तीन प्रमुख प्रतियोगितामा ध्यान केन्द्रित हुने



युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्मा पत्रकार सम्मेलनमा बोल्नुहुँदै। तस्वीर: उजोल डंगोल

नेपाल समाचारपत्र
काठमाडौं
युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले सय दिनको मूल्यांकन गर्नुभएको छ।

बिहीबार खेलकुद मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री विश्वकर्माले नयाँ सरकार बनेदेखि मन्त्रालयले गरेको कार्य र आगामी योजनाबारे विवरण पेस गर्नुभयो। यस वर्ष तीन ठूला प्रतियोगिता हुने भएकाले सोकै लागि धेरै ध्यान केन्द्रित हुने पनि मन्त्रीले बताउनुभयो। भदौमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने १८औं एसियन गेम्समा नेपालले २८ खेलमा सहभागिता जनाउनेछ।

यसै गरी मंसिरमा आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा हुनेछ भने वर्षको अन्तमा नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दै छ। यसका लागि मंगलबार अर्थमन्त्री युवराज खतिवडाद्वारा पेस गरिएको बजेटमा यी तीन प्रतियोगिताका लागि २ अर्ब रकम छुट्याएको छ।

‘हामीले गएको १ सय दिनमा काम गरेको र उपलब्धि भएको बारे जानकारी गरायौं। केही काम भए केही हुने वाला छ। हाम्रो अबको लक्ष्य भनेको तीन ठूला प्रतियोगितामा हो, जुन अबको एक वर्षभित्र सम्पन्न हुनेछन्।’ मन्त्री विश्वकर्माले भन्नुभयो।

काठमाडौं र पोखरामा आयोजना हुने १३औं सागका लागि आवश्यक पूर्वाधार निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको भन्दै प्रतियोगिताका लागि लक्षित गरी भइरहेका निर्माण, पुनर्निर्माणका कामहरु समयमै सम्पन्न हुने विश्वकर्माले जानकारी दिनुभयो। यसका साथै उहाँले भक्तपुरको सूर्य विनायक र चाँगुनारायणमा गरी दुई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने पनि उल्लेख गर्नुभयो। जग्गा प्राप्तिको प्रक्रिया समाप्त भएपछि टेन्डरको आ≈वान गरिने र यी रंगशाला आगामी ३ वर्षमा निर्माण हुने पनि उहाँले बताउनुभयो। यस्तै प्रदेशअनुसार इटहरी, जनकपुर, हेटौंडा, पोखरा, दाङ, सुर्खेत र धनगढीमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्न जग्गा उपलब्धि हुने सम्भावना रहेको विश्वकर्माले बताउनुभयो।

उहाँले दिनुभएको विवरणअनुसार १२ वर्षे खेलकुद गुरु योजनाको मस्यौदा तयार भएको तथा पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस सिटीका रूपमा विकास गर्ने, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गर्ने, मूलपानीको जग्गा सट्टापट्टा गरेर भए पनि विवाद समाधान गरी निर्माण कार्य शुरू गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको र राष्ट्रिय खेल संघहरुको अभिलेख राख्ने काम भएको छ।

यसै गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १ सय ७० खेल संघ दर्ता भएका छन्। मन्त्री विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन र नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधान पनि आफ्नै पहलमा भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्