हरिको अलराउन्डमा प्रदेश ४ विजयी



काठमाडौं, (नेस)
काठमाडौंमा जारी पीएम कप क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ ले पहिलो जित दर्ता गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ४ ले जित्ने क्रममा प्रदेश नम्बर १ लाई १ सय २९ रनको फराकिलो हार चखाएको हो । टोलीको जितमा हरिबहादुर चौहानले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा सतकीय योगदान दिँदा बलिङतर्फ चार विकेट लिएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा यो टोलीको तीन खेलमा पहिलो जितसमेत थियो ।

यसअघि पहिलो खेलमा एपीएफ र प्रदेश २ सँग पराजित भएको प्रदेश ४ ले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो । जसमा हरिले १ सय १५ बलमा १ सय रन बनाएर पवेलियन फर्केका थिए । सतक प्रहार गरेको लगत्तै उनलाई सन्दीप ढुंगानाले पवेलियन फर्काएका थिए । साथै यो जारी प्रतियोगितामा पहिलो सतक पनि हो ।

चौथो नम्बरमा ब्याटिङमा आएका हरिले छैटौं विकेटका लागि सुमन घिमिरेसँग १ सय ३६ रनको साझेदारी गरेपछि टोली विशाल स्कोरतिर लम्केको थियो । सुमनले ५३ बलमा ६ छक्का र ६ चौका प्रहार गरेर आकर्षक ६३ रन जोडेका थिए । उनीहरुले बलियो साझेदारी गर्न अगाडि ५ विकेट गुमाएर टोली कमजोर बनिसकेको थियो । बलिङतर्फ प्रदेश १ का पुष्प थापा र सन्दिप ढुंगानाले २–२ विकेट लिए ।

जवाफमा उत्रको प्रदेश एकले ३५ ओभरसम्म संघर्ष गरेर १ सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीप ढुंगानाले ७१ रन बनाउनु नै उल्लेखनीय योगदान सावित भएको थियो । प्रदेश ४ का बलरमा हरिले चार विकेट लिँदा विपिन खत्री र राजु गुरुङले २÷२ विकेट लिएका थिए । म्यान अफ द म्याच हरिले अन्तिमतिर तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्