अथवा डल्लो



‘डल्ला’ अथवा ‘डल्लो’ यस शब्दलाई जसले जसरी बुझ्छन् त्यसरी परिभाषित गरे हुन्छ । कसैका लागि माटोको डल्लो, कसैका लागि सक्खरको डल्लो, कसैका लागि सुनको, कसैका लागि भकुण्डो (फूटबल) अनि कसैका लागि क्रिकेट बल । अहिले शहर बजारमा क्रिकेट बलको चर्चा छ ।

हाम्रा पीएम ओलीले क्रिकेट बललाई ‘डल्ला’का रूपमा बुझ्या रैछन् । केही दिनअघि उनले क्रिकेटर सन्दीपले डल्ला हान्ने मौका पाएपछि चर्चाको चुलीमा रहेको बताए ।‘मौका पाउँदा नेपालीले डल्ला हानेर पनि चर्चा बटुल्छ, तर नेपालीले मौका पाउँदैनन् र पो’ –उनले एक कार्यक्रममा यस्तै भने । आफूले डल्ला हान्ने मौका मिलेन भनेर त्यसो भनि हाल्न चाहिँ मिल्दैन है कम्रेड ।

आफ्नै समकक्षी प्रचण्ड डल्लाका कारणले अहिलेको पोजिसमा पुग्या ओलीलाई थाहा नभएन कि क्या हो ? प्रचण्ड नेतृत्वको टोलीले विद्रोहीमाथि ग्रिनेड, सकेट बम, कुकर बम, लगायत अनेक थरी डल्ला प्रहार गरेर चर्चा बटुल्या थियो । अहिले विप्लव मौका मिलाएर त्यस्तै डल्ला प्रहार गर्छन् । यता ओली कम्रेड पनि के कम, उखान टुक्काका डल्ला राम्रैसँग प्रहार गरिरहन्छन् ।

मुलुकको डाडुपन्यू आफ्नै हातमा रहेका बेला आर्थिक विकास र जनताका आकांक्षा पुरा गर्ने डल्ला पकाए त हुने हो । पकाउने भाँडो चाहिँ कस्तो छ कुन्नी, भाँडोमा आश्वासनका डल्ला मात्रै पाक्ने पो हुन् कि !

प्रतिक्रिया दिनुहोस्