अनारबाट हेपाटाइसिस ए संक्रमित महिलाको मृत्यु



सिडनी, (एजेन्सी)
चिस्याइएको अनार खाँदा हेपाटाइसिस एबाट संक्रमित भएकी एक अस्ट्रेलियाली महिलाको मृत्यु भएको अस्पताल सूत्रले बुधबार जनाएको छ । ६४ वर्षीया ती महिलाको उपचारकै क्रममा गत साता साउथ अस्ट्रेलियामा मृत्यु भएको थियो । यसलाई अनौठो तथा दुर्लभ दुर्घटनका रूपमा लिइएको छ ।

स्थानीय अधिकारीहरूले गत अप्रिलमा क्रियटिभ गोर्मेट प्रडक्टका अस्ट्रेलियन मालिकलाई यस्तो खाद्य पदार्थलाई लिएर चेतावनी दिएका थिए । त्यहाँको अनार खाएर राष्ट्रभरि ए हेपाटाइसिसका २४ वटा घटना देखिएको थियो । अस्ट्रेलियालीहरूले सो कम्पनीको चिस्याएका फलफूलका प्याकेटहरू खरिद नगर्न तिनीहरूको फ्रिजर परीक्षण गर्न आ≈वान गरेका छन् ।

त्यहाँबाट इजिप्टमा फलाइएका अनारका करिब २ हजार प्याकेट बिक्री भएको थियो । तर ताजा अनार तथा स्थानीय उत्पादन गरिएका अन्य फलफूल संक्रमित नभएको बताइएको छ । साउथ अस्ट्रेलियाको प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक पडी फिलिप्सले यही एक महिलाको मात्र अनारको कारण मृत्यु भएको पुष्टि गरेका छन् । साथै उनले अन्य संक्रमित सबैको सफल उपचार भएको र अन्य थप घटना नदेखिएको पनि बताएका छन् ।

हेपाटाइसिस एले मानिसका कलेजोमा आक्रमण गर्दछ । यो विशेष गरी दिसा, यौन सम्पर्क वा संक्रमित खाना वा अन्य वस्तुहरू छुँदा सर्ने गर्दछ । यसको लक्षण देखापर्न १५ देखि ५० दिन लाग्न सक्छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यसको संक्रमणपछि ज्वरो आउने, वान्ता आउने र छाला पहेंलो हुन थाल्ने बताएका छन् । गत वर्ष पनि हेपाटाइसिस एको महामारी फैलिएपछि सो कम्पनीको चिस्याएका केही फलफूलको बिक्रीमाथि रोक लगाइएको थियो । यसैगरी यसैवर्ष लिस्टेरिया ब्याक्टेरिया संक्रमित मेवा खाएर अस्ट्रेलियामा सात जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्