प्रतिपक्षलाई गाली गरेर समृद्धि हासिल हुँदैन



डा.नारायण खड्का, सांसद नेपाली कांग्रेस

नेपाली कांग्रेसका नेतासमेत रहेका डा. नारायण खड्का उदयपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनुहुन्छ । २०६४ र २०७० सालको संविधानसभामा पनि निर्वाचित हुनुहुन्थ्यो। योसहित उहाँ जनताबाट निर्वाचित भएको तेस्रोपटक हो। पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका खड्का राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसक्नुभएको छ। उहाँले सरकारको १ सय दिन पनि प्रभावकारी नभएको र ‘हावादारी गफ’ मा मात्र बितेको दाबी गर्नुभएको छ । प्रस्तुत छ ः सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, मंगलबार आउँदै गरेको वार्षिक बजेट, पछिल्लो राजनीतिक अवस्था तथा कांग्रेसको अबको गतिलगायतका विषयमा खड्कासँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको कुरकानी:

सरकारको नीति तथा कार्यक्रमलाई कसरी हेर्नुभएको छ ?

झट्ट हेर्दा यो हावादारी गफजस्तो छ । यो योजना अत्यन्तै महत्वाकांक्षी छ । बहकाउमा आएको नीति तथा कार्यक्रम हो भन्दा फरक पर्दैन । विपक्षी दलको सांसद भएकाले सधैं आलोचना गरेर बसिरहनुपर्छ भन्ने पक्षमा छैन म । आग्रह र पूर्वाग्रह राखेर बोलेको होइन मैले, सरकारले राम्रो काम गरेको छैन केवल ऊ अझै पनि विपक्षीलाई गाली गर्नमै सीमित छ । प्रतिपक्षलाई गाली गरेर मात्र आर्थिक विकास र समृद्धि हासिल गर्न सकिँदैन । राम्रो र जनताको पक्षमा काम गरेमा जुनसुकै पार्टीकोे सरकार आलोचनाबाट मुक्त हुन्छ । सरकार हिजोको दिनमा सन् २०३० सम्म दीगो विकास लक्ष्यमा पुग्ने भन्दथ्यो तर आजभोलि त्यसलाई पनि अघि नै ल्याउने भन्दै छ । भयो भने त ठीकै हो । तर अब सधैं गफ मात्र गरेर जनताले पत्याउने छैनन् । जलविद्युत्, कृषि र उर्जाका धेरै कुरा आएका छन् ।त्यसलाई कार्यान्वयन गर्नेतर्फ चासो देखाइयोस् हाम्रो शुभकामना । सरकारी संयन्त्र प्रभावकारी नभई योजनाहरु सफल हुन सक्दैनन् सरकारले त्यसतर्फ चासो देखाएको छैन ।

सरकारका योजनामा विश्वास लागेको छैन भन्न खोज्नुभएको हो ?
योजना नै नराम्रा छन् भनेको होइन मैले तर कार्यान्वयनमा चाहिँ समस्या छ । केहीअघि अर्थमन्त्रीले जारी गर्नुभएको श्वेतपत्र पनि अचम्मको छ । सरकारी ढिकुटी रित्तो छ भनेर जुन कुरा गरिएको छ त्यसो हो भने कसरी ती सबै लक्ष्य पूरा गर्न सकिन्छ र ? त्यसैले सरकारको कार्ययोजना नै अलमलमा परेको देखिन्छ, एकअर्काबीच तालमेल मिलेको छैन । चालु खर्च गर्न पनि ऋण लिनुपर्ने अवस्था आए समस्या हुन्छ । गत शुक्रबार मात्र चीन सरकारका प्रवक्ताले २ वामबीच भएको पार्टी एकीकरण राम्रो भएको भनेर एकताको स्वागत गर्नुभएको छ । चीन सरकारले नेपाललाई हरेक ढंगले सघाउने भनेको छ यो राम्रो कुरा हो यसको खुलेर समर्थन गर्छौं । सरकारले सबै देशसँग आत्मीय र घनिष्ठ सम्बन्ध राखेर जानुपर्दछ जसले गर्दा विकासका योजनाहरु अघि बढाउन सजिलो हुन्छ । सरकारको मानसिकता झै केन्द्रीकृत छ, प्रदेशलाई पनि संघबाट नै सञ्चालन गर्न खोज्ने कुराले समग्र क्षेत्रलाई सबल बनाउन सकिँदैन । स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउनु सरकारको पनि दायित्व हो । हिजो देखिएका विकृति र विसंगतिको अन्त्य नगरी पुरानै पाराले सरकार र अन्य संयन्त्रहरु चलाउँछु भन्ने सोचाइ गरियो भने त्यो खतरनाक हुन्छ ।

सरकारले मंगलबार बजेट ल्याउँदै छ, सरकारले भनेजस्तो जनताको पक्षमा बजेट आउन सम्भव छ कि छैन ?
सरकारको नीति तथा कार्यक्रम अत्यन्तै फितलो भएकाले त्योभन्दा गतिलो बजेट आउला भन्ने लाग्दैन । त्यस्तैउस्तै उट्पट्याङ आउँछ । केपी शर्मा ओलीजीको सरकारले सबै कुरा गर्ने प्रतिबद्वता देखाएको छ तर भाषणले मात्र जनता खुसी हुन सक्दैनन् । नीति तथा कार्यक्रममा छुटेका योजनालाई बजेटमा समावेश गरे पनि हुन्छ ।

