कुलमा यो पुगेको छ। साँच्चै यो अभियान देशव्यापी बन्दै गएकामा उनीजति खुसी को होला र।

निम्ताए पनि ननिम्ताए पनि प्रेम, सम्बन्ध र मीत्रता जहींतहीं जान्छ, त्यहाँ मात्र बस्छ जहाँ हार्दिकता र सम्मान हुन्छ। गुल्मी हर्दिनेटामा जन्मिएकी इन्दिराको जीवनगाथा आफ्नै प्रकारको छ। गाउँकै धर्मपुरा स्कुलमा ४ सम्म पढेकी उनी बाबु आमासँगै पहाडबाट तराई झरिन्। कपिलवस्तुको स्कुलमा पढ्न थालिन्। एकपछि अर्काे गरी ५ वटा स्कुलमा पढ्दा उनलाई राजनीति तातो लाग्यो। अनेरास्ववियु प्रारम्भिक कमिटिमा बसेकी उनी ८ देखि १० कक्षासम्म त्यतै लागिन्।

राजधानी आएपछि पनि उनलाई राजनीतिले छाडेन। अनेरास्ववियुका तत्कालीन महासचिव वसन्त मानन्धरले गरेको प्रस्ताव केही समय पर्ख, हेर र जाउजस्तै गरिन्। उनी पर्ख, हेर र जाउ सिद्धान्तअनुसार वसन्तको श्रीमती भएर २०५६ को फागुनमा गइन्। प्रेम, सम्बन्ध र मीत्रता उनीभित्र उडिरहेको थियो। सबैतिर फैलिरहेको त्यो चिजलाई वसन्तले सम्मान दिए। उनको प्रेम, सम्बन्ध र मीत्रता वसन्तसँगै बस्यो।

परिवारले विद्रोही ठहरायो
कांग्रेस परिवारकी पहिलो कम्युनिस्ट र दोस्रो नेवारसँग विहे गर्नु। पहिलो विद्रोहमा ठूलो आमाले कम्युनिस्टले छोएको खान्न भनेको आवाज उनको कानमै गुन्जिरहेथ्यो। वसन्तको प्रेमअगाडि त्यो फिक्का भयो। दोस्रो विद्रोह भइहाल्यो। परिवारले पनि विद्रोहीलाई सम्मान गरेन। उनको विहेमा घर परिवार सहभागी भएनन्। दुलही अन्माउँदा आफ्नो आफन्त नभएर भएको गाह्रो सम्झदा यतिबेला पनि गाह्रो हुँदो रहेछ उनलाई।

पारिवारिक चक्रपछि परिवार बढ्ने भइहाल्यो। छोरा युनिक जन्मदा र त्यसको केही वर्षपछि छोरी ईभा जन्मदा र त्यो जन्मबीचको समयमा उनले भोगेको आर्थिक कठिनाइभन्दा सुन्न नपरे पनि हुन्थ्यो जस्तो लाग्दै थियो। अर्थ बनाउन उनले छोरी पेटमै भएको समयमा कम्युनिकेसन पसल खोलेको सुनाइन्। दिनभरि काम गरेको सुनाइन् र त्यसैबाट घर किनेको सुनाइन्।
संघर्षपछिको सफलता यही हो जस्तै लाग्दै थियो। गाउँको घरबाट बुटवल आउनु र काठमाडौं आउनु, विवाह गर्नु, पसल खोल्नु, मिडियामा लाग्नु, जापान जानु यिनै घटनाको तानावानामा आफ्नो जीवन जमेको उनी बताउँदै थिइन्।

जीवन किताबजस्तै त हो। उनको पनि त्यस्तै रहेछ। केही पन्ना दुःखले भरिएको। केही खुसी र उत्साहले। किताबको पन्ना पल्टाएजस्तै जीवनको पन्ना पनि पल्टाएपछि मात्र थाहा हुन्छ। रहस्यले भरिएको यो जीवनमा कहाँ गएर कहिले के हुन्छ कसलाई थाहा छ र? सकरात्मक सोच राखेर हिँड्दा र गर्दा दुःखद घटना पनि सुखको लागि आएको हुन्छ। जस्तो कि दुवै कुरामा इन्दिरालाई परिवारले विद्रोहीको रूपमा ठहरायो। हिजोको विद्रोही आजको राजकाज सम्हाल्ने घटनाजस्तै आज उनले गरेको कर्ममा परिवार र समाज खुसी हँुदै गएको छ। खुसी ऐना हेरेजस्तै हो। सकरात्मक मान्छेलाई अर्काको खुसीले पनि आनन्द दिन्छ। उनलाई पनि परिवार खुसी भएकामा आनन्द आएको छ। खुसी लागेको छ।

आँसु आँखामा हुँदा पनि म ठीक छु भनेर हाँस्दै बोल्न सक्नेलाई मानिसले बलियो व्यक्तित्व भन्छन्। चुप लाग्ने र मुस्कुराउने बानीको सदुपयोग गर्दा जीवन सफल हुन्छ भन्छन्। इन्दिरा मुस्कुराएर समस्या समाधान गर्छिन्। समस्यामाथि समस्या चर्काउन हुन्न भनेर उनी चुपो लाग्छिन्। यसरी नै कतिपल्ट उनको समस्या टाढा भागेको छ। आँखामा आँसु हुँदा पनि म ठीक छु भन्छिन्। अरूले थाहा नपाएको आँसु कहिलेकाँही एक्लै झरिदिन्छ। बेलुका झरेको आँसु शीतको थोपाजस्तै हुन्छ। बिहानीको घामले सुकेर शीत आफै घाममा विलिन हुन्छ। उनको आँसु पनि उनको जीवनमा विलिन हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्