प्रदेश २ सरकारको सय दिनः काम कम विवाद बढी



कृष्णउदास खनाल, वीरगन्ज ।

२०७४ साल फागुन ३ गते प्रदेश नम्बर २ का मुख्यमंत्री लालबावु राउतले पद तथा गोपनियताको सपथ गरेका थिए यो संगै प्रदेश नंं २ सरकारको सय दिन पुरा भइसकेको छ ।

प्रदेश २ मा संघीय समाजवादी फोरमको संसदीय दलको नेता लालबाबु राउतको नेतृत्वमा फोरम र राजपा गठबन्धनको संयुक्त सरकार गठन भएको थियो । राउत नेतृत्वको प्रदेश सरकार गठन भएको सय दिनमा काम कम र विवाद धेरै भएको विश्लेषकहरु बताउँछन् । मुख्यमन्त्री राउतले सरकार गठनको १० दिनपछि आफ्नो सरकारको सय दिने कार्ययोजना तथा प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका थिए । तर, ति प्रतिबद्धताहरु मात्र कागजमा सिमित भएको मधेशकै बिज्ञहरुले बताएका छन् ।

सय दिनको अवधिमा संघियता स्थापित भएपनि सरकारले जुन तदारुकताका साथ काम गर्नुपर्ने थियो त्यो हुन नसकेको प्रदेश २ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामसरोज यादव बताउँछन् । आर्थिक र संवैधानिक रुपमा केन्द्रिय सरकारमा निर्भर भएपनि विधेयक ल्याउनमा संवैधानिक कठिनाई थिएन्, यादव भन्छन् सरकारले तीन महिनामा धमाधम विधेयकहरु प्रदेशसभामा ल्याउनु पथ्र्यो । विज्ञहरुलाई नियुक्त भएपनि विधेयक निर्माणको कार्यलाई गति दिनु पथ्र्यो तर, त्यसो नगरी मुख्यमन्त्री र मुन्त्रीहरु कार्यक्रमहरु भ्याउन र आफ्नो व्यक्तिगत स्वार्थ सिद्धिमा लागेको कारण सय दिन उपलब्धीमुलक हुन सकेन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा तत्कालिन एमालेका पार्टीका संसदिय दलका नेता सत्यनारायण मण्डल राउत सरकारको सय दिनलाई असफल भएको जिकिर गर्छन् । जबकी राउत सरकारका उनको पार्टी पनि समर्थक नै थियो । नियत राम्रो नभएको र थोर बहुत स्रोत साधनमा समेत गिद्धे दृष्टि गाडेर बस्ने मन्त्रीहरुको चरित्रका कारण प्रदेश सरकारको सय दिनमा विवादले बढि स्थान पाएको र उपलब्धी केही पनि नरहेको मण्डलको भनाई छ ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सरकारको सय दिनलाई ऐतिहासिक र उपलब्धीमुलक भएको दाबी गर्छन् । उनले सरकारको सय दिनमा ठूलो उपलब्धी भएको बताए । भारतीय प्रधानमंत्रीको जनकपुर आवागमन निकै ठूलो उपलब्धी भएको उनको भनाइ छ । कर्मचारी अभावका कारण पनि काम गर्न आफूहरुलाई निकै कठिनाइ परिरहेको उनको भनाइ छ ।केन्द्र सरकारको असयोगका वावजुद आफूहरु अगाडि बढिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्