खेलकुदमा पहिलेको तुलनामा दोब्बर बजेट



नेपाल समाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७५÷७६ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा मंगलबार प्रस्तुत गरेको बजेटमा खेलकुदलाई ४ अर्ब १८ करोड ९५ लाख रुपियाँ विनियोजन भयो। यो गत आर्थिक वर्ष २०७४÷७५ को बजेटभन्दा करीब २ गुणा बढी हो। गत आर्थिक वर्षको बजेटमा खेलकुदलाई २ अर्ब २४ करोड रुपियाँ विनियोजन गरिएको थियो।

मंगलबार गरिएको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपियाँमा खेलकुदका लागि बजेट शून्य दशमलव ३१९ प्रतिशत भाग परेको छ। युवा तथा खेलकुद मन्त्रालयतर्फ ३ अर्ब ७५ करोड ५४ लाख, प्रदेशतर्फ २८ करोड ४ लाख र स्थानीयतर्फ १५ करोड ३७ लाख रुपियाँ बजेट विनियोजन भएको छ।
खेलकुदको बजेटमध्ये २ अर्ब ४ करोड रुपियाँ आगामी वर्ष हुने प्रमुख तीन प्रतियोगिताका लागि छुट्टयाइएको छ। आगामी वर्ष जकार्तामा एसियाली खेलकुद, १३औं दक्षिण एसियाली खेलकुद र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छन्। यसमा दक्षिण एसियाली खेलकुद नेपालले नै आगामी सन् २०१९ मा आयोजना गर्दै छ।

यस्तै सातैै प्रदेशमा न्यूनतम एक प्रदेशस्तरीय रंगशाला निर्माणका लागि बजेट छुट्याइएको छ। बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री खतिवडाले बालबालिका तथा युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई जोड दिइने बताएका छन्। स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताका आधारमा रंगशाला (खेल मैदान) युवा क्लब तथा विचरण पार्क क्रमिकरूपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको पनि खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्