विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तयारी



नेपाल समाचारपत्र
विराटनगर
विराटनगर विमानस्थल अब अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार हुने भएको छ। विराटनगर विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको हुँदा सो अनुरूप अगाडि बढ्ने भएको हो। विमानस्थलको हाल भइरहेको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाईको क्षेत्रलाई २४ सय मिटर लम्बाई र ४५ मिटर चौडाईमा विस्तार गरिने भएको छ।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्देशन दिनुभएको छ।
विराटनगरको विमानस्थलको भावी विकास तथा चुनौती विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मुआब्जा वितरणको समय तोक्न निर्देशन दिँदै असार १ गतेबाट वितरण गर्न उहाँले निर्देशन दिनुभएको हो।

यस्तै उहाँले टयाक्सी वे, पार्किङ क्षेत्र एक वर्षभित्रमा निर्माण गर्न निर्देशन दिनुभएको छ। मन्त्री अधिकारीले खर्चको चिन्ता नगर्न पनि आश्वस्त पार्नुभयो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने र यसका लागि सम्पूर्ण मापदण्ड निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले प्रदेश नम्बर १ को आन्तरिक उडान, प्रादेशिक र अन्तर्राष्ट्रिय उडानका लागि मुआब्जा वितरण गर्ने तयारी अन्तिम अवस्थामा पुगेको बताउनु भयो। कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने ३ सय बिगा जमिन केशलिया पारी किनेर बिस्तार गर्नुपर्ने बताउनुभयो।
उहाँले विमानस्थलबाट पश्चिम रनवे विस्तारका लागि समस्या नरहेको बताउनुभयो। उहाँले माउन्टेन फ्लाइट सञ्चालन र क्षेत्रीय एयरपोर्ट बनाउन मन्त्रीको ध्यानाकृष्टसमेत गराउनुभयो। उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले विराटननगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाई आर्थिक आयआर्जको रूपमा विकास गर्न मन्त्रीको ध्यानाकर्षण गर्नुभयो। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विराटनगर विमानस्थल हाल ७८ हेक्टर तथा १ सय १५ बिगा जमिनमा रहेको र १ सय ५० हेक्टरमा विस्तार गर्ने योजना रहेको बताउनुभयो।

अहिले एयरपोर्टपूर्व ठूला–ठूला घर बनेका र पश्चिमतर्फ सानो बस्ती रहेकाले त्यसलाई विस्थापन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो। नहर पश्चिम एयरपोर्टको पूर्वदेखि साढे ४ बिगा जमिनका लागि ३९ करोड विनियोजन नै भएको छ भने आवश्यक परेमा थप ४० करोड पनि विनियोजन गर्ने गौतमले जानकारी दिनुभयो। विराटनगर विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विस्तार भएपछि वर्षेनी ८ देखि ९ अर्ब पुँजी वृद्धि हुनेछ। हाल प्रदेश नम्बर १ मा १३ वटा विमानस्थल सञ्चालनमा छन् भने बाँकी २ वटा निर्माणाधीन अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्