सरकारको १ सय दिनको गतिविधिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
सरकार आफूसँग धेरै संख्या र समर्थन छ भनेर घमण्ड गरिरहेको छ, यसको कुनै अर्थ छैन । दैनिक उपभोग्य सामग्रीको भाउ बढिरहेको छ, जनताले न्याय पाउन सकेका छैनन् । नागरिकमा शान्ति सुरक्षाको अनुभूति हुन सकेको छैन । ३३ किलो सुनमा संलग्न जसलाई पनि कारबाही होस्, मेरो र तेरो भनेर कोही उम्किने वातावरण कतैबाट नहोस् । सरकारले यातायातको सिन्डिकेट तोडँे भनेको छ । अनियमितता गर्ने र अस्थिरता मच्चाउनेलाई पनि कारबाही गर्ने भनेको छ त्यो राम्रो काम हो । अहिले जनताले भाषण र प्रतिवद्वताभन्दा पनि तत्काल देखिने उपलब्धि खोजेकाले सरकार त्यो दिशातिर लागोस् । हिजोका दिनमा सबैजसो दलहरुले जनतालाई झुक्याएकाले अब तत्कालै नदेखिने काममा कसैको विश्वास छैन ।

एमाले र माओवादी केन्द्र मिलेपछि कांग्रेस अत्तालियो भन्छन् नि ?
हामीलाई कुनै डर छैन र आत्तिने अवस्था आइसकेको छैन । उनीहरुको एकता दिगो होस् मेरो शुभकामना । तर एकताको शुरुमा नै त्यति राम्रो लक्षण देखापरेको छैन । साँच्चै भन्ने हो भने ओली र प्रचण्डबीच पनि अनेकन कुरामा मतभेद छन्, कार्यकर्ता व्यवस्थापनको चुनौती पनि छ त्यसैले पनि शंका गर्ने ठाउँहरु प्रशस्तै छन् । कांग्रेसले थप मिहनेत गर्नुपर्छ भने पनि समस्या छैन । कांग्रेस त सधैं संघर्षबाट हुर्किएर आएको पार्टी हो । हिजोका दिनमा पनि विपक्षी भएर बसेकै हो, आज बस्नै नहुने भन्ने पनि छैन । कांग्रेसले अलिकति बढी मिहनेत ग¥यो भने भविष्य उज्जवल छ । कांग्रेसप्रति जनताको अगाध आस्था र विश्वास छ अलिकति समस्या के हो भने हामीले ती कार्यकर्तालाई संरक्षण गर्न सकेका छैनौं । केन्द्रीय समितिको बैठकमा पनि समीक्षा गरेका छौं, कांग्रेसको परिणाम थोरै घटेको हो यो स्वीकार्नुपर्छ तर पतनै भयो अब कांग्रेस सकियो भन्ने हल्ला गरेर हिँड्नु राम्रो होइन ।

अब कांग्रेसले के गर्दा पार्टीलाई जीवन्त राख्न सजिलो होला ?
जीवन्त राख्ने भन्ने कुरै होइन, कांग्रेस कहाँ मरेको छ र तर सुधार गरेर जानुपर्ने खाँचो छ । हामीबीच देखिएका आन्तरिक द्वन्द्वलाई घटाउँदै जानुपर्छ । अरु बेला पार्टी एउटै हुने अनि निर्वाचनका बेला आफ्नै पार्टीका साथीहरु पनि विपक्षीजस्तो हुने रोगले कांग्रेसलाई सताएको छ । भोलिका दिनमा आफ्नै कार्यकर्ता र नेताका कारणले निर्वाचनमा हार खाने वातावरणको अन्त्य गर्नुपर्ने गहन जिम्मेवारी छ । यो पार्टी र त्यो पार्टी भन्दै मेरो र तेरोका नाममा टिकट वितरण गरिएको पनि सुनियो यस्ता गतिविधिले विपक्षीलाई मात्र फाइदा पुगेको छ । पहिलो तहमा बसेका नेताहरुको जिम्मेवारी बढी हुन्छ हामी पनि त्यसको पछि हुन्छौं । अहिले आन्तरिक संगठन मजबुत बनाएर गाउँ तहसम्म संगठन गर्ने बेला आएको छ ।

संसद्मा कांग्रेसको भूमिका प्रभावकारी भएन भन्ने गुनासो पनि छ नि ?
अलिकति यस्ता गुनासा आएको हामीले पनि सुनेका छौं । संसद्मा बसेर छलफल गरिरहेका छौं । आफ्नो कुरा राखेका छौं, विपक्षीले जे गर्छ त्यसमा अन्धधुन्द समर्थन जनाएका छैनौं । प्रमुख प्रतिपक्षी भनेको ‘वेटिङ गभरमेन्ट’ पनि भएकाले हामीले मर्यादा मिचेर केही गलत काम गरेका छैनौं । रेलिङ भाँच्ने, सडकमा ढुंगामुढा गर्ने कांग्रेसको संस्कार छैन त्यसैले सभ्य र भद्र प्रतिपक्षको भूमिका निभाएका छौं ।

प्रतिक्रिया दिनुहोस्