सन्दीपको दोस्रो खेल चेन्नईविरुद्ध



काठमाडौं, (नेस)
नेपालका स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेविल्सको प्लेइंग इलेभेनमा परेर अर्को खेल पनि खेल्न पाएका छन्। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार उनले चेन्नई सुपर किंग्सविरुद्ध खेल्न मौका पाएका हुन्। लगातार ११ खेलमा खेल्न नपाएपछि उनलाई १२औं खेलमा खेलाइएको थियो। जसमा उनले सानदार बलिङ गरेर सबैको मन जितेका थिए। यही कारण उनले टोलीमा स्थान निरन्तरता पाए। उनले चेन्नईका कप्तान महेन्द्रसिंह धोनी, ड्वायन ब्राभो जस्ता खेलाडीविरुद्ध बलिङ गर्ने मौका प्राप्त गरेका छन्।

यसअघि सन्दीपका लागि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेलेर आईपीएलमा डेब्यु गर्ने अवसर जुटेको थियो। उनले सो खेलमा ४ ओभरमा २५ रन दिएर एक विकेट पार्थिव पटेलका रूपमा हासिल गरेका थिए। उनको यो बलिङ स्पेल अरूको तुलनामा निकै किफायती बनेको थियो। उनले पहिलो स्पेलमा ३ ओभरमा १५ रन दिएर एक विकेट लिएका थिए। पछि अन्तिम ओभर फ्याल्न आउ“दा भने एबी डिभिलियर्सले उनको एक बललाई बाउन्ड्री पार गराएका थिए।

प्रतिक्रिया दिनुहोस्