अग्रिम कर लगाउने निर्णयले शेयर बजारमा हलचल



नेपाल समाचारपत्र
काठमाडौं
आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरमा अग्रिम कर असुली गर्न नियामक निकायहरूलाई पत्राचार गरेपछि आइतबार शेयर बजारमा ठूलो हलचल मच्चिएको छ। विभागले शुक्रबारको निर्णय भन्दै आइतबारदेखि नै लागू हुने गरी आयकर ऐन २०५८ अनुसार अग्रिम कर असुली गर्न पत्राचार गरेको थियो।

विभागले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एस्चेन्ज, सीडीएस एन्ड क्लियरिङलाई पत्र लेख्दै आयकर ऐन २०५८ को परिच्छेद ८ मा उल्लेखित व्यवस्थाअनुसार बोनस र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई सो आधारमा लाभको गणना गरी अग्रिम कर असुल गर्न पत्राचार गरेको थियो।
उक्त पत्राचारपश्चात पुँजी बजारका लगानीकर्तामा अन्योलता सिर्जना भई तीव्र उतारचढावका बीच आइतबार नेप्से परिसूचक नेप्सेमा करिब ३४ अंकको गिरावट आएको छ। विभागले जारी गरेको पत्रलाई आधार बनाएर लगानीकर्ताहरूले शेयर कारोबारमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन्।

उनीहरूले विभागको निर्णयले शेयर बजार धरासयी हुने बताएका छन्। नेपाल इन्भेस्टर्स फोरमले आइतबार विज्ञप्ति जारी गर्दै विभागको पत्रले आम लगानीकर्ताको भावनामा गम्भीर असर पर्नुका साथै करको सर्वमान्य सिद्धान्तलाई नै अपमान गरेको ठहर गरेको छ। प्रचलित आयकर ऐन नियमको कुन दफा तथा उपदफाबाट हकप्रद तथा बोनस शेयरमा कर लगाउने निर्णय भएको हो भन्ने समेत उल्लेख नगरेको पत्रले लगाीकर्तालाई पुँजीबजारप्रति निरुत्साहित बनाएको विज्ञप्तिमा उल्लेख छ।

यस निर्णय आगामी दिनमा पुँजी बजारबाट राजस्वको ठूलो हिस्सा गुम्ने देखिएको भन्दै लगानीकर्तालाई नोक्सानीमा कर भुक्तानी गर्नका लागि निर्देश गर्नु करको सिद्धान्तविपरित रहेकाले फिर्ता लिन पनि फोरमले माग गरेको छ। लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस शेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी साढे ७ प्रतिशत अन्तिम कर निर्धारण गर्न समेत फोरमले माग गरेको छ। उता विभागले भने आयकरमा भएको व्यवस्थाअनुसार नै बोनस र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अंकित चुक्ता मुल्यलाई लागत लिई सो आधारमा असुल उपर गर्न भनिएको जनाएको छ।

नयाँ नीति आएपछि बढी पुँजीगत लाभकर तिर्नुपर्ने देखिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारमा कारोबार गर्नेको पुँजीगत लाभकरमार्फत् व्यक्तिगततर्फ २ दशमलव ५ र संस्थागततर्फ ५ प्रतिशतले वृद्धि गरेको छ। त्यस्तै शेयर दलाल कम्पनीलाई वित्तीय ऐनअन्र्तगत रहेर ३० प्रतिशत आयकर लागू गरिएको छ। आइतबार नै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सबै ब्रोकर कम्पनीहरूलाई आयकर ऐन २०५८ को परिच्छेद ८ मा उल्लेखित व्यवस्थाअनुसार बोनस र हकप्रद शेयरको गणना गर्दा शेयरको अंकित चुक्ता मूल्यको लागत लिई लाभको गणना गर्न पत्राचार गरेको छ।

आइतबार नेप्से ३३ दशमलव ७१ अंकले घटेर १ हजार २ सय ७३ दशमलव ९५ अंकको विन्दूमा पुगेर कारोबार बन्द भएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स ७ दशमलव शून्य ९ अंकले घटेर २ सय ६८ दशमलव १९ अंकमा पुगेको छ। यस दिन १ सय ५५ कम्पनीको ९ लाख ९७ हजार ३ सय ३८ कित्ताको शेयर खरिदबिक्री हुँदै ५४ करोड ६६ लाख ६१ हजार ३ सय ३८ रुपियाँ कारोबार भएको छ।

यस दिन सर्वाधिक कमाउनेमा युनिलिभर नेपालले ४ दशमलव शून्य ४ प्रतिशतले वृद्धि गरेको छ। त्यस्तै सर्वाधिक गुमाउने मेगा बैंकको मुल्यमा ९ दशमलव ७० प्रतिशतले घटेको छ। ९ वटा उपपरिसूचकमा उत्पादक तथा प्रशोधन समूह ३५ दशमलव ८८ अंकले बढेको छ भने बाँकी समूह घटेका छन्। सबैभन्दा बढी घट्नेमा बीमा समुह २९० दशमलव ८३ अंक, होटल समूह ६१ दशमलव ४ अंक, माइक्रोफाइनान्स समूह ५५ दशमलव शून्य ७ अंक र जलविद्युत् समूह ३३ दशमलव शून्य ९ अंकले रहेको छ। त्यस्तै विकास बैंक समुह ३० दशमलव ८३ अंक, बैंकिङ समूह २६ दशमलव शून्य ४ अंक, अन्य समूह १७ दशमलव ७७ अंक र फाइनान्स समूह ८ दशमलव ३९ अंकले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्