सगरमाथा नाप्न २७ करोड



Tibet, China, Nepal — Mount Everest in Tibet — Image by © Keren Su/Corbis

प्रशान्त वली, काठमाडौं
श्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक वर्ष १५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यसअघि २ करोड रुपियाँ छुट्याइएकामा यस वर्ष बजेटको दायरा सरकारले फराकिलो बनाएको नापी विभागले जनाएको छ। विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जन बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताउनुभयो।

१७ करोड बजेट प्राप्त,
१० करोड अपुग

सिरहाको मिर्चैयादेखि लेबलिङ शुरू गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ। सगरमाथा उचाइ मापन सचिवालय समितिका संयोजक सुशील डंगोलका अनुसार यस आर्थिक वर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिनेछ।

नेपाल आफैले सगरमाथाको उचाइ नाप्ने कार्य शुरू गरेको यो पहिलोपटक हो। मापन कार्यले टुंगो लगाउन सके निकट भविष्यमै सगरमाथाको उचाइ कति छ भन्ने पत्ता लाग्ने छ। विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सगरमाथाको उचाइ मापनका लागि हामी लागिरहेका छौं। २५ करोड रुपियाँ बजेटले नाप्ने काम सकिन्छ। अब थप १० करोड रुपियाँ चाहिन्छ। सगरमाथाको उचाइ नेपाल आफैले नाप्नु गौरवको कुरा हो।’

सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापन कार्यमा खटिनेका लागि विशेषज्ञ तालिम, कर्मचारीहरूमा खर्च हुने बताइएको छ। दुई वर्षभित्र काम पूरा गर्ने लक्ष्यसहित विभागले आफ्नो काम अघि बढाएको विभागका महानिर्देशक भट्टले बताउनुभयो।

बाह्रवटा बिन्दुमा लेभलिङ राखिने र सगरमाथाको चुचुरोमा जीपीएस सर्वेक्षण राखेर उचाइ मापन गरिने छ। विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तर्राष्ट्रियरूपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको काम अघि बढाएको हो।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए। तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन।

उचाइ मापनका लागि आबश्यक पर्ने अन्तर्राष्ट्रिय मान्य प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्ट विभागमा छ। अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दशपटक सगरमाथाको मापन गरिएको छ।

विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ भने यही भारतीय टोलीको रहेको नापी विभागले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्