बडालको सहकारी अनुभव



नेपाल समाचारपत्र
काठमाडौं
लामो समय सहकारी आन्दोलनमा समर्पित पूर्वउद्योगमन्त्री केशव बडालले विभिन्न देशका सहकारी आन्दोलन, उपलब्धि र समृद्धिका कथा समेटेर नयाँ पुस्तक ‘दिगो विकास लक्ष्यका लागि सहकारीः अन्तर्राष्ट्रिय अनुभव’ ल्याएका छन्। पूर्वउद्योगमन्त्री बडालले पुस्तकमा अस्ट्रेलिया, क्यानडा, जापान, चीन, मलेसिया, फिलिपिन्स, भारत, क्युबा, अमेरिका, जर्मनी गरी १० देशका अनुभवलाई समेटेका छन्।

उच्चस्तरीय भूमि सुधार आयोगका अध्यक्षसमेत भइसकेका बडाल हाल सहकारी महासंघ नेपालका राष्ट्रिय अध्यक्षसमेत हुन्। उनले यसअघि ‘सहकारी सिद्धान्त र प्रयोग’, ‘भूमि र कृषिको अर्थ राजनीति’, ‘भियतनाम, भूमिसुधार र औद्योगिक विकास’, ‘चीनको अर्थ राजनीति र सहकारी’, ‘नेपालमा कृषि क्रान्ति भूमिसुधार र औद्योगिक विकास’, ‘समृद्ध अर्थतन्त्रका लागि सहकारी’ जस्ता खोजमूलक पुस्तक निकालिसकेका छन्। पछिल्लो पुस्तक उनले विभिन्न मुलुक अध्ययन भ्रमणका क्रममा देखेका सहकारी सन्दर्भ समेटेका छन्।

‘पुस्तकले विश्वव्यापी सहकारी आन्दोलन अहिले कसरी, कता र कुन दिशातिर निर्देशित भइरहेको छ भन्ने ज्ञान दिन्छ’, पुस्तकबारे अर्थविद् पिताम्बर शर्मा भन्छन्– ‘विकासबारे आइरहेका नयाँ सोचलाई सहकारी आन्दोलनले कसरी आत्मसात गर्दै अघि बढिरहेको छ भन्ने पनि पुस्तकबाट थाहा पाइन्छ।’ काभ्रे तेमाल–१ सस्र्युंखर्कमा जन्मेका बडालले ‘मुलुकको समृद्धिका लागि सहकारी मोडल उपयुक्त हुने’ दाबी गर्दै पुस्तकमार्फत विभिन्न देशका अनुभवलाई मुलुकको समृद्धिसित जोड्न चाहेको बताए।

प्रतिक्रिया दिनुहोस्