टेलिकमको डाटा प्रयोग गर्ने संख्या करोड नाघ्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोडभन्दा बढी पुगेका छन्। कम्पनीले हालै प्रकाशित गरेको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन्।

सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाईम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन्।

गत असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा चैत अन्त्यसम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ। गत असारसम्मको ग्राहक आधारको तुलनामा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २० दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ।

चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ छन्। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो २०७४ फागुनको एमआईएस रिपोर्टअनुसार नेपाल टेलिकमको फोरजी डाटा प्रयोगकर्ता ५ लाख ४७ हजार ५ सय ८ छन्। यसअनुसार समग्र फोरजी डाटा प्रयोगकर्तामध्ये ३८ दशमलव ५८ प्रतिशत नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता छन्।

चैत अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार १ करोड ९३ लाख २२ हजार ८ सय ५५ रहेको छ। यसअनुसार जीएसएम मोबाइल सेवाका ग्राहक १ करोड ६९ लाख ४४ हजार ५ सय ३९, सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार ३ सय ५१ तथा पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ८९ हजार ३ सय ७३ रहेका छन्।

कम्पनीले सेवाग्राहीको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफर उपलब्ध गराइरहेको छ। यस्ता प्याकेज र अफरका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको छ। डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपियाँसम्मको मूल्यमा उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस्