किम र मुन अप्रत्यासित भेटवार्ता, ट्रम्प–किम वार्ता रोकिएको मुद्दामा छलफल



सोल, (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली नेता मुन जे इनबीच शनिबार आकश्मिक भेटवार्ता भएको छ। यी दुई नेताबीच विगत ४ हप्तामा भएको यो दोस्रो भेटवार्ता हो।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना कोरियाली नेता किमसँग हुने भनिएको प्रस्तावित वार्ताबाट पछि हटेको घोषणा गरेका थिए। तर उनले उक्त बैठक हुन सक्ने सम्भावना जीवित रहेको आशयमा वक्तव्य दिएपछि दुई कोरियाली देशका नेताबीच यो भेटघाट भएको हो।

यो भेटवार्ता उत्तर तथा दक्षिण कोरियालको सीमास्थित असैन्य इलाका पानमुनजोममा स्थानीय समय अपरा≈न ३ बजेदेखि ५ बजेको बीचमा भएको थियो। पानमुनजोम कोरियाली प्रायद्वीपको एक मात्र त्यस्तो ठाउँ हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिक एक अर्कासँग जम्काभेट भइरहेको हुन्छ। सन् १९५३ देखि यहाँ युद्धविराम लागू भइरहेको छ।

दक्षिण कोरियाका प्रधानमन्त्री कार्यालयले भनेको छ– ‘दुवै नेताले उत्तर कोरिया र अमेरिकाबीचको शिखर सम्मेलन रोकिएको मुद्दामा आफ्ना धारणा साझा गरेका छन्।’
शुक्रबार डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमसँग उनको बैठक अहिले पनि जुन १२ मा हुन सक्ने बताएका थिए। ट्रम्पले भने– ‘के हुन्छ, हामी हेरिरहेका छौं। यो जुन १२ मा पनि हुन सक्छ। उसले यो वार्ता होस् भन्ने चाहनुपर्छ र हामी पनि यही गर्न चाहन्छौं।’
बिहीबार मात्रै उनले किमसँगको आफ्नो शिखर वार्ता रद्द गरेको बताएका थिए। उनले उत्तर कोरियाबाट आएको खुला विरोधका कारण रद्द गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्