सनसनी हंगेरीको विजेता बन्यो जर्मनी



पाँचौं विश्वकप फुटबल प्रतियोगिता सन् १९५४ मा स्विजरल्यान्डमा सम्पन्न भएको थियो। यो प्रतियोगिताको उपाधि पश्चिम जर्मनीले जितेको थियो। त्यति बेला जर्मनी र हंगेरी नै उपाधिका दाबेदारी थिए। संजोगवश दुवै टोली फाइनलमा पनि पुगे र जर्मनीले हंगेरीलाई ३–२ ले हराएर विश्व विजेता बन्न सफल भयो।

यो विश्वकप हंगेरीकै भनेर प्रतियोगिता शुरू भएदेखि नै भनिएको थियो। फरेन्क पुस्कासको उत्कृष्टता र जर्मनीलाई समूह चरणमा ८–३ ले हराएपछि हंगेरीको उपाधि पक्का भएको सबैले अनुमान लगाइसकेका थिए। त्यसमाथि सन् १९५० देखि अपराजित हुँदै आएकाले हंगेरीको जर्मनीसँग फाइनल खेल औपचारिक मात्रै हुने अन्दाज लगाइयो। फेरि फाइनल खेलमा पुस्कास र सजिबोरले गोल गरेर हंगेरीलाई २–० को अग्रता पनि दिलाए। तर, जर्मनीका राहनले दुई र मोरलोकले एक गोल गर्दा हंगेरीको विश्व विजेता बन्ने सपना चकनाचुर भएको थियो। सन् १९५० देखि १९५६ सम्ममा यो नै हंगेरीको एक मात्र हार बनेको थियो।

यसै विश्वकपदेखि नै टेलिभिजनमा पहिलोपटक प्रसारण भएको हो।
यस्तै हंगेरीले दक्षिण कोरियालाई ९–० गोलअन्तरले हराएर कोरियाको पहिलो विश्वकप स्वाद तीतो बनाएको थियो। हंगेरीले रफ खेल पनि खेलेको थियो। हंगेरी र ब्राजिलबीच भएको क्वार्टरफाइनल खेलमा भिडन्त हुँदा दुवै टोलीका ३–३ खेलाडी रातो कार्डको भागिदार भए। उनीहरुको झगडा खेल समाप्त भएपछि ड्रेसिङ रुमसम्म पनि चलेको थियो।

प्रतिक्रिया दिनुहोस्