पत्थरै पत्थर तर कोमल नियात्रा



ज्ञानमणि नेपाल कालोटोपी
नेपाली साहित्यमा एउटा नियात्रा संग्रह थपिएको छ। साहित्यकार गीता रेग्मीको ‘पत्थरै पत्थर’। लेखकले जहाँ–जहाँको यात्रा गर्नुभएको छ, कृति पढ्दै जाँदा पाठकले पनि आफू त्यही ठाउँको भ्रमण गरिरहेको आभास पाउनु यस कृतिको मुख्य विशेषता हो। प्रस्तुत कृति बर्मा, थाइल्यान्ड र मलेसियाको यात्रा वर्णनमा केन्द्रित छ। कृतिमा समावेश भएका लेखकका बलिया शब्दहरूले पाठकलाई सँगसँगै हिँडाउँछन्, रोमाञ्चक बनाउँछन् अनि निश्चित साहित्यिक स्वाद दिएर गन्तव्यमा पु¥याउँछन् पनि। त्यसैले त कृति सफल बनेको छ। साहित्य काल्पनिक मात्र हुँदैन, भोगिएका धेरै विषयहरू पनि साहित्यिक खुराक हुन्छन् भन्ने कुरालाई रेग्मीको यस नियात्रा संग्रहले प्रस्ट्याएको छ।

लेखककै शब्दलाई सापटी लिने हो भने उहाँका तीनवटै देश भ्रमणका आ–आफ्ना विशेषताहरू छन्। बर्माको शान्ति र सौन्दर्य, थाइल्यान्डको विकास र रमझम तथा मलेसियामा नेपाली कामदारले झेलिरहेका हजारौं समस्या अनि अप्ठ्यारा देखेरै पनि अझै मलेसियामै जान हतारिएका नेपाली युवाहरूका बाध्यताहरू पनि यसमा समावेश भएका छन्। आज हजारौं नेपालीले यी तीनवटा मात्र होइन दर्जनौं मुलुक घुमिसकेका छन्।

सबैले केही न केही भोगेका र अनुभव गरेका पनि छन् तर उनीहरू सबैले तिनीहरूलाई पुस्तकका रूपमा भने शायत उतारेका छैनन् होला। न त उनीहरूले कहिल्यै परदेशका समस्या र अप्ठ्यारालाई सबै सामु छर्लंग नै बनाउन सकेका छन्। कमसेकम उनीहरूले बैदेशिक रोजगारका कहाली लाग्दा समस्याहरू नेपाली युवायुवतीसँग साटासाट गरिदिएका थिए भने आज हजारौं नेपालीले त्यहाँको कठोर जिन्दगी झेल्नुपर्दैनथ्यो कि भन्ने पनि लेखकको ध्येय रहेको पाइन्छ।

चर वर्षअघि आफूले यात्रा गरेको घटनाका परिवेशहरूलाई प्रस्तुत गर्दै त्यहाँ झेलिएका विविध अप्ठ्याराहरूलाई पत्थरै पत्थरको यात्रा भएको प्रतिकात्मक शीर्षक यस कृतिले पाएको छ। खासमा मानवजीवन अभाव र समस्यामै अल्झिएको छ। ती अप्ठ्यारालाई समाधान गर्न सबैले पत्थरको सामना गर्नै पर्छ भन्ने कटुयथार्थ प्रस्तुत गर्नु पनि यस नियात्राको अर्को उद्देश्य रहेको थाहा पाउन पाठकलाई गाह्रो पर्दैन। अर्को अर्थमा भन्नुपर्दा विशेष गरी बर्मामा अधिकांश संरचनाहरू पत्थरकै प्रयोगले बनाइएका छन्। त्यहाँका कलाकौशल, गहनाहरू, हातमा लगाउने चुरा र औंठीहरूमा समेत पत्थरको प्रयोग गरिएको पाइन्छ। जता गए पनि पत्थरै पत्थर देखिन्छ। यहाँसम्म कि कसैसँग बिदाइ हुनुपर्दा पनि उपहार पत्थरै पाइने। यसकारण पनि लेखकले आफ्नो कृतिको नाम पत्थरै पत्थर राखेर त्यहाँकै सम्झना जस्ताको त्यस्तै उजागर गर्नुभएको हो।

यति हुँदाहुँदै पनि कतै–कतै भाषाशैली बुझ्न अलि कठिन परेजस्तो पनि लाग्छ। प्रयोग भएका विम्ब प्रतिकले दिन खोजेको अर्थ नबुझेर पाठक अलमलमा पर्ने पो हुन् कि भन्ने सम्भावना पनि छ। तर समग्रमा कृति रोचक र संग्रहणीय बनेको छ। नाम पत्थरै पत्थर भए पनि खासमा यो पत्थरजस्तो कठोर छैन। शिखा बुक्सले प्रकाशन गरेको पुस्तक २५० रुपियाँमा बजारमा किन्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्