अजारेन्का पनि बाहिरिइन्



पेरिस, (एजेन्सी)
महिला सिंगल्सतर्फ दुई पटककी ग्रान्डस्लाम च्याम्पियन भिक्टोरिया अजारेन्का फ्रेन्च ओपनबाट पहिलो चरणबाटै बिदा भएकी छन् । बेलारुसकी अजारेन्कालाई चेक खेलाडी केटेरिना सिनियाकोभाले ७–५, ७–५ सेटमा हराएकी थिइन् ।
वर्षको दोस्रो ग्रान्डस्लाम प्रतियोगिताबाट बाहिरिनेमा अजारेन्का तेस्रो चर्चित महिला खेलाडी हुन् । यसअघि आइतबार प्रतियोगिताको पहिलो दिन मै अमेरिकाकी भेनस विलियम्स र डिफेन्डिङ च्याम्पियन यलेना ओस्टापेन्को पराजित भएका थिए ।

अजारेन्काको यस वर्ष यो पाँचौ प्रतियोगिता थियो । उनी उनका छोरालाई कस्टडीमा राख्न कानुनी लडाइँ गरिरहेकी छिन् । सन् २०१६ मा छोरा जन्माएपछि उनी गत वर्षको जुनमा कोर्टमा फर्केकी थिइन् । तर उनका पूर्वपतिविरुद्ध छोरालाई आफूसँग राख्न कानुनी झमेलामा परेपछि फेरि उनको करियरमा बाधा परेको छ ।
पूर्वनम्बर एक अजारेन्काले वर्षमा हुने पहिलो ग्रान्डस्लाम अस्टे«लियन ओपन २०१२ र २०१३ वर्षमा जितेकी थिइन् । उनको पेरिसको रोलान्ड ग्यारोसमा सर्वश्रेष्ठ प्रदर्शन सन् २०१३ मै भएको थियो । उनी सेमिफाइनलमा मारिया सारापोभासँग हारेकी थिइन् । उनले यस वर्षमा हुने विम्बल्डनमा सहभागिता जनाउने भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्