शीर्ष वरियतामा भुवनको दावेदारी



नेपाल समाचारपत्र
काठमाडौं
सूर्य नेपाल गल्फ टुर २०१७÷१८ सिजनअन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फका दावेदार खेलाडी हुन्– भुवन नगरकोटी। नेपाल नम्बर २ प्रोफेसनल गल्फर भुवन अहिले उत्कृष्ट फर्ममा छन्। उत्कृष्ट फर्म र आत्मविश्वासले उनले आफूलाई सिजनकै ठूलो प्रतियोगिताको दावेदारका रूपमा उभिएका छन्।

यस अघिका सिजनहरूमा उत्कृष्ट खेल खेल्थे अनि दावेदारी पनि प्रस्तुत गर्थे। उपाधिनजिक पुगेर अरू खेलाडीलाई उपाधि सुम्पन बाध्य हुनु उनको नियती बन्दै आएको थियो। तर यो सिजन भने त्यसो भएन। यो सिजनको प्रायः सबै प्रतियोगितामा उनले दावेदारी प्रस्तुत गरे, र ३ वटा प्रतियोगिताको उपाधि पनि जिते। उनको खेल करियरकै यो सबैभन्दा सफल सिजन पनि बन्यो।

भुवनले एकै सिजन ३ उपाधि जितेको यो पहिलोपटक हो। सूर्य नेपाल च्यालेन्ज, सूर्य नेपाल काठमाडौं ओपन र सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि आफ्नो नाममा लेखाए।३ प्रतियोगिताको उपाधि अनि बा“की ६ प्रतियोगितामा सन्तोषजनक प्रदर्शनको प्रमुख कारण उनमा आएको आत्मविश्वास नै हो। पटिङमा आएको सुधारले यो सिजनमा सफलता हात लागेको उनको भनाइ छ।

सिजनको शुरूआत गर्दा भुवनले कम्तिमा ३ उपाधि जित्ने लक्ष्य बनाएका थिए। जुन पुरा भइसकेको छ। यही उपाधिले उनमा थप हौसला प्रदान गरेको छ। अबको उनको लक्ष्य करियरकै ठूलो उपाधि जित्ने हो। सूर्य नेपाल प्रिमियर जिते उनको यो करियरकै अहिलेसम्मकै ठूलो उपाधि हुनेछ। यसकै तयारीमा भुवन अहिले केन्द्रित छन्। नियमित गल्फ खेलिरहेका भुवन अहिले चिपिङ र पटिङमा जोड दिइरहेका छन्। यो सिजन समग्रमा राम्रो भएको र सिजनकै आकर्षक प्रतियोगिता जित्न सक्नेमा उनी विश्वस्त छन्।

भुवनका लागि अर्को ठूलो अवसरका रूपमा पनि यो प्रतियोगिता रहेको छ। यदि उपाधि जिते र नम्बर एक गल्फर शिवराम श्रेष्ठले खराब प्रदर्शन गरेको खण्डमा करियरमै पहिलो पटक अर्डर अफ मेरिटमा नम्बर एक गल्फर बन्ने सम्भावना पनि रहेको छ। शिवराम र भुवनमा सूर्य नेपाल प्रिमियर अगाडि १ लाख ३३ हजार ७ सय रूपिया“को मात्र फरक रहेको छ। यसर्थ भुवनलाई थुप्रै अवसर यो प्रतियोगितामा रहेको छ।

अवसरलाई सफलतामा परिणत गर्ने चुनौती भने सजिलो पक्कै हुने छैन। भुवनका अनुसार यो पटक सजिलो हुने छैन, प्रतिष्पर्धा अझ चुलिने छ। जति प्रतिष्पर्धा बढ्छ खेल्न उत्तिकै मज्जा आउने उनको भनाइ छ। यो पटक घरेलु प्रतिद्वन्द्वी शिवराम श्रेष्ठस“गै प्रोफेसनल गल्फ टुर अफ इन्डिया खेलिरहेका तोरणविक्रम शाहीसहित सञ्जय लामालाई प्रमुख दावेदारका रूपमा भुवनले लिएका छन्। नेपाली गल्फमा एकछत्र राज गरिरहेका नम्बर एक गल्फर शिवरामलाई कडा चुनौती दिन सफल भुवनले बिनादबाब आफ्नो स्वभाविक खेल खेले सिजनको अन्त्य सुखद् गर्न सक्ने सम्भावना बलियो देखिन्छ।

सूर्य नेपाल गल्फ टुर २०१७÷१८ को दसौ“ तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फको विजेताले २ लाख ३० हजार प्राप्त गर्नेछन्। कुल पुरस्कार राशि १२ लाख रूपिया“ रहेको प्रतियोगिता सोमबारदेखि गोकर्ण गल्फ क्लबमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्