भण्डारीको विस्फोटक ब्याटिङमा आर्मीको जित



नेपाल समाचारपत्र
काठमाडौं
जारी पीएम कप क्रिकेट प्रतियोगितामा समूह ए मा रहेको त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ।

शुक्रबार त्रिवि मैदानमा भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई हराएको हो। १ सय ६ रनले हराएर टोलीले फराकिलो जितसमेत हासिल गरेको थियो। वर्षाले गर्दा ४५ ओभरमा छोट्याइएको खेलमा आर्मीका कप्तान विनोद भण्डारीले विस्फोटक ब्याटिङ गरेका थिए। टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि भण्डारीको ठूलो योगदान र≈यो। टोलीले ४५ ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन बनाउँदा उनले २९ बलमै ६४ रन बनाएका थिए।

अन्तिम बलमा सन्दीप ढुंगानाको बलिङमा आउट भएका भण्डारीको ब्याटिङमा ६ छक्का र ४ चौका सामेल थिए। ३६.५ ओभरमा भीम सार्की आउट भएपछि कप्तान भण्डारी आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। त्यतिबेला टोली ६ विकेटको क्षतिमा १ सय ३९ रनमा थियो। तर भण्डारीले आक्रमक ब्याटिङ गरेर टोलीलाई सुरक्षित स्कोरसम्म पुर्याएका थिए। अन्तिम ओभरमा सन्दीपको बलिङमा शुरूका पाँच बलमा तीन चौका र दुई छक्का प्रहार गरेका उनी इनिङको अन्तिम बलमा क्याच आउट भएका थिए।

आर्मीका ओपनर सागर पुन ८ रनमै आउट भएपछि अर्का ओपनर अनिल मण्डलले नरेश बुढायरसँग ५२ रनको साझेदारी गरेका थिए। अनिल ३६ रनमा आउट भए भने उनको स्थानमा आएका राजु रिजाल जम्न सकेनन्। चौथो विकेटमा रूपमा नरेश बुढायर व्यक्तिगत ३२ रनमा आउट हुँदा आर्मीले २५.१ ओभरमा ८८ रन मात्र बनाएको थियो। भण्डारीलाई साथ दिएका सोमपाल कामीले २२ रन र विक्रम सोबले १६ रनको महत्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ प्रदेश १ का मनोज तामाङले ३ विकेट लिँदा मिनास थापा र फिर्दोष अन्सारीले २–२ विकेट लिए।

प्रत्युत्तरमा २९.३ ओभरमा सबै विकेट गुमाएर प्रदेश १ ले १ सय १९ रन मात्रै बनाएको थियो। टोलीका कप्तान पुष्प थापाले ५९ रन बनाउनु र राजन मगरले २४ रन जोड्नुबाहेक अन्य खेलाडी आर्मीका बलरसामु टिक्न सकेनन्। टोलीका चार ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्। विपक्षीको ब्याटिङ धरासयी गराउनमा सुसन भारीले सर्वाधिक ४ विकेट लिएका थिए। ६.३ ओभरमा उनले १ मेडनसहित १५ रन मात्रै खर्चेका थिए। त्यस्तै सोमपाल कामी, सागर पुन र साहव आलमले पनि २–२ विकेट हासिल गरेका थिए।

यसैबीच प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत मूलपानी मैदानमा हुनुपर्ने नेपाल पुलिस र प्रदेश नम्बर ६ बीचको खेल वर्षाका कारण मैदानमा पानी जमेपछि टस पनि नभई स्थगित गरिएको छ। खेल स्थगित भएपछि दुवै टिमले एकएक अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्