च्याउको बीउ माग धेरै उत्पादन थोरै, कारण खोज्दै नियामक निकाय



 

कञ्चनपुर । कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् ।

पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् ।

बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले प्रतिवर्ष दुई हजार बोतल कन्ये जातको च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिई बीउ उत्पादन गर्दै आएको छ । यस वर्षमात्रै दुई हजार ११६ बोतल च्याउको बीउ उत्पादन गरेको प्रयोगशालाले गत वर्ष चार हजार २४२ बोतल बीउ उत्पादन गरेको थियो ।

व्यावसायिक च्याउखेती गर्ने किसान बढ्दै जाँदा बीउको माग बढ्न थालेको हो । प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले भन्नुभयो, “थोरै बजेट र दक्ष जनशक्तिको अभावमा धेरै बीउ उत्पादन गर्न सकिँदैन ।”

उहाँका अनुसार बीउ उत्पादनका लागि वार्षिक रुपमा विनियोजन हुने रु एक लाख बजेटले पूरै प्रदेश नं ७ का किसानलाई सहज रुपमा बीउ उत्पादन गरी उपलब्ध गराउन सकिँदैन ।

“अनुकूल मौसम नहुँदासमेत वर्षभरि नै बीउ उत्पादन गर्न निकै कठिन हुने र प्राविधिक समस्या झेल्नु पर्छ”, उहाँले भन्नुभयो ।

बीउ उत्पादनका लागि आवश्यक पर्ने उपकरणसमेत पर्याप्त नहुँदा समस्या छ । प्रदेशको पहाडी क्षेत्रमा च्याउको माग बढ्दो छ । बाह्रै महिना वातावरण अनुकूल बनाइएका प्लाष्टिक घरमा च्याउ उत्पादन गर्न सकिन्छ । तराई क्षेत्रका धेरै किसानले व्यावसायिक रुपमा च्याउको खेती गर्नका लागि कैलालीको चुरे गाउँपालिका क्षेत्रमा जग्गा भाडामा लिई च्याउखेती गर्दै आएका छन् ।

व्यावसायिक च्याउखेती गर्दै आएका राजेन्द्रबहादुर ऐरले मागअनुरुप प्रयोगशालाबाट बीउ उपलब्ध नहुँदा चितवनलगायतका क्षेत्रबाट बीउ ल्याई खेती गर्नुपरेको उहाँले बताउनुभयो ।

प्रयोगशालाले गहुँमा क्याल्सियम कार्वोनेट, क्याल्सियम सल्फेटको मिश्रण गरी प्लाष्टिक थैलामा प्याक गरेर डेढ घण्टासम्म शुद्धीकरण गर्ने र भोलिपल्ट कल्चर गरी ढुसी लागेपछिको १० दिनपछि वितरण गर्न तयार हुन्छ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ । प्रयोगशालाले किसानलाई कन्ये जातको च्याउको बीउ रु २५ प्रति बोतलका दरले बिक्री गर्दै आएको छ ।

कृषि विकास कार्यालयका अनुसार ३०० भन्दा बढी किसानले च्याउखेती गर्दै आएकामा १०० भन्दा बढी किसानले व्यावसायिक रुप दिएका छन् । च्याउबाट भिटामिन ‘ए’, रक्त चाप नियन्त्रण गर्ने तत्व र क्याल्सिएम प्रचुर मात्रामा पाइने भएकाले स्वास्थ्यका लागिसमेत लाभदायक हुनाका साथै मिठो हुने भएकाले सहजै बिक्री हुने गरेको छ ।

कञ्चनपुरमा च्याउखेती एक दशकअघिदेखि गरिँदै आए पनि यसको व्यावसायिक खेती भने पाँच वर्षयतादेखि हुँदै आएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्