गौरी फेरि प्रधानमन्त्री



अभिनेत्रृ गौरी मल्ल फेरि प्रधानमन्त्रीका रूपमा देखिने भएकी छिन्। अभिनेत्री मल्ल केही दिनअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय टेलिसिरियल सिंहदरबारको नयाँ संस्करणमा पनि प्रधानमन्त्रीका रूपमा देखिने भएकी हुन्।

सिंहदरबारमा उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको भूमिकामा लोकप्रियता कमाएकी थिइन्। दोस्रो चरणको यो सिरियलमा गौरीलाई प्रधानमन्त्री आशा सिंहका रूपमा देखिनेछ। आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिबद्ध नेतृ हुन्, जसको उद्देश्य नयाँ संविधानलाई लागू गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्नु र संघीय संरचनामा नागरिक र सरकारको सहकार्यलाई बलियो बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नु हो।

‘प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन् र यसपालि उनी गठबन्धन सरकारको नेतृत्व गर्दै छिन्’, ‘अभिनेतृ गौरी मल्लले भनिन्– ‘सिंहदरबारको दोस्रो चरणको शृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु। त्यो पनि देश साँच्चिकै बृहत् राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा। निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताका लागि सुशासनको रोडम्यापका रूपमा कार्य गर्नेछु।’ यो दोस्रो शृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यलाई दर्शकसामु ल्याउने र चुनौतीको सामना गर्दै परम्परागत सोच बदलेर सहकार्यात्मक संस्कारमा अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहलाई उजागर गर्ने गौरीको भनाइ छ।

सर्च फर कमन ग्राउन्ड (नेपाल सर्च) ले सिंहदरबारको दोस्रो सिजन तयार पारी प्रसारण गर्न लागेको हो। निर्माणका क्रममा रहेको सिंहदरबारको सिजन–२ लाई निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन्। यसको निर्माण साझेदार शुभ मिडिया होम हो।

सर्चले पछिल्लो सर्वेक्षणमा ६६.७० लाख दर्शकले सिंहदरबारको पहिलो शृंखला हेरेको र ८ सय ६५ भन्दा धेरैले पहिलो शृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएको जनाएको छ। १३ भागको शृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्वित गर्ने र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतीलाई केलाउने प्रयत्न गर्ने बताइएको छ। यो शृंखलाले संघीयता, असल शासन, नागरिकको मौलिक हक, समावेशीकरण तथा लैंगिक अल्पसंख्यकका अधिकारजस्ता महŒवपूर्ण मुद्दालाई पनि अगाडि सार्ने दाबी यसको निर्माण संस्थाले गरेको छ।

अमेरिकी सहयोग नियोग (यूएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको यो सिरियल असारको अन्तिम साता प्रसारण गर्ने लक्ष्य राखिएको छ। यसको दोस्रो सिजनमा गौरी मल्लका साथ रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्टलगायतका कलाकारलाई देखिनेछ।यसअघि यो सिरियल छिरिङ रितार शेर्पाले निर्देशन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्