कथाको अनावरण गर्दै सापकोटा



शरद श्रेष्ठ
काभ्रेपलाञ्चोक, रयालेका विजय सापकोटा जहाँ पुगे पनि साहित्य लेख्न, पढ्न र साहित्यकारहरूमा पुग्न रमाइरहने साहित्यकार हुन्। काभ्रेमा छँदा पनि यिनले साहित्यिक उत्सर्गताका लागि आफूलाई उभ्याए मात्र होइन ‘काभ्रेली नेपाली साहित्यको रुपरेखा’ नै प्रकाशित गराए। हाल यिनी बेलायतमा बस्छन् तर यिनले साहित्यको रसास्वादन बिर्सेनन्। निकै शिष्ट, गम्भीर प्रकृतिका अध्ययनशील विजयले बेलायतमा बसेर पनि साहित्य लेखिरहन, आफूलाई छापिरहन मन पराएकै कारणले ‘अनावरण’ कथासङ्ग्रह प्रकाशित गरेको देखिन्छ। समकालीन समाज र व्यक्तिको कथा लेख्न सिपालु कथाकार विजय सापकोटाका अधिकांश कथाहरू यथार्थपरक देखिन्छन्। मानवीय अनुभूति नै यिनका कथाहरूमा सम्प्रेषित हुने विषय–सन्दर्भहरू हुन्। सरल लेखन गरेर मानवीय अर्थबोध गर्ने खालका विषयवस्तु यिनका कथामा सम्प्रेषित छन्। कवितामा पनि यिनको पहुँच प्रभावशाली छ।

विजय सापकोटाको ‘अनावरण’ कथासङ्ग्रहमा १० वटा कथाहरू संगृहीत छन्। सबैजसो कथाहरूमा मानवीय भावना, संवेदना मुखरित भएका छन्। आरेभको ट्याङ्कामा सर्वहारावादी आरेमको पार्टीप्रतिको प्रतिबद्धता, इमानदारिता र उनको त्याग–भावना कस्तो निःस्वार्थ छ, देखाइएको छ। निःस्वार्थ सेवा गर्नेहरूको त्याग, तपस्या कस्तो हुन्छ, सोको परिचय देखाइएको यस कथामा ‘वर्गीय समाजमा वर्गीय प्रेममात्र न्यानो र चोखो हुन्छ’ का रहस्यहरू व्यक्त भएका छन्। ‘अन्तरण’ कथामा डेन्जाको मनोविज्ञान देखाइएका छन्। खसी व्यापारी डेन्जाका लागि खसी झोक्राउनु, मर्नुमा उसको जीवनक्रम कसरी गाँसिएका छन्, मनोवैज्ञानिक ढङ्गले विषयवस्तु पोखिएका छन्।

‘अन्तिम वाक्य’ कथामा देखाइएको खुल्दुलीमा आफैंसँग हारेर, आफैंलाई जलाएर मृत्युवरण गर्न खोजेकी पात्रले आफूलाई हार्न दिएका कथाहरू संम्प्रेषित छन्। कमजोर मनस्थितिका पात्रहरू यसै गरी जीवनका कहरहरू काट्छन्, चर्चा गरिएको छ। निम्नवर्गका पात्रहरूको चयन गरेर उनीहरूको परिवारभित्रका गन्थनहरू, मनोविज्ञान र दशाहरू पोख्न सिपालु कथाकार विजयले ‘बाहिर अन्धकार थियो’ कथामा पनि यस्तै वर्ग–दशाका कथाहरू सम्प्रेषण गरेका छन्। ‘गिर्खो’मा एकजना निम्नवर्गीय युवा जो बौद्धिक पनि छन्, उनी पत्रकार भएर, राजनीति क्षेत्रका कार्यकर्ता भएर आफूलाई चिनाउन प्रयत्न गरेका यिनैका दुःख–व्यथाका कथाहरू समाविष्ट छन्। ‘जङ्गली फूल’ मा रेनु अर्थात् रेनुको सुधोपनका कथा व्यक्त छन्। ‘निमित्त’ मा समाजसेवक शिक्षक कृष्णमोहनका सेवा कार्यहरू मुखरित छन्। यति मात्र नभई कृष्णमोहनका पिता पनि समाजले पत्याइदिएका समाजसेवक हुन्। राजनीति फेरबदल भयो, कृष्णमोहनले पनि सक्दो निःस्वार्थ राजनीति सेवा पुर्याए तर उसको भलाइ कहिल्यै भएन। उनी निमित्त मात्र भए, योग्य नायक भएनन्।

यसै गरी ‘पटाक्षेप’को कथाभित्र निःस्वार्थ सेवा गर्नेहरूको बेहाल हुने अनौठा लाग्दा त्रासका परिदृश्यहरू चित्रित छन्। ‘सन्तान’मा बूढाबूढी भएपछि छोरा–बुहारीहरूले वास्ता नगर्ने परिपाटीको चित्रण पात्रहरूको माध्यमबाट भएका छन्। अन्तिम कथा ‘विजेता’मा स्वास्नीहरूको कथा अर्थात् महिलाहरूको पीडा व्यक्त गरिएको कथा छ। विजय सापकोटा ‘अनावरण’ कथासङ्ग्रहमा सामाजिकता व्यक्त गर्न, जनमनका व्यथा कथामा व्यक्त गर्न सिपालु अनि सरल भाषाशैलीका कथाकार भएको सबैजसो कथाहरूको शैली र विषयवस्तुमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्