आर्थिक समृद्धिका लागि सहकारी अपरिहार्य



नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारी क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ। अहिले मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उहाँले समृद्धिका लागि सहकारी महŒवपूर्ण आधार रहेको धारणा राख्नुभएको हो।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को संयुक्त आयोजनामा बिहीबारदेखि काठमाडौंमा शुरू भएको ‘साकोस शिखर गोष्ठी–२०७५’ लाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले मुलुकको अर्थतन्त्रमा सहकारीको योगदानको प्रशंसा गरी अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताउनुभयो। ‘हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई समाधान समृद्ध मुलुक निर्माणमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नु जरुरी देखिएको छ। नीतिगत समस्याको संसोधन र नयाँ ऐन, नीति नियम निमार्णमा सरकार तयार छ।’ –उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो। उहाँले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भमध्ये सहकारी क्षेत्र भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भसमेत भएको धारणा राख्नुभयो।

त्यस्तै कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सहकारीहरूको पुँजी सही तबरले सञ्चालन गर्न नसकिएको बताउनुभयो। ‘सहकारीको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ। उत्पादन मूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरू केही छन् भने कानुनी अवरोध फकाउन सरकार तयार छ।’ –उहाँले भन्नुभयो। सहकारीहरू वस्तु तथा सेवामा उत्पादनमा केन्द्रित हुनुपर्ने धारणा राख्दै मन्त्री तामाङले उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरू सहकारी नै नरहने बताउनुभयो। लगानी गर्ने वातावरण सिर्जना गर्ने र त्यसलाई व्यवस्थित गर्ने काम सरकारले गर्ने उहाँको भनाइ छ।

कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताउनुभयो। उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्नेतर्फ सहकारीलाई लाग्न उहाँले सुझाव दिनुभयो । ‘सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ। जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ।’ –मैनालीले भन्नुभयो। सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय काम गर्न सक्ने उहाँको भनाइ थियो। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले सहकारीहरू उत्पादनशील क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कानुनी अवरोधले काम गर्न नसकेको बताउनुभयो। ‘हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ। मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमुना काम गरेर देखाउनेछ।’ –बडालले भन्नुभयो। केही सहकारीमा विकृति देखिएको र उक्त विकृतिलाई हल गर्दै सहकारी अभियान अघि बढ्नुपर्ने आवश्यकतासँगै चुनौतीपूर्ण पनि रहेको उहाँको धारणा छ।

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डीबी बन्नेतले सहकारीमा कर समस्या देखिएको र बजेटमा करका विषय सम्बोधन नगरेको दुःख व्यक्त गर्नुभयो। कर समस्याको समाधान गर्न कार्य दल गठन भएको र कार्यदलमार्फत सम्बोधन हुने आशावादी रहेको बताउनुभयो। साकोस शिखर गोष्ठी अर्थपूर्ण र उपलब्धिमूलक हुने बताउनुभयो। ‘समावेशी आर्थिक विकास ः साकोस एकरूपताका लागि कानुनी संहिताको पुनःसंरचना’ भन्ने मूल नाराका साथ शुरू भएको गोष्ठी शुक्रबारसम्म चल्नेछ। गोष्ठीमा विभिन्न जिल्ला र एशियाका विभिन्न मुलुकका सहकारी अभियन्तासहित करिब ६ सय जनाको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्