पेले उदाएको विश्वकपमा फोन्टेनको कीर्तिमान



पेलेको उदय भएको सन् १९५८ को छैटौँ विश्वकपमा ब्राजिलले उपाधि जितेर पहिलोपटक विश्वकप ट्रफी उठाएको थियो। १७ वर्षको कलिलो उमेरमै सो विश्वकपमा ६ गोल गरेर ब्राजिललाई पहिलो पटक विश्वकपको उपाधि दिलाउने प्रमुख खेलाडी हुन्– ‘पेले’। ब्राजिलका लेजेन्डरी फुटबलर पेलेले आफ्नो समयमा गरेको प्रदर्शन कालजयी बनेको छ।

फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मेका व्यक्ति हुन्। उनी फुटबलमा ‘बाई साइकल किक’ मार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन्। उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका विशेषज्ञ रूपमा समेत चिनिन्थे। १७ वर्षे पेलेले प्रतियोगितामा १० नम्बरको जर्सी लगाएर खेल्दै मैदानमा तहल्का मच्चाए भने विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका थिए।

यसै विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले एकै विश्वकपमा सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बनाए। जुन हालसम्म कसैले तोड्न सकेका छैनन्। समूह चरणअन्तर्गत फ्रान्सले पाराग्वेविरुद्ध ७–३ को जित निकाल्दा फोन्टेनले याट्रिक गरेका थिए। यस्तै दोस्रो खेलमा तत्कालिन युगोस्लाभियालाई ३–२ ले हराउँदा दुई गोल गरेका उनले तेस्रो खेलमा स्कटल्यान्डलाई २–१ ले हराउँदा एक गोलको योगदान दिएका थिए।

यसैगरी क्वार्टरफाइनलमा दुई तथा सेमिफाइनलमा ब्राजिलसँग फ्रान्स ५–२ ले हार्दा फोन्टेनले एक गोल गरेका थिए।

त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले जर्मनीलाई ६–३ ले हराउँदा फोन्टेन एक्लैले चार गोल गर्दै एकै विश्वकपमा १३ गोल गर्ने कीर्तिमान बनाए। स्वीडेनमा भएको सो विश्वकपमा ब्राजिलले आयोजक राष्ट्रलाई ५–२ ले पराजित गरेको थियो। जसमा पेले र भाभाले समान दुई–दुई गोल गरे भने मारियो जगालोले थप एक गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्