आलु महोत्सव शुरू, मन्त्रीले खेतमै पुगेर आलु खने



मोतीराम तिमल्सिना, काभ्रे
जिल्लामै पहिलोपटक बेथाञ्चोक गाउँपालिकामा आलु महोत्सव आयोजना गरिएको छ। राजनीतिक प्रतिस्पर्धा सकिएकाले आर्थिक समृद्धिको शुरूवात बेथाञ्चोकबाट शुरू भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताउनुभयो।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमार्फत मुलुकले समृद्धिको यात्रा शुरू गरेको भन्दै मन्त्री बास्कोटाले जिल्लाको बृहत्तर विकासका लागि आलु महोत्सव जस्ता कृषिसँग सम्बन्धित अभियान शुरू हुनुपर्ने बताउनुभयो। बेतथान्चोक गाउँपालिका र प्रधानमन्त्री कृषि सुपरजोन आलु इकाईले समृद्धका लागि शुरू गरेको अभियानमा मन्त्री बास्कोटाले सँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सरकारले पहिलो चरणमा यातायातको सिन्डिकेट तोडेको बताउँदै तरकारीमा भएको सिन्डिकेटको पनि अन्त्य गरिने बताउनुभयो। कसैले ठगी गरेर मुलुकमा शान्ति पाउँछु भन्ने कल्पना नगर्न मन्त्री बास्कोटाले चेतावनी दिँदै कम लगानीमा धेरै उत्पादन गर्नेतर्फ प्रविधि र व्यावसायिकतातर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो। महोत्सवको उद्घाटन मन्त्री बास्कोटाले खेतमा आलु खनेर गर्नुभएको थियो। महोत्सवमा स्वागत गर्दै बेथाञ्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मुलुकको समृद्धिका लागि घुस खाने र खुवाउने दुवै शत्रु भएकाले यिनको अन्त्य गर्नु पर्ने बताउनुभयो। प्रधानमन्त्री सुपरजोन सञ्चालक समितिका अध्यक्ष हरिराम खतिवडा, जिल्ला प्रमुख किशोर पन्त, वडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, भगवान घिमिरेलगायतले आलु महोत्सव र त्यसको प्रभावका बारेमा बताएका थिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, आलु सुपरजोन सञ्चालक समिति, बेथानचोक समन्वय समिति, काभ्रेपलाञ्चोकको आयोजनामा हुने उक्त महोत्सवका लागि बेथानचोक गाउँपालिका, बेथानचोक, ढुङखर्क, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई, बसुन्धारा, काठमाडांै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, आलु सुपरजोन, काभ्रेपलाञ्चोक, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, आलु जोन, भक्तपुर, जिल्ला कृषि विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकले सहयोग गरेका छन्।कार्यक्रममा उत्कृष्ट कृषकहरूलाई नगद सहित सम्मान गरिएको थियो।

सम्मानित हुनेमा पाँचखालका यादवप्रसाद अधिकारी, बेथान्चोकका कृष्णप्रसाद तिमल्सिना, भक्तपुरका शेखरनाथ दुलाल, बनेपाका देवकृष्ण मानन्धरलगायत रहेका छन्। महोत्सवमा आलुबाट बन्ने विभिन्न परिकारहरूका बारेमा स्टलहरू राखिएका थिए।

प्रतिक्रिया दिनुहोस्