चमत्कारी सन्दीपको भारतीय ब्याटसम्यानसामु सानदार बलिङ



फिरोज राजोपाध्याय, काठमाडौँ ।

सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा अर्को एउटा सानदार बलिङ स्पेल रचेका छन् । सन्दीपले शुक्रबार राति दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा चेन्नई सुपर किंग्सविरुद्ध एक विकेट लिएका थिए । उनले सुरेस रैना जस्ता धुरन्धर भारतीय ब्याटसम्यानलाई क्याच आउट गराएर पवेलियन फर्काएका थिए । उनले यस खेलमा स्टाइलिस प्लेयर अफ द म्याचको उपाधि पनि जिते । जसको पुरस्कार रकम १ लाख भारु रहेको छ ।

सन्दीप मात्रै होइनन् अन्य बलरले पनि राम्रो प्रदर्शन गरेपछि दिल्ली डेयरडेविल्सले चेन्नईलाई ३४ रनले पराजित ग¥यो । दिल्लीले १ सय ६३ रनको लक्ष्य दिएकोमा शुरुदेखि नै दवावमा खेलेको चेन्नई १ सय २८ रनमै समेटिएको थियो । यसका साथै सन्दीपको लागि आईपीएलमा एक जित दर्ता भएको छ । सन्दीप त्यतिबेला खेल्न आए जतिबेला दिल्ली प्लेअफ पुग्न असफल भइसकेको थियो । यो दिल्लीको चौथो जित थियो ।

सन्दीपले यो खेलमा पछिल्ला खेलमा भन्दा अझ किफायती बलिङ गरेका थिए । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभरमा २५ रन दिएर एक विकेट लिएका थिए । यो दोस्रो खेलमा अझ एक कदम अगाडि बढेर ४ ओभरमा २१ रन दिएर एक विकेट प्राप्त गरेका थिए । उनको लागि सेम बिलिंग्सको विकेट पनि आइसकेको थियो । तर उनको विकेटमा लागेर पनि बेल विकेटबाट अलग नहुँदा सन्दीपलाई अर्को विकेट प्राप्त भएन । उनको चौथो ओभरमा भने रविन्द्र जडेजाले एक छक्का प्रहार गरेका थिए । अन्यथा उनको बलिङसामु चेन्नईका नाम चलेका ब्याटसम्यानहरुले संघर्ष गरेका थिए ।

कमेन्टेटरीले हिजोको खेलमा बोलेअनुसार सन्दीपलाई दिल्लीले ढिलो खेलाएको बताएका थिए । यो भन्दा अगाडि नै खेलाएको भए यो नेपाली युवा खेलाडीले टोलीलाई प्लेअफमा पु¥याउँथे कि भन्ने कुरा पनि भएको थियो । जे होस ढिलै भएपनि सन्दीपले आफनो प्रदर्शनले नेपालका कुना कुना सम्म क्रिकेट प्रेमीका लागि प्रभावित पारिरहेको होला भन्ने उनीहरुले बताइरहेका थिए ।

सन्दीपले पहिलो ओभरमा आक्रमक अम्बाती रायडु र शेन वाटसनलाई बलिङ गरे । जसमा उनीहरुले २ रनमै चित्त बुझाए । उनको बललाई छक्का र चौका हान्न मुश्किल बनेको थियो । यसैले होला उनीहरुले डिफेन्स सटमै बढी जोड दिएका थिए । उनको दोस्रो ओभर टोलीको ११ औं ओभरमा फ्यालिएको थियो । जबकी उनले टोलीको दोस्रो ओभरमा आफनो पहिलो ओभर फयालेका थिए । उनले दोस्रो ओभरमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनी र सुरेस रैनाले एक–एक रन लिदा यो ओभरमा उनले ६ रन दिए ।

तेस्रो ओभर भने सन्दीपका लागि अविस्मरणीय बन्यो । उनको गुगली बलिङमा आक्रमक ब्याटसम्यान रैना फसेका थिए । उनले स्विप सट हानेर छक्काको लागि खेले तर बल सीधै फिल्डरको हातमा गयो र सन्दीपलाई आईपीएलमा दोस्रो विकेट प्राप्त भएको छ । यसअघि सन्दीपको पहिलो शिकार पार्थिव पटेल बनेका थिए । यो ओभरमा विकेटसँगै २ रन मात्र दिएका सन्दीपले चौथो तथा अन्तिम ओभरमा ११ रन दिएका थिए । दुई खेलमा राम्रो गरेका सन्दीपको आईपीएलमा अन्तिम खेल मुम्बई इन्डियन्ससँग पनि यस्तै सानदार प्रदर्शन हेर्न सकिने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्