महासंघका पूर्वउपाध्यक्ष ताम्राकार पक्राउ



नेपाल समाचारपत्र
भक्तपुर
उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर ४ को कमलबिनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालकसमेत रहेका ताम्राकारलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै निवास कमलविनायकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा ताम्रकारलाई नियन्त्रणमा लिइएको हो। श्रेष्ठका अनुसार होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको थियो। यसबारे अनुसन्धान शुरू गरेको उहाँले बताउनुभयो। होटल यातुको सञ्चालनमा आउनु अगावै विवाद सतहमा आएको थियो ।कम्पनी रजिस्टार कार्यलयमा एउटै होटलको संरचना दुई कम्पनीको नाममा रजिस्टार भएपछि सञ्चालकहरू बीचको विवाद बाहिरिएको थियो।

एउटा भवनमा होटल सञ्चालन गर्नका लागि तयारी गरेको होटल यातु कम्पनी को कम्पनी रजिस्टारको कार्यालयमा २०७३ साल फागुन १५ गते कम्पनी ऐन दफा ५ को उपदफा १ वमोजिम दर्ता नम्बर १६४४६९ होटल यातुको नाममा दर्ता भएको छ। जसमा ३ जनाको शेयरवालाहरूको लगानी रहेको छ। कम्पनी रजिस्टार कार्यलयको दर्ताअनुसार होटलमा ताम्राकार तथा सरु महत र होटल डे कोर्टयार्ड भक्तपुरको सञ्चालक रहेका छन्।
कम्पनीका सञ्चालक ताम्रकारले कम्पनी रजिस्टार कार्यालयमा अर्का होटल याचुको नाममा दर्ता नम्बर १७६४०४ मा २०७४ आश्विन २६ गते सोही होटललाई दर्ता गराएका छन्। कम्पनीको अर्का शेयरकर्ता महतलाई बाईपास गरेर ताम्रकारले एकलौटी अर्का कम्पनी दर्ता गराएर होटल एकलौटी सञ्चालन गर्ने तयारी गरेसँगै सञ्चालक बीच विवाद आएको थियो। जसमा ताम्रकार र हिराकेशरीको सञ्चालक रहेको कम्पनी रजिस्टार कार्यलयको तथ्याङ्कमा उल्लेख छ।

उक्त होटलमा ताम्रकारको ५२ प्रतिशत सेयर छ भने सरु महत र होटल कोर्टियाडको ४८ प्रतिशत सेयर रहेको छ। होटल कोर्टियाड भने महतको एक्लौटी लगानी रहेको छ। यसमा पनि महतले बढी लगानी गरेर ताम्रकारले थोरै सेयर दिएको भनाइ छ भने महतको हालसम्म १ करोड ३२ लाख बढी लगानी रहेको बताएका छन् भने ताम्रकारले भने मेरो लगानी धेरै रहेको बताउँदै आएका थिए। ताम्रकारको जग्गामा प्रतिमहिना ४ लाख रुपियाँ बुझाउने गरी २० वर्षका लागि भाडामा लिने सहमतिअनुरुप होटल निर्माण भएको थियो।
होटल निर्माणको अन्तिम चरणमा आएर लगानीकर्ता ताम्रकारले एकपक्ष ढङ्गले लगानीको स्वामित्व एकल बनाउन लागि परेको भन्दै कानुनी उपचारको बाटो महत पक्षले खोजेका थिए।

प्रतिक्रिया दिनुहोस्