मकवानपुर–कोरिया सम्झौता



हेटौंडा, (नेस)
मकवानपुर उद्योग वाणिज्य संघले कोरियाको किम्हे माइग्रेन्ट हाउससँग द्विपक्षीय सम्झौता गरेको छ। आधुनिक प्रविधि, लगानी र आवश्यक जनशक्ति भित्र्याउने विषयमा द्विपक्षीय सम्झौता गरिएको संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो।

सम्झौतापत्रमा संघ अध्यक्ष कटुवाल र किम्हे माइग्रेन्ट हाउस अध्यक्ष यज्ञराज सुवेदीले हस्ताक्षर गर्नुभएको थियो। भ्रमण टोलीले किम्हे उद्योग वाणिज्य संघसँग छलफल गरेको छ। छलफलका क्रममा किम्हे उवा संघका पदाधिकारीले मकवानपुर उद्योग वाणिज्य संघसँग भगिनी सम्बन्ध कायम गर्न चाहेको बताउनुभएको थियो।

आगामी दिनमा दुवै देशबीच व्यावसायिक वातावरण तयार गर्ने विषयमा छलफल केन्द्रित रहेको संघ सचिव विष्णुगोपाल महर्जनले बताउनुभयो। भ्रमण टोलीले दक्षिण कोरियाको मदिरा ‘सोजु’ उद्योगको अवलोकन गरेको छ।

विभिन्न सम्भावित उद्योगमा लगानी र व्यापारका विषयमा छलफल भएको भ्रमण टोली सदस्य कृष्णप्रसाद ढुंगानाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्