अग्रिम कर असुलीविरुद्ध लगानीकर्ता आन्दोलित



नेपाल समाचापत्र
काठमाडौं
अन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्न नियामक निकायलाई पत्राचार गरेपछि लगानीकर्ताका तीन वटा संगठनले विरोध जनाएका छन्। सोमबार बजार खुल्नु अगावै नेपाल स्टक एक्सचेन्चको कार्यालय घेराउ गर्न पुगेका नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ र पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिले घेराउ गरेका थिए।

लगानीकर्ता आन्दोलमा उत्रिएपछि केही समय शेयर कारोबार नै हुन नसकेको थिएन। हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्ने निर्णय प्रतिगामी रहेको भन्दै तीन वटै समूहले उक्त कर प्रणाली खारेज नभएसम्म संयुक्त रूपमा आन्दोलन जारी गर्ने जनाएका छन्। संयुक्त पे्रस विज्ञप्ती जारी गर्दै नोक्सानमा पनि कर तिर्नुपर्ने प्रणाली खारेज नभएसम्म कुनै पनि प्रकारका शेयर खरिद बिक्री नगर्न समेत लगानीकर्तासँग आग्रह गरिएको छ।

सोमबार नै उनीहरुले अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। उक्त टोलीमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल र पुँजी बजार लगानीकर्ता संघको तर्फबाट उपाध्यक्ष राधा पोखरेलले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले सो विषयमा मन्त्रालयका सचिवमार्फत अर्थमन्त्रीलाई जानकारी दिने बताउनुभयो।

आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्न नियामक निकायलाई पत्राचार गरेपछि आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको थियो। तर, सोमबारको कारोबारमा भने आइतबारको तुलनामा पुँजी बजार केही सम्हालिएको देखिएको छ।

अन्य समूहबाहेक सबै समूहको उपसुचक ओरालो लागेपछि नेप्से परिसूचक ५ दशमलव ११ अंकले घटेको हो। सोमबारको कारोबारपछि नेप्से परिसूचक १ हजार २ सय ६८ दशमलव ८४ अंकको बिन्दूमा कायम भएको छ।

बजार खुलेलगत्तै लगानीकर्ता संघ संगठनका विरोधका कारण केही मिनेट कुनै पनि कम्पनीको शेयर कारोबार भएन भने १५ मिनेटपछि मेगा बैंक नेपाल लिमिटेडको शेयर किनबेच भएको थियो। समग्रमा पुँजीबजार घटे पनि कारोबार रकम भने औसत देखिएको छ। दिनभर १ सय ५८ वटा कम्पनीको १० लाख ९० हजार ६ सय ३ कित्ता शेयर खरिद बिक्रीबाट ४२ करोड ४४ लाख ८ हजार ८ रुपियाँ बराबरको कारोबार भएको कारोबार छ। सोमबारको कारोबारमा सबैभन्दा धेरै खानीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव २१ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव शून्य ६ प्रतिशतले गुमाएका छन्।

यस अघि आन्तरिक राजस्व विभागले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एस्चेन्ज, सीडीएस एन्ड क्लियरिङलाई पत्र लेख्दै आयकर ऐन २०५८ को परिच्छेद ८ मा उल्लेखित व्यवस्थाअनुसार बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी अग्रिम कर असुल गर्न पत्राचार गरेको थियो। उक्त पत्राचारपश्चात् पुँजी बजारका लगानीकर्तामा अन्योलता सिर्जना भई तीव्र उतार चढावका बीच आइतबार नेप्से परिसूचक नेप्सेमा करिब ३४ अंकको गिरावट आएको थियो।

विभागले जारी गरेको पत्रलाई आधार बनाएर लगानीकर्ताले शेयर कारोबारमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन्। उनीहरुले विभागको निर्णयले शेयर बजार धराशयी हुने बताएका छन्। उक्त निर्णय आगामी दिनमा पुँजी बजारबाट राजस्वको ठूलो हिस्सा गुम्ने देखिएको भन्दै लगानीकर्तालाई नोक्सानीमा कर भुक्तानी गर्नका लागि निर्देश गर्नु करको सिद्धान्त विपरित रहेकाले फिर्ता लिन लगानीकर्ताको माग छ।

उता विभागले भने आयकर ऐनमा भएको व्यवस्था अनुसार नै बोनस र हकप्रद शेयरको लागत ्मूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा असुल उपर गर्न भनिएको जनाएको छ। नयाँ नीति आएपछि बढी पुँजीगत लाभकर तिर्नुपर्ने देखिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारमा कारोबार गर्नेको पुँजीगत लाभकरमार्फत् व्यक्तिगततर्फ २ दशमलव ५ र संस्थागततर्फ ५ प्रतिशतले वृद्धि गरेको छ। त्यस्तै शेयर दलाल कम्पनीलाई वित्तीय ऐनअन्र्तगत राखेर ३० प्रतिशत आयकर लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्